- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday, 2 January 2014

सन्दर्भः- दोश्रो वार्षिकोत्सव

सन्दर्भः केस्राको दोस्रो वार्षिकोत्सव, नेपाली साहित्यको एउटा रस केस्राभित्र
                                                                                    - पञ्च विस्मृत


            भर्खरै मात्र केस्राकार राज आङ्देम्बे 'सहयात्री'ले आफ्नो केस्रासङ्ग्रह नेपालमा यही पुस २० (२०७०) का दिन विमोचन हुन गइरहेको बताउनु भएको छ । अर्कातिर केस्राले नयाँ वर्षको आगमनसँगै दोस्रो वर्ष पार गरेर तेस्रो वर्षको खुड्किलो उक्लिँदैछ । सन्दर्भ मिल्यो ठ्याक्कै । धेरै समय अघिदेखि केस्रा लेखनको विषयमा दुर्इ शब्द दौडने रहर पुनः ब्युँझिएर आयो ।

अघि बढ्छु यसरी —
       वि. सं. २०५९/६० तिर इटहरी, विराटनगर र धरानको साहित्यक माहौल नेपाली साहित्यको एक विद्यार्थीको रूपमा निक्कै जुत्ता खियाइयो । र, पुस्तक प्रकाशनसम्म पुगियो, भलै त्यसको पाँच वर्ष अगाडिदेखि लेख्न थालेकै किन नहोस् । पछिल्ला पाँचवर्ष गन्तीमा राख्न सरम लाग्छ यो पङ्तिकारलार्इ । यद्यपि,कलाकार यासेली योङहाङद्वारा निर्देशित एक नाटक यही पङ्तिकार र उनका एक साथी मिलेर
लेखेका थिए । दुर्भाग्यतः त्यसलार्इ प्रदर्शन गर्नबाट वर्षातले रोकेको थियो । यही मौकामा भनिहालुँ कि केही नाटकमा अभिनय गर्ने कार्य स्कूले जीवनमा अर्थात् वि. सं. २०५६ तिर खुबै गरियो भने जानीनजानी भएपनि कम्मर भाँच्ने र गाउँने काममा वि. सं. २०५३/५४ तिर खुबै हिंडियो भनेन भने त्यतिखेर गरेको परिश्रम र मिहिनेतले सराप्नेछ लाग्छ ।एकसट्ठीदेखि यताको कालखण्ड प्रवासमा बित्यो । प्रवास भन्नु त झन् नेपाली साहित्यको ठूलै केन्द्र रहेछ ।
- पञ्च विस्मृत
केएसए 
       यो कुरा यसकारणले पनि यहाँ उल्लेख गर्नु पर्यो कि केही साहित्यिक अग्रज अनुजबाट मेरो साहित्यवृत्तिबारे माया गरेर केही प्रश्नहरू गर्नुभएको छ भने कसैले आफ्नो शरीरभन्दा ठूलो विशेषणको ओभरकोट भिडाएर लज्जित पनि बनाउनु भएको छ । अर्को कुरा नेपाली साहित्यको इतिहासमा आन्दोलनको रूपमा आएको केस्राको बारेमा बोल्ने म को हुँ र ? को लाजमर्दो जवाफ पनि त पेश गर्नै पर्यो । र अर्को पनि एउटा कारण छ; त्यो हो विगत र वर्तमानको परिदृश्यलार्इ छुने प्रयास गर्नु । अँ, मैले त्यतिबेला बुझेको र अहिले बुझेको कला साहित्यमा थोरैमा पृथकता छ र धेरैमा देख्दिन ।
       त्योताका केही समकालीन मित्रहरू केही अनौठा कविता लेख्थे र भन्थे — “यो एक नौलो कविता हुनसक्छ । अथवा यो नेपाली कविता साहित्यमा एक प्रयोग हुनसक्छ ।” अगाडि र पछाडि दुवैतिरबाट पढ्न सकिने कविता त्यसको एउटा उदाहरण हो । झापातिरको कार्यक्रममा कविता वाचन गर्दागर्दै कलाकारले सो कविताको भाव उजागर गर्नेगरि चित्र कोर्ने जस्तो प्रयोग भएको थियो ।
       यता, कवि मनु मञ्जिल भन्नुहुन्थ्यो — “थाहा छ यतिबेला कृष्ण धरावासी किन चर्चित छन् ?किनभने उनले लीलालेखनलार्इ व्याख्याको विषय बनाउदै आएका छन् ।” त्यो समय लीलालेखन निक्कै चर्चामा पनि पुगेको थियो । इन्द्रबहादुर रार्इ, वैरागी काइँला, अभि सुबेदी, कृष्ण धराबासी आदिका लीला प्रवचन सुन्ने मौका पनि चुकाइएन त्योताका विराटनगरमा । लीलालेखन जस्तै विभिन्न वादहरूका बारेमा समेत सामान्य अध्ययन गरियो । उत्तरआधुनिकतावाद, अस्वीकृत विचार जस्ता वादहरूको पनि सामान्य चर्चा सुनिन्थ्यो त्योताका । सबै वादहरू एकअर्कामा बाझेको देख्दा आफू भने पन्छिनुपर्ने अवस्था पनि देखियो । यस अनुभूतिलार्इ मैले धेरै अगाडि श्रीअभिलेख साप्ताहिकको मेरो ‘प्रवास’ स्तम्भमा पनि एकपल्ट उल्लेख गरेको छु ।
        विधागत लेखनको सन्दर्भमा त्योताका नेपाली गजल फस्टाउने क्रममा अनुभूत गरिन्थ्यो । फाट्टफुट्ट गीत, ताङ्का, हाइकु र मुक्तक लेखिन्थे । यति नै खेर म गजलकार महेश मार्सेलीलार्इ सम्झन्छु । उहाँबाटै मैले गजल र हाइकुको सामान्य संरचनागत ज्ञान लिएको हुँ । यति नै खेर अर्का एक स्थापित साहित्यकारलार्इ पनि सम्झन्छु जसले हाइकुको संरचना आफूलार्इ थाहा नभएको बताएका थिए । त्योताका उनको कुरा अनौठो लागे पनि आज त्यसको रहस्य छर्लङ्ग भएको छ । जसको बोध नेपाली साहित्यको माटोमा मौलाएर बौलाएका वाद र विधाहरूको अध्ययनबाट प्रष्ट हुन्छ ।
आजको परिवेशमा फेरि पनि भन्छुः थोरैमा पृथकता छ र धेरैमा देख्दिन ।

