- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 4 November 2012

वेदको अर्थ

                          वेदको अर्थ

              वेद आर्य संस्कृतिको आधार हो। वेद ज्ञानको भण्डार हो। विद् धातुबाट ज्ञानको अर्थमा वेद शब्द बन्दछ। (विदन्ति, जानन्ति, विचारयन्ति, सत्यविद्यां,यैर्वा, भन्ने ब्यख्याबाट वेद शब्दको निर्वहन एवं निर्वचन हुन्छ) वेदबाट नै सत्य विधा प्राप्त गर्न सक्छन् भन्ने अर्थमा वेद रहेको पाईन्छ। धर्म, संस्कृति, दर्शन र साहित्य आदि सम्पूर्ण ज्ञानको श्रोत वेद हुनाले सर्वज्ञानमयो वेद: भनिएको हो।
           हिन्दू धर्म दर्शनको पहिलो साहित्यिक कृति पनि वेद हो। वेदमा आर्यहरूको आध्यात्मिक जीवन सामाजिक एवं सांस्कृतिक विकासको वर्णन पाईन्छ। वेद सर्वज्ञानमय छ र समस्त धर्मको मूल आधार तत्वपनि वेद हुन आएको हो। मन्त्र वा ऋचाहरू वेद हुन्। मन्त्र र ऋचाहरूको प्रथम लेखकहरू त्रिकालदर्शी ऋषिहरू हुन्। त्यसैले ऋषिहरूलाई मन्त्रद्रष्टा भनिएको छ। यिनै ऋषिहरूद्वारा विविध समयमा प्रत्यक्ष गरिएका मंत्रहरूको संगालो नै वेद हो भने वेदका आध्यात्मिक अर्थको उद्घाटन वा प्रामाणिक रूपमा व्यख्या गर्ने उपनिषद् ग्रन्थहरूलाई वेदान्त भन्दछन्। यो वृहत अथाहा अभिवाजित वेद प्राचीनकालमा एउटै थियो। समष्टिगत रूपमा वृहत वैदिक ग्रन्थमा तीनप्रकारका प्रस्तुति ऋचा (पद्य) यजु (गद्य) र साम (गीति) सामुहिक रूपमा रहेका संकलनलाई वैदिक साहित्यमा देवत्रयी भनिन्थ्यो। यस्तो विशाल गन्थको अध्ययन अध्यापनमा अप्ठ्यारो र लामो समय लाग्ने भएकोले र कलियुगमा मानिसहरू अन्नमय र छोटा आयु भएका हुनाले यिनको कल्याणका लागि महर्षि वेदव्यास(द्धैपायन कृष्ण) ले विषय र मन्त्रहरूको प्रकृति हेरी वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद नामाकरण गरी ४ भागमा विभाजन गरी अध्ययन अध्यापनमा सजिलो गराउनु भई वेदव्यासले आफ्ना शिष्यहरू पैल नामक शिष्यलाई ऋग्वेद, वैशम्पायनलाई यजुर्वेद, जैमिनिलाई सामवेद सुमन्तुलाई अथर्ववेदको शिक्षा दिएका थिए।
चारवेदका विवरण:
(१) ऋग्वेद: चारवेदहरूमध्ये सबै भन्दा ठूलो वेद ऋग्वेद हो। यो ऋग्वेद सुललित पद्यात्मक छन्दोवद्ध ग्रन्थ हो। वेदलाई विभाजित गर्ने क्रममा विभिन्न देवताका स्तुतिपरक मन्त्रका ऋचाहरू ऋग्वेद संहितामा समावेश गरिएका छन्। ऋग्वेदमा २१ वटा शाखा वर्णित भएपनि अहिले उपलब्ध भएको शाखालाई "शाकल" भनिन्छ।

(२) यजुर्वेद: चारभाग मध्य यो दोस्रो हो।यजुष्को अर्थ हुन्छ पूजा गर्नु अथावा यज्ञ गर्नु।यो एउटा कर्मकाण्ड सम्बन्धी धर्म ग्रन्थ हो। यजुर्वेदका मन्त्रहरूले यज्ञ, पाठपूजा गर्नाले वैदिक अनुष्ठानवाट देवताहरू प्रसन्न हुन्छन् र यसबाट सामयिक वर्षा हुन्छ अनि कृषि खेतिपाती पशुधन वन्य वनस्पतिहरू राम्रो हुन्छन्।
धनधान्यले वास गर्छन् र आम मानीसमा खुशी सुख शान्ति कायम हुन्छ। यजुर्वेदका दुई भाग छन्। १. कृष्ण २. शुक्ल कृष्ण यजुर्वेदमा मन्त्रहरू र विनियोजनको सम्मिश्रण छ भने शुक्ल यजुर्वेदमा मन्त्रहरू मात्र छन्।
कृष्ण जुर्वेदका पनि ३ शाखाहरू छन्। (१) तैत्तिरीय शाखा (२) मैत्रायणी शाखा (३) कठ शाखा यसै गरी शुक्लका पनि दुई शाखा छन्। (१) वाजसनेय शाखा (२) कण्व शाखा यसरी यजुर्वेदका कृष्ण र शुक्ला शाखा विभाजित भएर ५ शाखाहरू भए पनि शुक्ला यजुर्वेदका वाजसनेय संहिता मुख्य हो।

