- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Thursday, 24 April 2014

समिक्षा: सुरेन्द्र भण्डारी

      मौलश्रीको केस्रा नियाली सकेपछि

- सुरेन्द्र भण्डारी
बिर्तामोड,झापा 
      बैदेशिक रोजगारीको सिलसिलामा श्रम बेच्न मलेसिया पुगेका एक नेपालीले साहित्य विधामा छुट्टै खोज र अन्वेषण गर्दै 'केस्रा" विधालाई जन्माएका छन् । नेपाली साहित्य आकासमा यो सम्भवतः कान्छो विधाको रुपमा उदय भएको नविनतम् चिन्तन पनि हो । साहित्यप्रतिको रुची, खोज र समायानुकुल फेरबदल कै क्रममा झापाली यूवा मौलश्री लिम्बूले मलेसियामा रहेर सन् २०१२ जनवरी–१ तारिकका दिन मलेसियाको राजधानी क्वालालम्पुरबाट केस्रा विधाको घोषणा तथा दस्तावेज सार्वजनिक गरेका थिए । सृजनशिलता आफूमा एक अब्बल उत्कृष्ट र कालजयी कर्म हो । विचारलाई सकारात्मक, सृजनशील, उर्वर र जीवन–जगतको हितमा व्यवहारतः कार्यान्वयन गराउनु अर्को महान मानवीय कार्य हो । फलस्वरुप नेपाली साहित्यमा आयातित विधाहरुको हिमालचुली चलीरहेका वेला छुट्टै पहिचान र बेग्लै पहिचान खोजिनु आफैमा एउटा महत्वपूर्ण उपलव्धी हो ।
     विश्व साहित्यमा हालसम्म अनेकौ विधाहरु प्रतिपादन भइसकेका छन् । ती विधाहरु राष्ट्र र राष्ट्रिय भाषा अन्तर्गत प्रचलनमा आउनुका साथै अन्य भाषामा पनि रुपान्तरण भई स्थापित
भई सकेका छन् । समय र परिवेश बमोजिम कतिपय विधाहरुको विषयगत क्षेत्र, आगमन र संसोधन हुँदै गएको हामी पाउन सक्छौं । ‘शारदा’ युगमा नेपाली साहित्यको पश्चिमी साहित्यसंग एकीकरण भएपछि आधुनिक साहित्यका लघु र लघुतम स्वरुपहरुको लेख्न, पढ्न र समिक्षणमा तिव्रता आएको हो । नेपाली साहित्यमा समस्या पूर्ति र लघु कविता नेपालीको एकीकरणसंगै लेख्न थालिए पनि वि.स. १९५८ मा छापाखाना भित्रिएपछि पद्य र गद्यमा साहित्यका लघुरुप देखिन थाले । विश्व साहित्यलाई गजल, उर्दु, हिन्दीबाट आयो, हाइकु र ताङका जापानबाट, सिओ कोरियाबाट आयो भने रवाई अरबबाट आएको हो । साहित्य विद्यामा प्रत्येक विधाको छुट्टै तत्व तथा आधारहरु हामी पाउँछौं । मूलतः साहित्यलाई चार प्रकारमा विभाजित गरिएको छ । जसमा आख्यान, कविता, निबन्ध र नाटक रहेका छन् । तिनलाई पनि अलग–अलग नजरले हेरिने गरिएको छ । जस्तो की आख्यानभित्र हामी उपन्यास, कथा, लघुकथा, आत्मकथा आदिलाई राखिएको छ भने कविता विधामा कविता, गीत, गजल मुक्तक आदि पर्दछन् । त्यस्तै निवन्ध भित्र निवन्ध, प्रवन्ध नियात्रा संस्करण आदि र नाटकमा पनि एकाङ्की र पूर्णाकी पर्दछन् । जसलाई पनि अहिले आएर सुक्ष्म अध्ययनपछि दुई भागमा बाढेर चर्चा परिचर्चा गरिन्छ । आख्यान र अनाख्यान रहेका छन् । यसरी नेपाली साहित्यलाई सुक्ष्म अध्ययन गर्दा साहित्यप्रति श्रमिकहरुको संलग्नता बढेर गएको पाइन्छ हाल आएर लघु रुपका साहित्य रचना ह्वात्तै बढेका छन् । गद्यमा लघुकथा, निवन्ध, नियात्रा आदि विधामा काम भएका छन् भने लयात्मक विधामा कविता, गीत गजल, मुक्तम, रुवाई गीति कविता आदिमा आध्यात्मिक कलम चलेका पाइन्छ । मूलतः अहिलेसम्म स्थापित रहेका नेपाली साहित्य विधाहरुको विषयवस्तुहरु फराकिलो हुने गर्छ ।
     प्रत्येक साहित्यविधाहरुमा एक तत्व प्रधान हुने गर्छ जसले गर्दा विषयवस्तु एक भएतापनि प्रस्तुति, शैली, स्वाद आदि फरक हुन्छ । गीत, कविता, गजल कुनै काव्यमा आधारित भएपनि यिनीहरुको प्रमुख तत्व भएको लय तथा छन्द हो । नाटकमा कहानी भएपनि संवाद प्रमुख हुन्छ । त्यस्तै कथामा कथ्य विस्तार, लघुकथामा लघुता, निवन्धमा वैचारिकता आदि प्रमुख तत्व मानिन्छ । यसै क्रममा झापा सतासीधाम निवासी मौलश्री लिम्बूले वैचारिकतामा एक पक्ष वा विषय बस्तुको कुनै एक खण्ड वा अंशको स–विस्तार भएमा त्यसलाई केस्रा भन्न सकिन्छ भनेर साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज हामी माझ लिएर आएका छन् । मौलश्रीले प्रतिपादन गरेको केस्रामा उठानको दुई हरफ, विश्रामको दोस्रो हरफ र बैठानको दुबै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा रहेर यसलाई लेख्न सकिने जनाएका छन् । यो विधाले मान्यता दिएका वा निर्णय