मैले देखेको वर्तमानः
      यतिबेला पनि केस्रा विधाका साथै नेपाली साहित्यको यो दुनियाँमा भयवाद, रेखा कविता,क्वान्टम साहित्य, बहुरङ्गवाद, विम्व कविता, नवचेतनाग्रह, अमूर्तवोधी दर्शन, समुच्च बिचार, गेंडी (धन्यवाद टेकेन्द्र अधिकारीजीलार्इ सम्झाउनु भएकोमा), तियाली, घोंचो र युद्ध साहित्य आदिको एक हूल नै रिले दौडमा उत्रिएको देखिन्छ । अस्तिमात्र एक कविज्युले एक संरचना प्रस्तावको रूपमा फेसबुकमा ल्याएका थिए । जसको न्वारन गर्न समेत अनुरोध गरेका थिए । यो नेपाली साहित्यको सकरात्मक प्रवृत्ति कि साहित्यकारहरूको बिग्रेको मतिको उपज हो ? सोच्न वाध्य हुनुपर्ने अवस्था समेत देखिन्छ । अँ, यो एक दौड चाही हो जुन दौडमा कुनै आफ्नै धुनमा सुस्त छन् कुनै तेज गतिमा छन् । के हामी प्रयोगमै अल्झिएका त हैनौं को अनुभव अचाक्ली भएर आएको छ यति नै खेर ।
      त्यसो त यी सबैको नेपाली साहित्यमा विधाको रूपमा स्थापित हुने दौड हैन । कुनै वाद या दर्शनको रूपमा आएका छन् । तर ती विधागत लेखनबिना अपूरो रहने भएकोले यिनलार्इ पनि यो दौडभित्र समेट्नु पर्ने देखिन्छ । समग्रमा यी सबै नेपाली साहित्यमा आन्दोलनको आएको बुझ्दा राम्रो होला । तर विडम्वना त यिनको नाम सम्झनमा मात्रै निक्कै कसरत गर्नुपर्ने देखिन्छ भने यिनको व्याख्या, विश्लेषण र विवेचना गर्न या यिन सबको लेखनमा लाग्नलार्इ त एक युग नै बिताउनु पर्ने हो कि !

यहाँ सन्दर्भ केस्राको छः
         मौलश्री लिम्बू र उहाँका साथीहरू यतिखेर केस्रालार्इ नेपाली साहित्यको एक विधाको रूपमा स्थापित गर्नमा समर्पित नै लागिपर्नुभएको छ । यसक्रममा उहाँहरूले वि. सं. २०७० को वैशाखतिरकेस्रा साहित्यमा केस्रा विधाको घोषणा र दस्तावेज’ नामक पुस्तकमार्फत औपचारिक रूपमा केस्रा विधाको घोषणा समेत गरिसक्नु भएको छ ।
      १ जनवरी, २०१२ बाट मलेसियाको साहित्यिक माटोमा जन्मेको केस्राले यो नयाँ साल अर्थात् १ जनवरी २०१४ सँगै दोस्रो वर्ष पूरा गरि तेस्रो वर्षमा प्रवेश गर्दैछ । यसबीच विशेषतः फेसबुक सञ्जालमा केस्रा निक्कै फस्टाएको देखियो । दैनिक, साप्ताहिक पत्रपत्रिकाहरूमा यसमाथि समीक्षाहरू लेखिए । केही राष्ट्रिय पत्रपत्रिकाहरूले केस्रालार्इ स्थान दिएको समेत देखिनु झनै खुशीको कुरा भयो । वि. सं. २०७० असार ७,शुक्रबारका दिन उर्लाबारीमा केस्रा विधामाथि "सिर्जना अनुशीलन" कार्यक्रम समेत सम्पन्न भयो । दिलिप 'सगर' रार्इ ले गर्नुभएको सो कार्यक्रमको रिपोर्टिङ मेरो अनुरोधमा कृष्ण अधिकारी जीले मेरो इनबक्समा खसाल्नुभएको थियो । जसअनुसार सो कार्यक्रममा भएको बहसमा केस्रा विधाबारे निम्न महत्त्वपूर्ण र मननीय निष्कर्षहरू निकालिएका थिएः
– केस्रा श्रम साहित्य हो ।
– केस्रा गजल र रुवाइभन्दा फरक विधा हो ।
– केस्रा नेपाली साहित्यमा हालसम्मको कान्छो विधा हो ।
– नेपाली साहित्यिक रेमिट्न्स हो केस्रा विधा ।
– यस विधाले स्थापित हुन अझै सङ्घर्ष गर्नुपर्छ ।
"सिर्जना अनुशीलन" कार्यक्रम २०७० मोरंग 

       सबैभन्दा खुशीको कुरा त राज आङ्देम्बे सहयात्रीको केस्रा सङ्ग्रह प्रकाशित हुन गइरहेको छ । केस्राको इतिहासमा यो पुस्तक कोशेढुङ्गो सावित हुने छ भन्नुमा अतिशयोक्ति हुने देखिँदैन ।


        यसबीच धेरै केस्राकारहरूले केस्राको नाममा कलम पनि धेरै नै जोतिसकेको अवस्था छ । र खुशीको कुरा त तिनको सङ्ख्या पनि दिनानुदिन बढ्दोछ । कुनै पनि कुराको भविष्य समय र परिस्थितिले नै निर्धारण गर्दछ । केस्राको समय बलियो हुँदै गएको छ ।

