- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Monday 17 December 2012

सन्दर्भ:- पृथ्वी प्रलय -१

                       के भन्छ नासा:

     नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) अमेरिकी सरकारको एउटा निकाय हो। यो संस्थाले अन्तरिक्ष, एरोनटिक र एरोस्पेस कायर् क्रमहरूको अनुसन्धान गर्छ। सन् १९५८ मा स्थापना भएको संस्था नासाले सन् २०१२ मा पृथ्वीमा घट्न सक्ने सम्भावित दुर्घटनाको हल्लाका विषयमा प्रस्ट पार्ने प्रयास गरेको छ। अहिले विभिन्न मानिसमा देखिएको कौतूहललाई समष्टिमा राखेर नासाले दिएका उत्तरहरूः
 
# सन् २०१२ मा पृथ्वीको अन्त हुने विषयमा व्यापक चर्चा चलिरहेको छ। इन्टरनेटका विभिन्न वेबसाइटले यो कुरालाई सत्य भनेर प्रकाशित गरिरहेका छन्। के ती समाचारहरू सत्य हुन् ?
> नासाः
सन् २०१२ मा पृथ्वी ध्वस्त हुँदैन। पृथ्वीमा तत्काल ४ अर्ब वर्षसम्म कुनै किसिमको खतरा देखिएको छैन। हामीले विश्वका विभिन्न वैज्ञानिकहरूबाट सन् २०१२ मा पृथ्वीलाई कुनै किसिमको खतरा नभएको रिपोर्ट पाइरहेका छौं।

# सन् २०१२ मा पृथ्वी ध्वस्त हुने कुरा कसरी सार्वजनिक भयो ?
> नासाः सुमेरियनहरूले निबिरु नामक ग्रह पत्ता लगाउने क्रममा उक्त ग्रह पृथ्वीतर्फ आइरहेको जानकारी दिएका थिए। उनीहरूले सन् २००३ को मे महिनामा पृथ्वीसँग उक्त ग्रह ठोक्किने भविष्यवाणी गरेका थिए, जुन पछि गलत साबित भयो र उनीहरूले मिति सारेर सन् २०१२ मा निबिरु ग्रह पृथ्वीमा ठोक्किने बताए। प्राचीन मायन क्यालेन्डरमा जाडो महिना २१ तारिखमा सकिन्थ्यो भने सन् २०१२ को अन्तिम दिन २१ तारिख (पुस ६ गते शुक्रबार) मै सकिने उल्लेख गरिएको छ।

# मायन क्यालेन्डर २०१२ को डिसेम्बरपछि सकिन्छ ?
> नासाः हामी जसरी डिसेम्बर ३१ तारिख पछि नयाँ क्यालेन्डर राख्छौं त्यसै गरी मायन क्यालेन्डर पनि डिसेम्बर २१ तारिख २०१२ पछि सकिन्छ। मायन क्यालेन्डरअनुसार हुने गणना अनुसार यो अन्तिम हो। हामीले जसरी नयाँ क्यालेन्डर राखेर गणना थाल्छौं त्यसै गरी मायन क्यालेन्डरको पनि अर्को गणना सुरु हुन्छ।

# के नासाले डिसेम्बर २३ देखि २५ तारिखसम्म (पुस ८ गते आइतबारदेखि पुस १० गते मंगलबारसम्म) पृथ्वीमा पूर्ण रूपमा ब्ल्याकआउट हुन्छ भनेर घोषणा गरेको छ ?
> नासाः
छैन, नासालगायत अरू कुनै पनि वैज्ञानिक निकाय एवं संस्थाहरूले ब्ल्याकआउट हुन्छ भनेर घोषणा गरेका छैनन् । नासाले एक पटक यस्तो किसिमको आपत्कालीन अवस्था आउँदा कसरी जोगिने भन्ने कुराको जानकारी गराएको थियो, तर हामीले ब्ल्याकआउट हुन्छ भनेर भनेका छैनौं।

