- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 31 August 2013

दस्तावेज [अध्याय: ग,भाग-२]

     केस्रा नवीनतम मौलिक विधा:
- भक्ति प्रसाद पौड्याल 
                     [ पृष्ठ १३५-१३८]
, विषय प्रवेश:
          ललित कलाले जीवन-जगतका रागात्मक पक्षको प्रस्तुति र सम्प्रेषण गर्दछ ।ललितकलाका विविध बान्की छन् । माध्यमका विविधताले देखिएका ती विविध बान्कीमा साहित्य पनि पर्दछ र यसले भाषालाई माध्यम रोजेको छ। साहित्यको अन्तरसम्बन्ध सभ्यतासँग जोडिएको छ। सभ्यताको विकासक्रममा युगानुकुल परिवर्तन हुँदै आएको छ र सो परिवर्तन र विकाससँगै जोडिएको छ साहित्यको पनि परिवर्तन र विकास। यसैले साहित्यले आफ्नो आधारभूत मान्यता
बचाउँदै आफ्नो कलेवरमा युगानुकुल काँचुली फेर्दै आएको छ । फलस्वरूप प्राचीन वृहत्तर स्वरूपका साहित्यिक विधाका स्थान आज लघु र लघुतम विधाहरुले लिएको देख्न सकिन्छ तर यथार्थको पट्यारलाग्दो अवस्थाबाट साहित्यको स्वप्निल दुनियाँमा विचरण गर्ने र रम्ने मानवीय पुरातन स्वभाव आज पनि उस्तै छ। लघु विधाहरुको निरन्तर र समयानुकुल विकास र विद्यमान विधाहरुका प्रयोगमा हुने समयानुकुल परिवर्तनले गर्दा नै आज पनि साहित्य उत्तिकै लोकप्रिय बन्न सकेको प्रतीत हुन्छ। औद्योगिक विकास, सञ्चार क्रान्ति एवं प्रविधिको तिब्र विकास र अन्य अनेकौँ कारक तत्व मिलेर आजको मान्छेका सामू यस्तो परिस्थिति निर्माण गरेका छन् कि ऊसँग समय नै उपलब्ध छैन जस्तो लाग्छ। चिप्लिँदै गरेको समय पछ्याउने क्रममा अति न्यून समय मात्र फुर्सदका रूपमा आफूसँग रहेको अनुभूति छ आजका मान्छेसँग । यो अमूल्य फुर्सदको समय कलासाहित्यको अनुशीलनमा खर्चिन चाहन्छ आजको मान्छे । गीत, गजल, मुक्तक, एकाङ्की, निबन्ध, लघुकथा,हाइकु, आदि पढ्नु, सङ्गीत सुन्नु, नाच्नु, आदि आजको व्यस्त मान्छेका फुर्सदका प्रिय कार्य हुन्। यस महासत्यबाट साहित्यकार पनि निरपेक्ष हुन सक्दैनन्।
       सञ्चारको कुरा गर्दा बितेको छोटो अवधिमा सम्भव भएको नेपाली साहित्यको विस्तारका लागि यसको उल्लेखयोग्य भूमिका रहेको छ। केहि वर्षअघिसम्म आफ्ना अति सीमित सर्जक-पाठक-समीक्षकको दायरामा रहेको नेपाली साहित्य आज विस्तार भएर सीमान्तसम्म पुग्न सफल भएको छ। आज विद्युतीय अन्तरसञ्जाल 'फेसबुक' यस्तो सामाजिक थलो भएको छ जसमा जीवनको पहारिलो घामबाट वञ्चित कुनाकाप्चाका व्यक्ति, खाडीको तातो घाममा बालुवाको तेल निकाल्दै गरेका व्यक्ति, सपनाको देशमा उडान भर्दै गरेका व्यक्ति, वुद्धिजीवी, पेशाकर्मी, व्यपारी, विद्यार्थी आदि सवैको जमघट यसमा पाइन्छ। यीमध्ये धेरैले साहित्यिक चर्चा परिचर्चा गर्छन्। स्थापित साहित्यकारबाट सिक्नु, आफ्ना भावना पोख्नु, तिनको परीक्षण गर्नु, समीक्षा गर्नु जस्ता कार्य उद्योगसरि चल्छन्। अझ केहिले त नया नया विधाहरुको प्रतिपादन र विस्तार पनि गरिरहेका छन्। यसप्रकारका गतिविधिका कारण समग्रमा नेपाली साहित्यका पाठकहरु व्यापक रूपमा बढेका छन् र लेखकहरु पनि सन्तुष्ट हुन थालेका छन्। यो सिलसिलामा नै 'केस्रा' लगायत अन्य लघुविधाको प्रतिपादन र प्रयोग हुने क्रम बढ्दो छ। हालै 'केस्रा'ले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको छ। वैदेशिक रोजगारीका क्रममा मलेशियामा रहनु हुने श्री मौलश्री लिम्बू नै 'केस्रा'का प्रतिपादक हुनुहुन्छ।