केस्राकारहरूः
 अनिरूप रसाइली, असफल गौतम, इक्साहाङ चेम्जोङ, इन्द्र अपेक्षा चोङबाङ, ऋषिराम लम्साल, कादम्बरी गुरूङ, कृष मगर, मन कुमार लिम्बू ‘तुखेसा’, केशर पारदर्शी, कृष्ण उदाशी, कृष्ण पुन 'आलोक',खेमराज गाउँले, गनिन्द्र विवश, जीवन देवान गाउँले, जी. के. श्रेष्ठ, जीवन कास्यप, जेन तमु ज्ञानेन्द्र, जे. बी रार्इ 'रूमानी', 'झरी' दान रार्इ, दर्शन योङहाङ लिम्बु, डक्बर तुम्बापो ‘बुद्ध’, तेज विवश रार्इ, दीप दर्शन, दुर्गा गुरूङ 'ठागु जी', देसु सुब्बा, नाना रोदुङ, नारदमनि रार्इ, मीना पुमा रार्इ, दिलिप रार्इ सगर, प्रनिल चापागाइँ, बजिन लिम्बू, मञ्जुश्री शेर्मा, मौलश्री लिम्बू, पासाङ तमु, मनि रार्इ 'गोठाले', महादेव अधिकारी, माइनस प्लस संग्रौला, सगुन थापा, स्याङ्जाली रमेश, राज आङ्देम्बे ‘सहयात्री’, प्रकृती धिमाल, भक्ति प्रसाद पौड्याल, भरत अधिकारी, रमेश कुँवर 'गोठाले', रोमन ‘पीडा’, राज कंडेल 'निराश', राज अविरल यात्री, रिखुराम सूर्यवंशी, लक्ष्मीमाङ चेम्जोङ लिम्बू,समिर सिम्खडा,सञ्जय कुमार खड्का, सञ्जीव रार्इ, सन्तोष माबुहाङ 'अनसन', सानु विस्मात, सोम सुबेदी, रूद्र मिश्र, रूपेश अनमोल फत्र, रोमन पीडा, साथी समीर, सुदिप कोइराला, हरि पराजुली,हस्त विवश पुन,[रन काफ्ले,विशाल के.सी. >आसाम,भारत ]आदि ।

त्यसो भए यो केस्रा भनेको चाहीं के रहेछ ?
केही स्रष्टाहरूको विचारमाः

श्रीजन श्री—
      “गजलको जस्तै लय+भाव वा विचार नै केस्राको पनि प्रमुख तत्वकारुपमा देखिएको छ । भलै गजलको एक शेरले भन्नुपर्ने कुरा केस्राका ३ वटै पङ्तिमा बिस्तारित भएको किन नहोस ।” (केस्रा: सिर्जनामामा एक नजर, केस्रा समीक्षा)

राज आङ्देम्बे 'सहयात्री'—
        “एउटा सिङ्गो कागतीलार्इ ताछेर त्यसको एक भाग अथवा एउटा केस्रा छुट्टाउनु नै केस्रा हो । हामीले कागतीको रसभित्रै केन्द्रित रहेर त्यसको स्वाद थाहा पाउन र पत्ता लगाउन सक्नु पर्छ तब मात्र एक केस्रा पूर्ण बन्छ । कागतीको रस अमिलो छ भन्ने थाहा हुँदाहुँदै पनि गलियो र नुनिलो स्वाद थपेर सुनमा सुगन्ध थप्छु भन्नु चाही उचित देखिनँ मैले ।” (केस्राबारे मेरो विचार)

दिपक सुबेदी—
       “हरेक क्षेत्र या वस्तुहरूमा हुने विशेषतालार्इ पहिचानगरि समयानुकूल परिमार्जन गरेर अझ प्रभावकारी बनाइँदैछ । यसरी समयानुकूल परिवर्तन हुँदा उक्त क्षेत्र वा वस्तुमा एउटा नयाँ संरचना या ढाँचाको आधार नै तैयार भएको हुन्छ । यस्तो संरचना पुरानो स्वरूपसँग मिल्दोजुल्दो देखिएतापनि त्यसमा लागु हुने मान्यता, विशेषता, उपयोगिता आदिमा भिन्नता हुने गर्दछ । यसरी छुट्टै अस्तित्व बोकेर, छुट्टै नामले स्थापित हुन अन्य विधा जस्तै नेपाली साहित्यमा केस्रा विधाको उपस्थिति भएको देखिन्छ ।” (केस्रा रचनामा रसको अभिव्यञ्जना, केस्रा समीक्षा)

भुपेन्द्र तिमसिना—
        “सुन्तला जस्तै फलको एक केस्रा खाएपछि सिंगो दानाकै स्वाद थाहा पाउन सकिन्छ भनेजस्तै एउटा सानो बिषयबस्तुमा केन्द्रित भएर लेखिने केस्राले पनि साहित्यको सिंगो स्वाद दिन सक्छ भन्ने केस्राको परिभाषासंग जोडिएको कुरा छ । .... केस्रा फरक अवधारणका लागि तयार गरिएको खेस्रामा मात्र सिमित हुनुहुदैन । अनि गजल र रुबाईको फ्युजनबीचको कन्फ्युजनलाई हटाउन सक्नुपर्छ ।” (फ्युजन र कन्फ्युजनमा केस्रा, केस्रा समीक्षा)