गरिएका कुनैपनि छन्दको प्रयोगविना स्व छन्द लयमा लेख्न सकिने जनाइएको छ । केस्रालाई मुख्यतय तीन खण्डमा विभाजित गरिएको छ । जस अन्तर्गत आकृति केस्रा, आवृत्ती केस्रा र अलंकार केस्रा रहेका छन् । यसमा अनुप्रासको प्रयोग भएको पाउन सक्छौं । एउटा केस्रामा चारवटा अनुप्रासको प्रयोग हुनेछ । वैठानको पहिलो हरफमा उठानको पहिलो अनुप्रास दोहोरिनु बाहेक अन्य अनुप्रास दोहोरिएमा मान्य हुने छैन । अनुप्रासलाई पनि चार प्रकारमा प्रयोग गर्न सकिने दस्तावेज तयार गरिएको छ । जस अन्तर्गत समश्रुति अनुप्रास,स्वरश्रृति अनुप्रास,अल्पश्रुति अनुप्रास र आश्रित अनुप्रास रहेका छन् । उठानको दुवै हरफ, विश्रामको दोश्रो हरफ बैठानको दुबै हरफको श्रृतिमाधुर्य, शब्दलंकारका कारण अनुप्रासको प्रयोग हुनु अनिवार्य मानिएको छ । केस्रालाई समकालिन नेपाली शब्दकोषमा सुन्तला, कागती, भोगटे जस्ता रेसादार फल र लसुनको पोटीमा रहेका सजिल्यै छुट्टिने एउटा खण्ड नै केस्रा हो भनिएको छ भने सरल नेपाली शब्दकोषमा फलफूलको भित्रपट्टीको तह वा टुक्रालाई केस्रा भनिएको छ । कुनै एक अंशलाई नेपाली साहित्यमा सुक्ष्म पहिचान गरी सोही पक्षमा मानवीय समवेदना तथा संवेगबाट उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्याञ्जनालाई नै यसका प्रतिपादक लिम्बूले केस्रा मानेका छन् ।
     केस्राको संरचना छ हरफमा लेखिए पनि प्रत्येक दुई हरफ अलग–अलग रहनेछन् । तर यी सबै हरफ एउटा विषयवस्तुमा अन्योन्याश्रीत हुन जरुरी मानिएको छ । आधारभूत तत्वभित्र प्राविधिकता, शिल्प, लय प्रस्तुति, विषयवस्तु, भाषा वाचन अवस्था र समयसीमासमेत निर्धारण गरिएको छ । २०६८ साल असोज २६ गतेदेखि पुस १७ गते सम्मलाई प्रारम्भिक चरण मानिएको छ । त्यस्तै प्रारम्भिक उत्तरार्द्ध  चरण त्यसपछिलाई मानिएको छ । सम्पूर्ण केस्रा सर्जकहरुमा समर्पण रहेर तयार पारिएको पहिलो संस्करणलाई केस्रा लेखन मञ्च, नेपाली केस्रा मञ्च नेपाल, नेपाली केस्रा मञ्च मलेसिया, नेपाली केस्रा मञ्च यू ए ई र नेपाली केस्रा मञ्च कतारले प्रकाशनमा ल्याएको छ ।
   त्रिभुवन विश्व विद्यालयका प्राध्यापक डा.गोविन्दराज भट्टराईले केस्राको भूमिका लेख्ने क्रममा भनेका छन्–केस्रालाई विधा भन्नु आवश्यक छैन जस्तो लाग्छ किनभने यो विधा नभएर कविताको एउटा स्वरुप मात्र हो । डा.भट्टराईकै भनाईलाई गहिरिएर अध्ययन गर्ने हो भने पुराना कुराको परिमार्जन या नयाँ कुराको जन्म समयको माग हो भन्न सकिन्छ । यसैपनि विदेशी भूमी नेपालीका लागि बढेमानमा कार्यरत आम नेपालीका बारेमा ठूलै जमातले सकारात्मक नसोचिरहेको अवस्था छ । मलेसियामा जाने सबै नेपालीहरु सुरा–सुन्दरीहरुमा लठ्ठिन्छन् भनेर टीका टिप्पणी भइरहेका बेला नेपाली साहित्यको फूलवारीमा कर्मशील हात मार्फत रोपिएको यो ‘केस्रा’ नामक उन्नत विरुवाका कारण एउटा सम्भ्रान्त जमात यस्तो प्रगति देखेर चुपचाप भएको छ । सधै झरिला दानाहरु र रसिला केस्राहरु लटरम्बै फलाउन प्रवासीएका नेपालीले गरेको यो कार्यको मुक्त कण्ठले प्रशंसा गर्दा पनि नेपाली साहित्यको ढुकुटी भरीभराउ पार्न सकिन्न लगाएको बाली भित्र्याउन सम्पूर्ण साहित्यानुरागीको सहयोगको उत्तिकै खाँचो मैले महशुस गरेको छु ।
    विगत लामो समयदेखि प्रवासी भूमिमा श्रम बेच्न पुगेर हालसालै स्वदेश फर्किएका मेरा पुराना मित्र पाँचथर फाकतेप – ३ निवासी इक्साहाङ्ग चेम्जोङ्गले एक भेटमा "साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज" नामक पुस्तक दिएका थिए । नेपाली साहित्य समाज, मलेसियाका सचिव समेत रहेका उनी यो विधामा प्रारम्भिक उत्तरार्द्ध चरणका सर्जकका रुपमा चिनिएका छन् । २०५५ साल ताका पाँचथरको फाक्तेपमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा मसंग अध्ययनरत रहँदा देखि नै साहित्य प्रति झुकाव राखेका उनले ‘अनर्थ प्रेम’ उपन्यास र फूलको थुङ्गा गिती एल्वम बजारमा ल्याइसकेका छन् । उनकै केस्रालाई हेर्ने हो भनेपनि चेतनशील मन भीत्र सजिव विम्वहरु चलायमान भएर उभिएको पाउन सक्छौं । उनी केस्रा भित्र यसरी चलायमान भएका छन्–
"समर्पण"

