भयवाद:- नेपालीले विश्वलाई दिएको उपहार
भयवाद प्रवर्तक:- देश सुब्बा |
१. के हो भय वाद ?
> भयवाद जीवन र जगतलाई हेर्ने विचार हो । एउटा नयाँ आँखा हो । संसार त उही हो, जीवन पनि उही हो । रसियाका रुपात्मकवादी हेनेरी मातिसेले एउटा रातो कोठा बनाएको जस्तो । सधैँ एउटै कोठा हेर्दा हेर्दा हाम्रो जीवन सामान्यकरण भएको हुन्छ । बिहान उठ्यो, त्यही कुरा, दिउँसो त्यही कुरा । अनि नयाँपन दिन उसले कोठा नै सबै रातो पारिदिए । दर्शनमा पनि यस्तै रह्यो । त्यही जीवन र जगत्लाई नयाँ बनाउने नयाँ विचार हो भयवाद ।
२. भयवादको जन्म कसरी भयो ?
> आजभन्दा दशवर्ष अगाडि एउटा उपन्यास लेखेको थिएँ । त्यो पाण्डुलिपि मैले साथीहरूलाई हेर्न दिएँ । एकजना साथीले ‘भयवाद’ भन्ने शब्दमा रातो मसीले कोेरेर दिनुभयो । बुद्धको भाषामा भन्ने हो भने मलाई त्यो शब्द हेरेर ज्ञान प्राप्त भयो । भयवाद एउटा सुन्दर विचार हुन्छ भन्ने निष्कर्षमा पुगेँ । अनि त्यसमा अलि अलि काम गर्न थालेँ । साथीहरूसित छलफल गर्न थालेँ । यसरी भयवादको जन्म भयो । प्रारम्भमा यो कुनै विचार बन्लाजस्तो थिएन । अरुले बुझेको, सुनेको, प्रयोग गरेको जस्तै सामान्य अर्थमा लिने गरेको थिएँ ।
३. भयवादले कुन कुन क्षेत्र कसरी समेटेको छ ?
> भयले सिङ्गो जीवन र जगत् समेटेको छ । त्यसमा पनि विशेष साहित्य, कला, संगीत, समालोचना, चिकित्सा क्षेत्र, दर्शनलाई विशेष समेटेको छ ।
४. यहाँको दृष्टिकोणमा मानवमा कसरी भय पैदा हुन्छ ?
> भय गराउने ज्ञान हो । ज्ञानको स्रोत चेतना, इन्द्रिय, स—संकेतक प्रवृत्ति, शारीरिक बनौट सबैमा निर्भर गर्छ । फ्याटै २ र २ जोड्दा चार भएकोजस्तो हुँदैन । सतहमा त्यसो पनि हुन सक्छ, गहिराइमा हुँदैन । मैले भयवादमा सुत्र बनाएको छु । चेतनाले ज्ञान दिन्छ र ज्ञानले भय । यसले अल्मलाउन सक्छ । उस्तै लाग्छ चेतना, ज्ञान र भय । तर फरक छ । मृत्युको बारेमा थाहा पाउनु ज्ञान हो । थाहा पाएपछि भय हुन्छ । जुन उमेरसम्म मृत्युको बारेमा ज्ञान हुँदैन, तबसम्म मृत्यु भय हुँदैन ।
५. भयको समाधान कसरी गर्न सकिन्छ ?
> भयको समाधान बारेमा मैले भयवाद पुस्तकमा प्राथमिक र माध्यमिक उपचार बताएको छु । मानौ गाउँमा महामारी पैmलियो । अस्पताल छैन । गाउँलेहरू डर मान्न थाले । त्यो भयको समाधान भनेको स्वास्थ्य चौकी, अस्पतालको स्थापना हो । अस्पताल, डाक्टर हुनासाथ भयको आधा समाधान हुन्छ । त्यसैले कुन किसिमको भय हो, त्यसमा समाधान निर्भर गर्छ ।
६. यस वादको बिस्तार र बिकास कसरी भैरहेको छ ?