     केही समय अगाडि मैले केही स्रष्टाहरूको इनबक्समा यो प्रश्न छोडेको थिएः “केस्रको बारेमा तपार्इंको केही धारणा थियो कि ?”
जवाफमा कवि तथा कार्टुनिष्ट मनि रार्इ 'गोठाले' भन्छन्— “यो मनको निर्माण, समयको खोज हो । प्रस्तुतीले त त्यही बितेको, बितिरहेको र बित्न बाँकी रहेको कुरालार्इ नै उजागर गर्छ । मान्छेले एकल, आफ्नै विवेकको बुताले उठाएको कुरो नै साहित्यको कित्तामा मेरूदण्ड होस् चाहन्छ नि ! त्यसैले यो एउटा यस्तै सकरात्मक नै भनाउने अभिलाषा हो ।”
कलाकार तथा साहित्यकार खगेन्द्र पन्धाक लिम्बू भन्छन्— “यसको शुरुवातकालमा मैले यसरी नयाँ विधाको जन्म हुनु आवश्यक थियो भनेर मौलश्रीजीलाई भनेको थिएँ । तर संरचनामा चित्त नबुझेको पनि बताएको थिएँ । जसरी गेंडीको संरचनामा अलग छ । संरचना गजल + मुक्तक भयो । अलिकति हत्तार भएको हो । काम हाम्रो माग अनुरुप थियो ।”
       फेसबुकको स्टाटसमा खरो प्रतिक्रिया दिन माहिर स्रष्टा बोझ राज भने केस्राको बारेमा आफू खासै जानकार नरहेको बताउछन् । र, भन्छन्— “यहाँको लेख शेयर गर्नुभयो भने त्यसबाट नै जानौला ।” उहाँले जस्तै कवि, गीतकार तथा ब्लग्गर टङ्क सुब्बा पनि आफ्नो अनभिज्ञता पोख्छन्— “यसबारे ज्ञान नभएकोले धारणा पनि केही छैन ।” बहरार्इनका कार्यरत कवि चन्द्र गुरूङ पनि यसरी पन्छिन्छन्— “गजल, गीत, केस्रा, मुक्तकहरू बारे मेरो ज्ञान धेरै छैन भन्दा नै हुन्छ ।” कवि दीप्स शाहको यसबारे धारणा त केस्रा विधाको घोषणा र दस्तावेज पुस्तकमा आइसकेकै हो । यसपाली भने “I will wait to read your article soon.” भन्दै केही बताउन चाहन्नन् । साहित्यकार विक्रम पालुङ्वा भन्छन्— “नयाँ कुराहरुमाथि म सहमत छु ।” यता, कारदेखि डराउने कवि तथा गजलकार निर्मला खड्का भने केस्राजस्ता नयाँ विधाहरूले इतिहास कोर्ने कुरामा शङ्का गर्छिन् । कवि, गजलकार तथा केस्राकार हरि पराजुली को केस्राको बारेमा रोचक भनाइ छ—- “केस्राः झट्ट हेर्दा,मुक्तक तथा रुवाइलाई बढाएर बिषयकेन्द्रित गराई पोको पारिएको बजैको सानो थैली जस्तो । हिजोआज गजलमा लय र बहरको कुरा उठेको बेला गजल लेख्न अल्छी मानेर एकै बसाइमा हुने सजिलो र छोटो संरचनालाई नामकरण गरिएको हो कि ? भन्ने तर्कहरु पनि मनमा नआएका हैनन् । वास्तबमै केस्रा आफैंमा सरल र मिठाश शब्द एउटै विषयको भावमा केन्द्रित बनेर सूक्ष्मतासँग एकाकार हुनु नै केस्रा हो जुन छोटो स्वादिलो र चोटिलो हुन्छ । साहित्यको परिमार्जित, बुद्दिजिबी, प्रगतिशिल, प्रवासी मनबाट उब्जिएको पीपलको बिरुवा हो केस्रा जसलाई मलजल गरे यसले भोलिका दिनमा साहित्यिक फाँटमा प्रत्यक्ष शितलता प्रदान नगर्ला भन्न सकिन्न ।”
       कवि समदर्शी काइँला, साहित्यकार तथा सञ्चारकर्मी देबेन्द्र सुर्केली, कवि तथा रङ्गकर्मी गणेश खड्का, क्वान्टम कवि मधु माधुर्य, साहित्यकार विश्वासदीप तिगेला, कवि हरि पराजुली आदिले भने यसै भन्ने जाँगर देखाएनन् ।

केस्रा कसरी लेख्ने ?
सन् २०११ को नोभेम्बर २७ का दिन मलार्इ यस्तो मेसेज आएको थियो—
“नमस्कार, एक पटक यस सङ्क्षिप्त लेखलाई अध्ययनगरि प्रतिक्रिया दिनु भए हामी आभारी हुने थियौः
नेपाली साहित्यमा ''केस्रा'' नयाँ विधाकालागि प्रतिपादन हुँदैछ । ''बाह्र'' अक्षर तथा मात्रामा नबढाई घटीमा जति पनि अक्षर तथा मात्रामा अर्थ खुल्ने गरि ''छ'' हरफमा लेखिन्छ । पहिलो र दोश्रो हरफलाई''उठान'', तेश्रो र चौथोलाई ''विश्राम'' र पाँचौ र छैठौ हरफलाई ''बैठान'' भनिन्छ । ''केस्रा'' तीन प्रकारका हुन्छन्— १, आकृति केस्रा २, आवृति केस्रा र ३, अलङ्कार केस्रा ।

''अंशात्मक '' शिल्प भएकोले यसको रचनागर्दा विषयवस्तु वा मानवीय संवेदना तथा संवेगको एक अंशलाई सूक्ष्म आधार (विषय) मानेर बाह्रय संरचना, अनुप्रासको अक्षर विन्यास आदिमा ध्यान दिएर लेख्नु पर्दछ । प्रत्येक हरफमा एक स्वर [अ, आ, इ, ई,..] अक्षरलाई गन्तीमा छुट भएकोले गन्न वा नगन्न पनि सकिन्छ ।।

१) 'सत्ता'

काँध टेकेर चढ्छौ
खुट्टा तानेर बढ्छौ

सत्ता-शक्तिको खेल
लेखि इतिहास पढ्छौ

जसरी हुन्छ चढ्छौ
अनि सर्तमा डढ्छौ ।

२) 'मृत्यु'