, 'केस्रा'को बुँदागत परिचय
क) 'केस्रा' भाषिक लयात्मक लघुतम उपविधा हो।
ख)  सुन्तलाको स्वादको पूर्ण सन्तुष्टि त्यसको एक केस्राको रसास्वादनबाट प्राप्त गर्न सकिन्छ र  सो केस्रा आफैँमा पूर्ण र स्वतन्त्र हुन्छ भन्ने मान्यतालाई 'केस्रा' रचनाको मूल आधार मानिएको छ।
ग)  कुनै एक निश्चित तथा सूक्ष्म तर पूर्ण विषयवस्तुलाई'केस्रा'को कथ्यका रूपमा स्वीकार गरिएको पाइन्छ।
घ)  सो विषयवस्तुलाई समेट्न'केस्रा'मा शीर्षकको व्यवस्था गरिएको पाइन्छ।
ङ) कथ्य  लाई तीन खण्डमा समायोजन गरिन्छ। () उठान () विश्राम () बैठान
च) कम्तिमा जति पनि तर बढीमा बाह्र लिपि-चिह्न [व्यंजन वर्ण] भएका साथै प्रत्येक हरफमा एक स्वर वर्ण अतिरिक्त रहन सक्ने छ समाक्षरिक हरफमा केस्राको कथ्य समेटिन्छ। यसले केस्रामा लयात्मकता निर्माण गर्दछ।
छ) उठानका दुवै हरफमा अन्त्यानुप्रास रहन्छ, विश्रामको दोस्रो हरफमा अन्त्यानुप्रास रहन्छ र बैठानका दुवै हरफमा अन्त्यानुप्रास रहन्छ।
ज) पहिलो हरफको र पाँचौँ हरफको अन्त्यानुप्रास [केस्राको भाषामा अनुप्रास] एउटै शब्द रहन्छ।
झ) आकृति, आवृति र अलङ्कार गरी 'केस्रा' तीन प्रकारका हुन्छन्।[विस्तृत जानकारी हे. केस्रा'को घोषणा-पत्र]
एक 'आकृति केस्रा'को उदाहरण:-

शिर्षक: "डर"
उठान:   संसारमा छैन त्यस्तो घर
       जसले देओस् सधैं पूर्ण भर  (यहाँ अतिरिक्त स्वरवर्ण रहेकोछ )

विश्राम:  जति लुकाउन खोजे पनि
       लुक्दैन कतै मनको डर

बैठान:   मनै त हो नि डरको घर
       छैन आधार यो भन्दा पर।
      रुमानी
     प्रस्तुत केस्रा यसको शीर्षक 'डर'द्वारा पूर्ण निर्देशित छ।
) उठानका जोडीहरफमा डर किन हुन्छ भन्ने आधारको ठोस खोजी गरिएको छ र पूर्ण भरोसाको अभाव नै डरको प्रमुख कारक हो भनिएको छ।
) विश्रामका जोडीहरफमा डर कसरी प्रकट हुन्छ भन्ने सत्यको उद्घाटन गर्नुका साथै यो कहाँ हुन्छ भन्ने कुराको संकेत पनि गरिएको छ।
) त्यस्तै बैठानका जोडीहरफमा डरको वासस्थान मान्छेको मन नै हो र अन्यत्र यसको आधार छैन भन्ने ठोकुवा गरिएको छ। यसरी एक निश्चित निष्कर्षतिर उन्मुख हुन्छ 'केस्रा' 

