- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

Tuesday, 25 December 2012

जीवनी:- भानुभक्त आचार्य

               भानु उदाएको ठाउँ:
- भानुभक्त आचार्य
जन्म १८७१, मृत्यु १९२५
         नेपालका कौडिन्य गोत्रिय आचार्यबंशीहरू भारतको कान्यकुब्जबाट जुम्ला आएका थिए।आचार्य कुनै जातिविशेष नभएर पदवीबाट बनेको थर हो।जुम्ला राज्यका तत्कालीन राजाले अरणी मन्थन नगरीकन अग्नी उत्पादन गर्न सक्ने कोही छ? भन्दा कान्यकुब्जबाट आएकाहरूले हामीलाई आचार्यको सम्मान दिनेभए सक्छौ भनेपछि तिनीहरूको थर आचार्य रहन गयो।तनहूँमा रहेका आचार्यहरू कान्यकुब्जबाट जुम्ला, पाल्पाको धरमपानी हुँदै तनहूँ प्रवेष गरेको देखिन्छ।
         चौवीसी राज्यशासनकाल तनहूँमा सेन राजाहरूले चुँदीका आचार्यहरूलाई भूमीदानसमेत दिएको देखिन्छ। यसका आधारमा यिनीहरू पाल्पाबाटै सेनबंशी राजाहरूसंगै तनहूँमा आएको देखिन्छ।१९औ शताब्दीको दोस्रो दसकतिर अग्नीश्वर उपाध्यायबाट श्रीकृष्ण आचार्यको जन्म भएको थियो। अग्नीश्वरका सन्तान जन्मदै मर्दै गरेकाले श्रीकृष्ण जन्मनासाथ गोबरसित जोखिएकोले उनको बोलाउने नाम जोखुपाध्य
थियो भन्थे बुढापाकाले।
       आदिकवि भानुभक्त आचार्य नेपाली साहित्याकाशका एक उज्ज्वल नक्षत्र हुन् उनले आफ्नो र आफ्नो कूलको नाम नेपाली इतिहासमा स्थापित गरेरै छोडे।त्यो समयमा संस्कृत भाषालाई देवभाषा मानेर नेपाली भाषाको कदर गरिदैनथ्यो त्यस्तो विषम परिस्थितिमा पनि भानुले नेपाली भाषामा साहित्य लेखेर उनले जुन क्रान्तिकारी कदम उठाए त्यसको हामीले कदर गर्नै पर्ने हुन्छ। नेपाली माटोको एकीकरण पृथ्वीनारायण शाहले गरे भने नेपाली भाषाको एकीकरण भानुले गरे भन्दा अतिशयोक्ति हुने छैन।
      आदिकवि भानुभक्तको जन्म १८७१ साल आसार २९ गते तनहूँको चुँदी रम्घामा एक सम्भ्रान्त पण्डित परिवारमा भएको थियो।गण्डकी प्रदेशको चुँदी रम्घाबाट उदाएका नेपाली भाषा साहित्यका एक विभूती नै भएर रहे।एउटा धाँसीबाट प्रेरणा पाएर भानुभक्तको कवित्व प्रतिभा प्रस्फुटन भएको कुरा मोतीराम भट्टले उल्लेख गरेका छन्। यो कुरा सत्य हो। भानुभक्तका पालामा तनहूँ चुँदीका पण्डीत परिवारमा गोठाला राख्ने परम्परा थियो। गोठाला घाँसीले घाँस काटी रहेको र भानुभक्तले यो घाँस के गर्छौ? भन्दा मालिकको घरमा दिएबापत केही रकम कहिले काहीं पाउँछु र त्यही रुपियाँ बचाएर एउटा कुवा खनाउँछु भनेपछि गोठालो बसेको मानिससंग पनि यत्रो आँट र उत्साह हुदो रहेछ भने म त पण्डितको छोरा भएर त झन् केही गर्नै पर्यो भन्ने उत्साहको बाँध फुटेर आयो र तुरुन्तै यो कविता लेखे।
भरजन्म घाँसतिर मन दिइ धन कमायो
नाउँ केही रहोस् पछि भनेर कुवा खनायो

घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
मो भानुभक्त धनी भै कन आज यस्तो

त्यस घाँसीले कसरी आज दिएछ अर्ती
धिक्कार हो मकन बस्ने नाराखी कीर्ति

       तनहूँ र लमजुङको सीमानामा सोती गाउँ छ त्यसैले त्यहाँको सानो पसलहरू भएको ठाउँलाई सोती पसल भनिन्छ। एकदिन भानुभक्त गजाधर सोतीको घरमा साँझ पुगेछन्। गजाधर सोती जेठाछोरालाई लिएर कतै गएका रहेछन्।गजाधरकी बुहारी भवानीले पिँढीमा बसाईछन् तर पछि उसकी सासू आएर बस्न दिईनछन्। बुहारी दयावती हुनाले छाप्रोमा बस्नु भनिछन्। तर बूढीले त्यहाँबाट पनि खेदिछन्। अनि अलि पर बारीमा रूखको फेदमा बसेर रात बिताएछन्। बिहान उठेर हिँड्ने बेलामा गजाधरको कान्छो छोरा मुरलीको भोटोको तुनामा सिलोक लेखेर बाँधेर अनि केटा केटीलाई पनि कण्ठ बनाई दिएर हिडेछन्।
गजाधर सोतीकी घरबूढी अलच्छिन्की रहिछिन्
नरक जानलाई सबसित बिदाबारी भईछिन्

पुग्यौ साँझमा तिनको घर पिढीमा बाँस गरियो
निकालीन् साँझैमा अलिपर गुल्जार गरियो

       गजाधर सोती फर्केर आउदा केटाकेटीले सिलोक भनेको सुनि भानुभक्त आएका रहेछन् भन्ने थाहा पाएर बूढीलाई खुब झपारेका थिए।चुँदी रम्घाबाट दक्षिणपश्चिममा मैबल गाउँमा मित्र तारापति को घरमा बासबसेको बेला राती सासू बुहारी झगडा गरेको सुनेछन् र कविता लेखेर बसेछन्। भोली पल्ट हिँड्ने बेलामा मित्रलाई दिएर गएछन्।

एक थोक भन्छु नमान्नु दु:ख मनमा हे मित्र तारापति
तिम्रा यी जति छन् जहानहरू त लड्न्या रहेछन् अति

सुन्या दन्तबझान आज घरको कर्कर गर्याको उसै
भररात जाग्राम भयो मकन त लागेन आँखा कसै

धन इज्जत घरबार देख्छु बढीया छैनन् कुनै चिज कमी
बुहारी यदी कर्कशा हुन गया क्या घर गरौला तिमी

सारै झोक उठ्यो मलाई र बधुशिक्षा बनाया पनि
यस्ले पत्नि बुहारी छोरीहरूको तालिम गरौला भनी

       नेपाली भाषा साहित्यको उत्पत्ति उत्थान एवं विकास भानुभक्तबाटै भएको हो। उनका सबै कवितामा संगीतको अविछिन्न प्रवाहका साथै मौलीकताको स्वाद पनि उत्तिकै चाख्न पाइन्छ। भानुभक्तले मध्यकालीन नेपाली साहित्यको सिङ्गो युग निर्माण गरेर वि.सं. १९२५ साल असोज ६ गते ५४ वर्षको उमेरमा अल्पायुमै १ छोरा र पत्निलाई छाडेर सदा सदाका लागि विदा भएपनि कृति मार्फत सदा सदाका लागि हामी माझ रहिरहेका छन्। उनी तनहूँको माटोमा उदाए र नेपाली साहित्याकाशमा अटूट चम्केर रहिरहे।
  
  प्रस्तुती   - महादेव अधिकारी
काठमाण्डौ,हाल-यु.ए.ई.
(नेपालीहरूका ढुकढुकी,निबन्ध संग्रह २०६० बाट)