ऊ आउँछ अनि जान्छ
सबैलाई फकाई लान्छ

कस्तो मै हुँ भन्नेलाई
कुनै निहुँपारि तान्छ

उ विन्ती नसुनि जान्छ
आहार बनाइ खान्छ ।”
         उपर्युक्त मेसेज केस्रा विधाका प्रवर्तक मौलश्री लिम्बूले मेरो फेसबुकको इनबक्समा पठाएका हुन् । त्यतिखेर मलार्इ लाग्यो लौ यो के अनर्थ हुन लाग्यो ? र, केही ढिलैगरि अर्थात् डिसेम्बर ५ कादिन मैले यस्तो प्रतिक्रिया दिएको थिएँ —
     “मलार्इ किन किन मेरो पूर्खाले बनाएको घर मन पर्छ । पूर्खाले बनाएको बाटो, पूर्खाले नै बनाएको भाषा, नैतिक आचरणका सिमारेखाहरू मलार्इ मन पर्छन् । मैले उपन्यास, कथा या कविता बाँचेंको छु भने यसरी नै बाँचेको छु । तर यतिबेला म लक्ष्मीप्रसादको त्यो गद्य जीवन बाँचेर बाँच्न सक्दिन । किनभने त्यो जीवनमा आजको रङ्ग छैन । न त आजको ढङ्ग नै छ । यसको माने के हो भने, बाटो उहीं हो हिंड्ने तरिका बद्लियो । बाटो नै बदलाइदिने प्रयासहरू धेरै भएका छन् । तर ती कुनै पनि सफल भएका छैनन् । किनभने एउटा सजिलो बाटोमा ‘स्टप’ को चिन्हले तगारो हालेर नयाँ अनजान बाटो देखाउँदा बटुवाहरूले त्यत्ति सजिलै समाउँने छैनन् ।
त्यसो त म भन्छु— कुनै वादहरू पनि सफल भएका छैनन् । कुनै कारागारमा वन्दी हुन नचाहने कलमवाजहरू स्वतन्त्रताप्रेमी देखिन्छन् । त्यसो भएकोले वादहरूले सिर्फ जीवन र जगतलार्इ हेर्ने दृष्टीकोणमा आयाम थप्ने काम गरेका छन् । कुनै वादको आँखाले जीवन र जगतलार्इ नियाँलेर अभिव्यक्ति दिनुमा वादको प्रयोग त छ नै तर जीवन र जगतको आफ्नै चाल छ । त्यो चालको नाम प्रकृति हो । र डा. विकाशानन्दको भाषामा प्रकृति र्इश्वर हो । कतिञ्जेल हामी र्इश्वरको विरुद्धमा कलम चलाइरहन सकौंला र !तर मैले मन पराएको पुरानो घर, पुरानो बाटो यी सब यथास्थितिवादका परिणाम हुन् । मैले बाँच्न चाहेको स्वतन्त्र जीवन व्यक्तिकेन्द्रततामा आधारित छ ।त्यसैले नयाँ घर, नयाँ बाटो र जीवनमा नयाँ माइण्डसेटका लागि जे जति गरिन्छन् ती क्रान्तिकारी कदम हुन् । ती र त्यस्ता कदमहरूलार्इ शिखरमा पुर्याउनकोलागि सबैको समर्थन आवश्यक पर्दछ । त्यो समर्थन प्राप्त गर्न सफल हुनुहोस् मौलश्री जी । मेरो शुभकामना । असफल नै हुनु भएपनि तपार्इंको कदमका डोब इतिहास बन्नेछन् । सदा अमर रहनेछन् ।”
    मेरो यो भनाइमा प्रष्टतः केही सहमति र केही विमति रह्यो जुन कुरा मौलश्री लिम्बू मन पराउदैनन् । म यसै हरफहरूबाट मौलश्री लिम्बूमा यो निवेदन चढाउन चाहन्छु कि अब म पूर्ण रूपमा सहमत भएँ । किनभने धेरै केस्राकारहरू जन्मिसकेका छन् । एक प्रवासी श्रमिकको कलम र दिमागबाट जन्मेको केस्रालार्इ यो प्रवासी श्रमिकले अस्वीकार गर्ने त कुरै भएन । त्यसमा पनि समय र परिस्थितिले साथ दिए भोलि हाम्रो मौलिक विधाको रूपमा स्थापित हुनेछ भन्ने कुरामा द्विमत हुन सक्दैन ।

केस्राको अझ विस्तृत रूपमा अध्ययन गर्न केस्रा प्रवर्तक मौलश्री लिम्बुको यो लेखले धेरै सहयोग गर्ने छ—
केस्राको प्रकारः
१) आकृति केस्रा— उठानका दुवै हरफ, विश्रामको दोश्रो हरफ र बैठानको दुवै हरफको अन्तिममा अनुप्रासको प्रयोगमा लेखिएको केस्रा । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोगबिना स्वच्छन्द लयमा लेखिनेछ । जस्तै:-

"सिंह"

समूह बनाएर पस्छ
पसेपछि ऊ मौन बस्छ

सिंहदरबारको सिंह
गर्जँदैन आसन कस्छ

तालमेल नमिलाई पस्छ
अन्तत: त्यै समूहले डस्छ ।

[प्रयुक्त केस्रामा 'समश्रुति अनुप्रास"को प्रयोग गरिएकोछ।]

२) आवृति केस्रा— अनुप्रासको अघिल्तिर वा मध्य भागमा राखेर प्रत्येक हरफमा वा विश्रामको पहिलो हरफमा बाहेक अन्य पाँच हरफहरूमा कुनै शब्दलाई दोहोर्याएर लेखिएको केस्रा । यसलाई एउटा शब्द र अनुप्रासको मात्र प्रयोग गरेर पनि लेख्न सकिनेछ । यो केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको प्रयोगबिना स्वच्छन्द लयमा लेखिनेछ । जस्तै:-

"अनुरोध"

तराजुमा माया देऊ जोखेर
मेरैलागि माया देऊ तोकेर

बेवास्ता या बहाना भन बरु
कागजमा माया देउ कोरेर

अलिकति माया देउ जोखेर
दायाँ बायाँ माया देउ सोचेर ।

[ प्रयुक्त केस्रामा अनुप्रास भन्दा अघि "माया देऊ" शब्दको आवृति भएकोछ । साथै "स्वरश्रुति अनुप्रास"को प्रयोग गरिएकोछ। ]

३) अलङ्कार केस्रा— वैज्ञानिक ढङ्गले ध्वनि विज्ञानको मान्यतामा रहेर छन्दको संरचना निर्माण गरि लेखिनेछ । केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरिएका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकृति केस्रा र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलङ्कार केस्रा हो ।

अनुप्रासको प्रकारः
केस्रामा अनुप्रास चार प्रकारका हुन्छन्:
१, समश्रुति अनुप्रास— अनुप्रास शब्दको पहिलो वर्ण अक्षर भिन्न भएतापनि वर्णविन्यासमा समान स्वर भएको साथै बाँकि अक्षर दोहोरिएको शब्द । जस्तै :- काम, धाम, माम, खाम = समान स्वर उच्चारण'आम' ।