गजल र 'केस्रा'
      उपर्युकत 'केस्रा'लाई आधार मानेर गजल र केस्राका आधारभूत भिन्नता बुँदामा समेट्न सकिन्छ।
१) केस्रा निश्चित विषयवस्तुमा रचिने हुँदा यसका खण्ड (युग्मक)  एकअर्कामा सापेक्ष हुन्छन् तर गजलमा शेरहरु आफैँमा पूर्ण हुन्छन्।
२) केस्रालाई शीर्षक आवश्यक हुन्छ तर गजललाई शीर्षकमा समेट्न गाह्रो हुन्छ। त्यसैले गजलको शास्त्रीय विधानमा शीर्षकको कल्पना गरिएको छैन।
३) गजलकार विषयवस्तुको प्रस्तुतिमा स्वतन्त्र हुन्छ तर केस्राको सर्जक शीर्षकद्वारा निर्देशित हुन्छ।
४) गजलमा काफिया दोहोर्याउने शास्त्रीय प्रावधान पाइन्न तर केस्रामा उठानको प्रथम लहरको अन्त्यानुप्रास बैठानको पाचौँ लहरमा दोहोरिन्छ।
५) गजलका मतलाबाहेक अन्य शेरका मिसरा ए सानीमा मात्र काफिया हुन्छ। गैर मुरद्दफ गजलको पनि मिसरा ए उलामा काफिया देखिएमा तकाबुल ए रदिफ दोष मानिन्छ तर केस्रामा उठानको पहिलो लहरको अन्त्यानुप्रास बैठानको पाचौँ लहरमा दोहोरिने प्रावधान छ।
६) गजलमा रदिफको प्रयोग हरेक काफिया भएका शेरमा हुन्छ तर केस्रामा रदिफको प्रयोग बर्जित छ। कतिपय केस्रामा एकाक्षरी वा दुई अक्षरी निपात मात्र यसरी प्रयोग गर्न सकिन्छ।
७) शीर्षकको क्षतिपूर्तिस्वरुप गजलमा तखल्लुसको प्रयोग हुने गर्छ तर केस्रामा यस्तो तखल्लुसको प्रावधान पाइन्न।
        गजलबाहेक अन्य लघु साहित्यिक लयात्मक विधा रुबाइ, मुक्तक, हाइकु, आदि केस्रा भन्दा फरक विधा हुन्। वास्तवमा केस्राको साङ्गठनिक स्वरुप अन्य विधाभन्दा फरक छ र यो आफैँमा मौलिक र पूर्ण छ। यसमा प्रसस्त नेपालीपन छ भन्न सकिन्छ। त्यसो भएर नै हाल यसमा धेरै सर्जकहरुले लेखन गरिरहेका पनि छन्। आगामी समय केस्राको विकासका लागि निकै अनुकुल छ र मुस्किलले प्राप्त फुर्सदका क्षण पाठकले केस्राको रसास्वादनमा खर्चिने छन् भन्ने विश्वास गर्न सकिन्छ।  
- भक्ति प्रसाद पौड्याल 
मोरंग 
[उहाँ केस्रा विधा प्रतिपादन गर्नका लागि सल्लाहकार हुनुहुन्छ]
[दृष्टान्त:- दस्तावेज ('अध्याय-ग' भाग-१ अध्ययन गर्नका लागि यहाँ क्लिक गर्नुहोस् )

No comments:

Post a Comment