# विभिन्न ग्रहहरू एउटै रेखामा रहँदा पृथ्वीलाई कुनै किसिमको प्रभाव पर्छ ?
> नासाः हाम्रो अनुसन्धानअनुसार आगामी केही दशकसम्म ग्रहहरू त्यस्तो स्थितिमा आउँदैनन्। त्यस्तो किसिमको अवस्था आए पनि पृथ्वीलाई अहिले चलेको हल्लाको जस्तो असर भने हुँदैन। त्यस्तो असर सामान्य मात्र हुन्छ। अहिले चर्चा चलेको जस्तो घटना सन् १९६२ मा भएको थियो भने सन् १९८२ र सन् २००० मा पनि ग्रहहरू एउटै रेखामा थिए। प्रत्येक बर्षको डिसेम्बर महिनामा सूर्य र पृथ्वी रहेको रेखा आकाशगंगाको मध्य भागमा हुन्छ। यस्तो घटना प्रत्येक वर्ष यही महिना हुन्छ।

# ब्रह्माण्डमा रहेका भनिएका निबिरु, प्लानेट एक्स वा इरिस ग्रह पृथ्वीतर्फ आइरहेका हुन् ?
> नासाः निबिरुलगायत अरू ग्रहहरू पृथ्वीतर्फ आइरहेको भन्ने कुरा इन्टरनेटमार्फत चलेका हल्ला मात्र हुन्, जसलाई वैज्ञानिकहरूले अहिलेसम्म पुष्टि गर्न सकेका छैनन्। यदि ती ग्रहहरू पृथ्वीतर्फ आएर सन् २०१२ मा ठोक्किने हो भने वैज्ञानिकहरूले पहिल्यै घोषणा गर्ने थिए भने उक्त ग्रहलाई अहिले खुला आँखाले नै देखिनुपर्ने थियो। निबिरु ग्रह अस्तित्वमै छैन। इरिस ग्रहचाहिँ अस्तित्वमा छ। यो ग्रह प्लुटोजस्तै छ र यो हाम्रो सौर्यमण्डलको सदस्य होइन भने यो ग्रह पृथ्वीवाट ४ अर्ब माइल टाढा छ।

# के पृथ्वीमा सन् २०१२ मा कुनै ग्रह, उल्का पिण्डहरू ठोक्किने खतरा छ ?
> नासाः पृथ्वीमा उल्का पिण्डहरू लगातार आइरहेका हुन्छन्, तर ठूलै दुर्घटना हुने किसिमको घटना भने कमै हुन्छन्। ६ करोड ५० लाख वर्ष अघि यस्तै घटना हुँदा पृथ्वीबाट डाइनोसरको अस्तित्व समाप्त भएको थियो। नासामा रहेको स्पेस गार्ड सर्वेले अन्तरिक्षमा लगातार निरिक्षण गरिरहेको हुन्छ। अहिले हाम्रो अनुसन्धानका क्रममा पृथ्वीतर्फ त्यस्तो कुनै ठूलो उल्का पिण्ड आइरहेको छैन।

# नासाका वैज्ञानिकहरूले पृथ्वी सन् २०१२ मा समाप्त हुने कुरालाई कसरी लिइरहेका छन् ?
> नासाः पृथ्वीको विनाशका विषयमा आएका कुराहरू हल्ला मात्र हुन्। यी कुरामा कतै पनि, कुनै पनि वैज्ञानिक आधार देखिँदैन। यस्तो किसिमको हल्लाको विकास पुस्तकहरूलाई रोचक बनाउन, चलचित्रमा रोमाञ्चकता भर्न, वृत्तचित्रहरूलाई चर्चित बनाउन तथा इन्टरनेटमा आफ्नो साइटको प्रचार गर्न मात्र गरिएका हुन्। यी कुराको कुनै पनि किसिमको वैज्ञानिक आधार छैन,सन् २०१२ को डिसेम्बरमा अन्तरिक्षमा कुनै पनि किसिमको अप्रिय घटना हुँदैन।
[साभार:- http://www.ekantipur.com/saptahik/article/?id=9202 ]