२, स्वरश्रुति अनुप्रास— दुई अक्षरभन्दा ज्यादा भएको अनुप्रास । शब्दको अन्तिम अक्षर दोहोरिए पनि अघिल्तिरको वर्ण असमानता तर वर्णविन्यासमा समान स्वर भएको साथै पहिलो र अन्तिम अक्षर समान तर बीचको अक्षर भिन्न भएता पनि स्वर उच्चारण समान भएको शब्द । जस्तै:- गुहार, पुकार, सुधार,जुनार = समान स्वर उच्चारण 'उआर' ।

३, अल्पश्रुति अनुप्रास— कम्तिमा दुई अक्षर वा स्वर उच्चारण मिलेको लामो र छोटो अलग अलग शब्दांशको उच्चारण वा लामो शब्दका अन्तिम समध्वनि अक्षर समान उच्चारणबाट बन्ने अनुप्रास । जस्तै :- पाप, अभिशाप, धराप, विलाप = समान स्वर उच्चारण 'आप'।

४, आश्रित अनुप्रास— कुनै दुई अक्षर वा शब्दको संयोजनबाट अर्थ खुल्ने शब्दको अनुप्रास । जस्तै :- भा'को, गा'को, खा'को, ला'को = समान स्वर उच्चारण 'आ’को'।

(नोट:- अनुप्रास शब्दको अन्तिम श्रुति समान अक्षर वा वर्ण न/ण' साथै 'न्/ण्/ञ्' त्यस्तै 'श/ष/स' को एक-अर्काको सट्टामा प्रयोग बाहेक अन्य कुनै पनि श्रुति समान अक्षर मान्य हुने छैन ।)

विविध मान्यता:
१, 'निपात' शब्द वा अक्षर [अँ,आ, ए, कि,क्या, नि, पो, रे, ल, लौ, है, अरे, क्यारे, कुन्नि, हगि,हाउ...आदि ।] अनुप्रासको अन्तमा राख्न सकिनेछ तर अन्य शब्दहरु राखिएमा मान्य हुने छैन । निपात प्रयोग भएको केस्रालाई पनि "आवृति केस्रा"भनिन्छ ।

२, अनुप्रास शब्द कम्तिमा दुई अक्षर वा वर्णको अनिवार्य हुनु पर्दछ । अघिल्लो अक्षर वा वर्णमा स्वरवर्ण मिले पनि अन्तिम अक्षर वा वर्ण प्रत्येक अनुप्रासमा दोहोरिनु पर्दछ ।

३, लय साथै अर्धविश्राम अनिवार्य छैन ।

४, विश्राम हरफमा विषयवस्तुको एक पक्ष वा भावको खुलासा हुनु पर्दछ र बैठानमा उक्त भावलाई जोड दिंदै वैचारिकता दर्शाउनु पर्दछ ।

— मौलश्री लिम्बूको एक लेखको अंश ।

सृजनाबारे मेरो मान्यताः
          जब जब म हाइकु पढ्छु, मैले पढेका प्रायः हाइकुका सबै हरफ र भावले मन छुन सफल हुन्छन् । अत्यन्तै छोटो र लघु संरचना । सम्भवतः सबै भन्दा सानो र समय सापेक्ष— यस अर्थमा कि आजकल सबैजना व्यस्त हुन्छन्; सबै विशेषता राम्रो लाग्छ । मलार्इ त्यतिखेर खल्लो महशुस हुन्छ जब मैले पढेको हाइकुमा पाँच सात पाँचको नियम छ कि छैन भनेर अक्षर गन्नु पर्दछ । र, जुन कुरा मैले गर्न सकेपनि मेरो एक छिमेकी, मेरो एक साथी या मेरो एक भाइले गर्न सक्छ नै भन्ने त छैन । के साहित्यिक विधाहरू सिर्फ साहित्यकारहरूकालागि हुन् त ? नियम थाहा नहुनेले हाइकुलार्इ हाइकुकोसट्टा के भनेर पढ्लान् ?
      जब जब म गजल पढ्छु या लेख्छु, म रदीफ र काफियामा पुगेर एकछिन घोरिन्छु । तर यसको रदीफ र काफिया विम्वको सतहबाट झिक्नुमा बडो मज्जा आउछ । पढ्नमा झनै मज्जा आउछ । तर म अल्छी छु । किनभने मलार्इ यसको छन्द (बहर)तिर हेर्न पनि मन लाग्दैन । यसको सबै दोष मेरो अल्छीपनालार्इ किन ? वस्तुतः म सिर्फ गजल लेख्नकोलागि गजल लेख्न रूचाउन्न ।
  — जसरी कविताको छन्दलार्इ मैले छोएको छैन । लाग्छ, वास्तवमा गद्य कविताजस्तो मन छुने र स्वच्छन्द विधा अरू केही छैन । त्यस्ता पनि कवि हुँदारैछन् जसले छन्दलार्इ छोएकै छैन ? हुन्छन्, नेपाली साहित्यको फाँटमा धेरै त्यस्ता मूर्धन्य साहित्यकार छन् जसले पद्यमा कलम चलाएका छैनन् । यदि कविले पद्य लेख्नै पर्छ भन्ने अनिवार्यता हुँदो हो त शायद म कवितै लेख्दिन थें । यसरी, कोही छन्दको संरक्षण अभियान चलाउछन् म भने छन्द नलेख्ने भनेर ढिपी कस्छु । संरक्षण गर्ने पनि के साहित्य ? यसले त आफ्नो खुट्टामा आफैंले उभ्न सक्नु पर्यो नि ? नेपालका आदिवासी जनजातीलार्इ भनिएझैं— संरक्षण रे, आरक्षण रे ! अहँ मलार्इ पटक्कै मन पर्दैन यो संरक्षण र आरक्षण शब्द !
      म गीत यसकारणले लेख्छु, यसको क्षेत्र बृहत्तरको छ । गीत मात्र गाइँदैन, पलेटी कसेर पढिन्छ पनि । यसको सर्वमान्य संरचना छैन । नेपाली र भारतीय गीतकारहरूले छ हरफका गीत धेरै लेखेका भएपनि अङ्ग्रेजी गीतहरू कविताजस्तै लाग्छन् । मैले त लेख्दा निर्धक्क फुक्नु पर्छ सृजना गर्दा, हावा भरिएको बेलुनजस्तै । र, विचार, कला र सौन्दर्यको सर्तमा अनावश्यक नियम, कानून र परिधीबाट बाहिरिदै कतै पुगेर विष्फोट हुनु पर्छ । अहो, यो स्वतन्त्रताको विरूद्द आवाज उठाउने को ?
       आख्यानमा कलम चलाउनुको मज्जा नै भिन्न छ । उपन्यासलार्इ कथाको अन्तबाट शुरूगरे पनि हुन्छ र शुरूबाटै शुरू गरे पनि हुन्छ । बीचबाट शुरू गर्नुमा पनि कुनै रोकतोक छैन । बस् कसरी प्रस्तुत गर्ने भन्ने कुरा नै महत्त्वपूर्ण हो । संस्मरण, कथा आदिको लेखनमा पनि तिनको आकारको सर्त बाहेक अन्य अनावश्यक त्यस्तो कुनै नियमकानूनको सामना गर्नु पर्दैन ।