यो तिम्रै हो मन
यो तिम्रै हो तन

सम्हाली देउ प्रेम
यो तिम्रो हो धन

यो तिम्रै हो मन
यो तिम्रै हो पन

    कुसल साहित्यकारका रुपमा चिनिएका उनले आफ्नी प्रेमीकालाई तन, मन, धन, सम्पूर्ण कुरा उनैलाई सम्पिएको कलाउँदै साहित्यनुरागी पाठकका बीचमा समेत नौलो रसस्वादन गराएका छन् । त्यस्तै पराजित राम भने केस्रा भित्र यसरी पोखिएका छन् ।
"भरिया"

बोकेर साहुको भारी
पुग्छन् भन्ज्याङ्ग पारी

दुई छाक टार्न गाह्रो छ
स्वास्नी मान्छे नयाँ सारी

थाप्लोमा पीरको भारी
बन्दकी छ पाखोवारी।

     यो त प्रतिनिधि केस्रा मात्र रहेको छ । यस्ता अनेकौं केस्राहरु यस दस्तावेज भित्र संकलित छन् । भन्ज्याङ्ग पारी पुगेर नेपाली मन छताछुल्ल भएर पोखिएको छ । नेपालमा रहदा गरिवको पीडा सम्झेर थाप्लोमा पीरको भारी बोकेर भएपनि नेपाली साहित्यलाई फलाउने फुुलाउने कुरामा नेपालीले पुर्याएको योगदान प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै समग्र विधा र प्रतिवादक प्रति शुभेक्षाका शब्द टक्र्याउँदछु ।
surendrab24@gmail.com
[ "पुर्वाञ्चल" राष्ट्रिय दैनिक पत्रिका ,बिर्तामोड,झापा  http://www.purwanchalnationaldaily.com ]

No comments:

Post a Comment