(३) सामवेद: यो संहिता तेस्रो श्रृङ्खलामा पर्छ।सामन् शब्दमा वेद जोडिएर सामन्+वेद =सामवेद भएको हो। सामनको अर्थ हुन्छ गायन र वाद्य+वाधन। त्यसै कैरण गीत वा लयात्मक मन्त्रहरूको संकलन सामवेद हो। यथार्थमा साम भनेको गायन हो। सामवेदका अधिकांश ऋचाहरू गायत्री र जगती छन्दमा रहेका हुनाले यी मन्त्रहरूलाई सुमधुर वाद्य+वादका साथ साथ गाईने गरिन्छ। सामवेदबाटै गन्धर्ववेदको उत्पत्ति भएको हो। सामवेदका तीन शाखाहरू छन्।(१) कौतुम संहिता (२) राणायणीय संहिता (३) जैमिनीय संहिता।

(४) अथर्ववेद: यो चौथा संहिता हो। यो वेदबाट ऋषिहरूलाई उपदेश दिएको वा पढाईएको विषय हुनाले यसको नाम अथर्व हुन गएको हो। अथर्ववेदमा सारण, संमोहन र उच्चाटन आदि अभिचार क्रियाहरूको विशेष वर्णन पाईन्छ। यसमा विज्ञान, औषधि र आयुर्विज्ञान, धनुर्विज्ञान, युद्धकला जस्ता विषयहरू समावेश गरिएका छन्।अथर्ववेदलाई पनि दुई भागमा विभाजन गरिएको छ। (१) अथर्वन् (२) पिप्पलाद।
यसरी सनातन आर्य संस्कृतिको आधारभूत धर्मग्रन्थ वेद हो। यसैलाई मुख्य अंश मानेर पाँचौ वेद महाभारत र पूराणहरू लगायत शिक्षा कला व्याकरण निरूक्त छन्द र ज्योतिष शास्त्रहरू बनेका छन्। त्यसैले सनातन धर्मको मूल आधारभूत ग्रन्थ वेदको विपरित अरू कुनै पनि शास्त्र जान सक्दैन। वेदमा दिव्य संगीतमय मन्त्र वा ऋचाहरू भएकोले ऋचाहरूको उदात्त अनुदात्त र स्वरित स्वरकण्ठहरू मिलाएर लयात्मकता र संगीतमय तरिकाबाट उच्चारण गर्दै स्थिर आसनमा वसेर पढ्नु वैदिक मन्त्रहरू पाठगर्दा कवितामय ढंगवाट उच्चारण गरे काव्यात्मक श्रुति सौन्दर्यको मिठास अनुभूति हुन्छ। त्यसैले वेदको स्तुति गानमा हातको सार उच्चारण र स्वरको ठूलो महत्व रहेको छ।
           वेद आफैमा अपार छ र पनि वेदको उत्पत्ति र स्थानमा भिन्नता रहेको पाइन्छ। पूर्वीय मत अनुसार वेद स्वयं ईस्वर स्वरूप हो। वेदको रचना ईस्वरसंगै भएको हो। यो ईस्वर प्रदत्त स्वयम्भू हो र अनादि हो। श्रीमद्भागवतमा वेदलाई नारायण स्वरूप स्वयम्भू मानिएको छ। यसलाई जर्मन विद्धान मैक्स मूलरका अनुसार वेद करिव ६ हजार वर्ष पहिला विभिन्न ऋषि महर्षिहरूको अनुभव र विचार संकलित संगालो हो र वैदिक साहित्य संसारको सबै भन्दा जेठो पूरानो लेखवद्ध वा संहितावद्ध रचना हो। विस्वका अन्य ठूला धर्महरूको इतिहास बढीमा ४ हजार वर्ष भन्दा पुरानो छैन। त्यसैले विद्वानहरूका मत अनुसार हिन्दू सनातन धर्मको इतिहास ६ हजार वर्ष भन्दा पूर्वको भएकोले अति प्राचीन र जेष्ठ धर्म हो।
          वेद कुनै विशेष जाति धर्म वा देशका मानिसका लागिमात्र लेखिएको होइन वेद सारा संसारका मानवका लागि हो।
                                      - वेदका वाणीहरू
- संकलक :- महादेव अधिकारी
    काठमान्डौ,हाल- यु.ए.ई.