निचोरः
१,
       इटहरीमा कवि मनु मञ्जिल, मुकुल दाहाल, श्रीधर शर्मा तथा दिनेश पौडेलको सक्रियतामा प्रकाशित साहित्यिक पत्रिका ‘कोशेढुङ्गा’ नाम यतिखेर मेरो मनमा आएको छ । यसको नाम एकफेर चर्चामा आएको थियो । कोशेढुङ्गा बहुवचन भयो त्यसलार्इ त कोशेढुङ्गो सुहाउथ्यो र राखनुपर्थ्यो जस्ता तर्कहरू अघि सारिएका थिए । तर त्यो समय पत्रिका प्रकाशित भइसकेको र अन्य पनि केही सम्यक् तर्कहरू आएकालेत्यसको नाम परिवर्तन गर्न त्यति उपयुक्त ठानिएन । त्यसो त नाम एकवचनमै हुनुपर्ने भन्ने पनि त छैन, त्यसमा पनि एक साहित्यिक पत्रिकाको । तर नामले सम्बन्धित बस्तुको विशेषता जनाउने भएकोले नाम अब त्योसम्बधित वस्तुविशेषको विशेषण शब्द बन्न जान्छ । जस्तो कोशेढुङ्गो अब नामबाट सो पत्रिकाको विशेषता हुन जान्छ । र, कोशेढुङ्गा अर्थात् कोशेढुङ्गाहरू र कोशेढुङ्गो भन्नुमा भिन्नता छ । व्यक्तिको नाम त बहुवचनमा हुँदैन नै । त्यसैले पत्रिकाको नाम पनि एकवचनमै राखेको राम्रो देखिन्छ ।
तर, पत्रिकाले समेट्ने विषयहरूको आधारमा नामाकरण गरिएको खण्डमा भने विवेचना अर्कै निक्लन जान्छ । जस्तो ‘प्रवासी वेदनाका आवाजहरू’ शीर्षकलार्इ को भन्न सक्दछ गल्ती छ भनेर ।
        केस्रा पनि यहाँ बहुवचन देखिन्छ । केस्राको परिभाषामा— “यथार्थ जीवनको कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक दृष्टिकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण विषयवस्तुमा हुने कुनै एक खण्ड वा कुनै एक अंशलार्इ मात्र सूक्ष्म पहिचानगरि सोही पक्षमा संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यञ्जना नै केस्रा हो ।” — भनिएको छ । यसरी परिभाषामा एकै एकको कुरा गरेपनि केस्रा बहुवचन भएकोले यसको परिभाषा र केस्रा शब्दमा केही तादात्म्य नमिलेको हो कि लाग्छ । केस्रो गर्यो भने फेरि कता कता रस नभएको केस्रा झैं लाग्छ । अर्कातिर केस्राले धेरै अघि बढिसकेकोले अब केस्रा शब्दकै पक्षमा वकालत गर्नुपर्ने देखिन्छ ।
       त्यसैले केस्रा भन्ने बित्तिकै कुनै सुन्तला, कागती या त्यस्तै फलको एक केस्रो नभइ बोक्रा ताछ्दा देखिने समग्र केस्रालार्इ सम्झनु पर्ने देखिन्छ । परिभाषामा जुन एकै एकको कुरा भएको छ त्यो केस्राको नभइ फलको स्वादको रूपमा बुझ्न जरूरी छ । केस्रा थुप्रै भएपनि आखिर रस त एउटै नै हुन्छ ! सुन्तला गुलियो, कागती नुनिलो आदि । राज आङ्देम्बे सहयात्रीको भनाइ यहाँ तथ्यसङ्गत देखिन्छ— ‘कागतीको रस अमिलो छ भन्ने थाहा हुँदाहुँदै पनि गलियो र नुनिलो स्वाद थपेर सुनमा सुगन्ध थप्छु भन्नु चाही उचित देखिनँ मैले ।’ अर्थात् केस्रा सृजनामा ‘एक’ नै महानायक हो जुन रस वा स्वादविशेषसँग सम्बन्धित छ ।

२,
       परिदृश्य प्रथम संविधानसभा निर्वाचनपूर्वको । क्रान्तिकारी पार्टीहरू पूरानो संविधानलार्इ मासेर नयाँ संविधान निर्माणको माध्यमबाट देशमा विद्यमान मुद्दाहरूलार्इ संवोधन गर्न चाहन्थ्यो । यता यथास्थितिवादीहरू भने पूरानै संविधानको परिमार्जनबाटै भए पनि सबै प्रकारका मुद्दाहरूलार्इ संबोधन गर्न सकिने तर्क राख्थे । केस्राले पुरानो संविधानलार्इ परिमार्जन मात्रै गर्न खोजेको हो कि भन्ने लाग्छ । यसले पूरानो संविधानलार्इ मासेर नयाँ संविधानको खाका कोर्न सक्नु पर्छ । तर, जहाँ छन्द या ‘बहर’का कुराहरू, अनावश्यक झण्झटिला तत्त्वहरू आउन हुन्न जसले उही यथास्थितिवाद र निरङ्कुश तानाशाहको झल्को दिने छ ।
      म कुनै पनि पद्य, छन्द या नियम संगत भएर लेखिने कुराहरूको पक्षमा छैन; लेखनमा सम्पूर्ण रूपमा आफूलार्इ खुल्ला महशुस गर्नु पर्दछ भन्ने कुराको म पक्षपाती हुँ । जबसम्म एक लेखक लेख्दा आफूलार्इ स्वतन्त्र महशुस गर्न सक्दैन उ इमान्दार पनि बन्न सक्दैन ।
     केस्राको सैद्धान्तिक पक्ष सरल छ त्यसैले स्वीकार्य पनि रहेको छ ।

३,
       नेपाली राजीति र साहित्यको विशेषता के हो भने एउटा केन्द्रले नपुग्ने आफ्नै केन्द्र चाहिने; एक प्रमुख पार्टीको माध्यमबाट देशमा विद्यमान समस्याहरूको जरो खोतल्न छोडेर सो समस्याको नाममा आफ्नै नीजि र अनेकौं पार्टी खोल्ने । एउटा विधाले नअघाउने आफ्नो छुट्टै विधा चाहिने । अझ इतिहासलार्इ हातमा लिन खोज्ने, यी सब अहिलेका नेपाली बुद्दिजीवि, राजनीतिज्ञ, कलाकर्मी र साहित्यकारका विशेषता हुन् भन्दा कसैले पनि मन अमिलोपार्नुपर्ने देखिंदैन । यो प्रजातन्त्रले दिएको शुख त होला तर यसले वास्तवमै शुखशान्ति भने दिंदैन । शासित हैन शासक हुन चाहने प्रवित्ति नेपाली राजनीति र साहित्यको समान प्रवत्तिको रूपमा बुझ्न जरूरी भएको छ ।
       मनि रार्इको गोठालेका शब्दमा भन्ने हो भने ‘मान्छेले एकल, आफ्नै विवेकको बुताले उठाएको कुरो नै साहित्यको कित्तामा मेरूदण्ड होस् चाहन्छ नि !’
तर यति भएर पनि यस विषयका हजार सकरात्मक पक्षहरू छन् । यदि नेपालमा माओवादको जन्म नहुँदो हो त नेपालको ‘फेनोमेनन’ राजसंस्था अझैं जीवितै रहन्थ्यो । लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, संघिय आन्दोलन यी सब ‘एकले नअघाउने’ प्रवृत्तिकै उपज हुन् । यता मोतिराम भट्टले गजललार्इ नेपाल नभित्र्याएको भए नेपाली गजलको यो विकशित रूप देख्नबाट हामी वञ्चित रहनेथ्यौं । कुनै बुद्धिजीवि स्रष्टाहरूले वादको नाममा आफ्ना विचार र सिद्दान्तहरू अघि नसारेकोभए हाम्रा आँखा दुर्इको दुर्इ नै रहन्थे ।
र, ‘एकले नअघाउने’ प्रवृत्तिको विकशित रूपलार्इ एक आन्दोलनको रूपमा लिने हो भने केस्रा नेपाली साहित्यमा देखिएको एक आन्दोलन नै हो । र, आन्दोलनको रूपमा साहित्यका विविध आयामहरू देखिनु आफैंमा सकरात्मक कुरा हो । ती आयामहरूले साहित्यकार र साहित्यका पाठकहरूबीच तातो बहसको सिर्जना गर्दछ र जसले सामान्य मान्छेमा कौतुहलता र अनुराग पैदा गर्दछ । यसबाट साहित्यका पाठक बढाउन मद्दत पुर्याउछ ।
    जेभएपनि साहित्यले जीवन र जगतको परिधिभन्दा बाहिर जान सक्दैन । जसरी चलचित्रले मान्छेको कथा बोकेको हुन्छ, र त्यसको लागि मान्छे मरिमेट्छन् ।साहित्यको लागि मरिमेट्नेहरूको खोजी नै वर्तमान साहित्यिक अन्दोलनहरूको लक्ष्य हुनु पर्दछ ।

४,
     हाम्रा अग्रज या समकालीनहरूले केस्राको खोज अनुसन्धान या यसलार्इ नयाँ विधाको रूपमा स्वीकार गर्न हिच्किचाए भने पनि आउने पुस्ताले यसलार्इ अवश्य महत्त्व दिने छन् भन्ने कुरामा कुनै द्विमत हुन सक्दैन । यसको मतलव यो पनि हो कि केस्राको सम्पूर्ण भविष्य समयको हातमा छ । यदि यसले जीवन र जगतको कथा व्यथा, या विम्व बोक्न सक्छ भने यो अवश्य पनि वर्तमान र आउने पुस्ताकोलागि प्रिय भएर जानेछ ।
    यसरी निचोर निकाल्दा कसैले भन्ला ए यसले पनि घाँटीमै कुरा अड्काएर बोल्यो या लेख्यो । ठीक हो भने ठीक र बेठीक हो भने बेठीक हुनु पर्ने । तर सत्य कुरा त के हो भने हामीले सधैं सत्य र सुन्दरताको खोजि गर्नु पर्दछ । गर्ने नै हो भने गुलावको पनि कुरूप तरिकाले टिप्पणी हुन सक्छ । खराव वस्तुहरूमा पनि जीवनपोयगी तत्वहरू विद्यमान हुन सक्छन् । दिनको मात्र हैन रातको पनि आफ्नै किसिमको महत्त्व हुन्छ । जय केस्रा !
                    २८, डिसेम्बर २०१३, केएसए ।

केस्राको आधिकारिक ब्लग www.kesramanch.blogspot.com रहेको छ ।
[ साभार:- http://panchavismrit.blogspot.com/2013/12/blog-post.html?spref=fb ]



No comments:

Post a Comment