> राष्ट्रिय, अन्तर्राष्ट्रिय कार्यक्रम गर्ने, छलफल गर्ने, पुस्तकहरू प्रकाशन गर्ने, लेखहरू लेख्ने काम हुँदैछ । २०६९ साल फागुनमा धरानमा उत्तर भारतका ५० अन्तर्राराष्ट्रिय स्तरका साहित्यकारहरू माझ भयवादमा छलफल भयो । असम भारतका रण काफ्लेले प्रत्येक महिना बसिबियाँलो मार्फत विभिन्न स्थान, विभिन्न राज्यमा गएर भयवादको कार्यक्रम गर्दै आएका छन् । जुलाई महिनामा मात्र उत्तर भारतको अरुणाचल प्रदेश, नागालैण्ड, मणिपुर, मेघालय, म्यान्मारमा कार्यक्रम भए । नेपाली, असमीस, मणिपुरी, खासी भाषामा भयवाद सम्बन्धी थुप्रै लेखहरू प्रकाशित भए, हुँदैछ । कार्यक्रमहरूमा बोलिन्दैछ । भयवादको नेपाली, अंग्रेजी पुस्तक छिटै प्रकाशित हुँदैछ । अझै विभिन्न, विश्वविद्यालय, विद्वान्हरूसित विमर्श गर्ने योजना छ । पत्रिका निकाल्ने योजना छ । २०१४ मै मेघालयको राजधानी सिलाङमा भयवादको भारत स्तरको कार्यक्रम हुँदैछ । यसरी नै दिनदिनै यसको विकास र विस्तार हुँदै गइरहेको छ ।
७. यस वादलाई नेपाली साहित्यको मुलधारको लेखन र चिन्तनमा कसरी प्रभावकारी प्रयोग गर्न सकिन्छ ?
> यो एउटा वृहत आकार भएको दर्शन हो । यसलाई यसरी नै साहित्य, कला, संगीतमा प्रयोग गर्नुपर्छ भन्ने छैन । सबै सृजक, चिन्तकको आ—आफ्नै मौलिक शैली हुन्छ । मैले त आदिवासी उपन्यासमा प्रयोग गरेको छु । समालोचनामा प्रविण पुमाको हेच्छाकुप्पा नाटकमा मैले भयवादी समालोचना गरेको छु । यसको प्रयोग यसरी नै गर्दा हुन्छ जस्तो लाग्छ । अरुले पनि यसरी नै गरेका छन् ।
८. यसवादको बिस्तार बिकासको लागि थप योजना ?
> विशेष योजना त केही छैन । भयवादबारे काम गर्नु धेरै छ । विभिन्न मुलुकबाट निम्तो आइरहेको छ । चासो बढ्दै छ । प्रचारप्रसार, व्याख्या हुँदैछ । संस्था दर्ता गर्ने प्रक्रियामा छौँ । भयवाद अध्ययन केन्द्रलाई राम्रो संस्था बनाउने सोच छ । विश्वमा कसरी लिएर जाने यसबारेमा चिन्तनमनन गर्दै छु । आर्थिक स्रोत र साधन भयो भने भयवाद अध्ययन केन्द्र भयवादको ठूलो संस्था बन्न सक्छ । ढिलोछिटो हो विश्वको ध्यान तान्ने छ भन्नेमा हामी आशावादी छौँ ।
९. यस दर्शन बुझन र अध्ययन गर्न चाहने पाठकहरूले कसरी अध्ययन गर्न सक्छन् ?
> सामान्यतया पाठकहरूले भयवाद भन्दा ऐ पहिलेदेखि नै सुनेको, जानेको भन्ने गरेको पाइन्छ । तर त्यसो होइन । हिजो सुनेको भय सतही हो । भयवादमा व्याख्या भएको लम्बाइ, चौडाइ, उचाइ, यसको वर्तमान, भविष्य प्रभाव सबै भएको भय हो । यसलाई बुझ्न पहिला उत्सुकता जाग्नु पर्यो। ए जानेको हो, बुझेको हो भन्दै बसियो भने भयको वास्तविक ज्ञानबाट बन्चित हुन सकिन्छ । भयवादमा लेखिएको, बोलिएको पुस्तक, पत्रिका, लेख पढ्नु प¥यो र आफ्नो धारणा बनाउनु प¥यो । धारणा विना घोगियो भने भयवाद जान्न सकिन्दैन ।
१०. अन्त्यमा केही भन्नु हुन्छ की ?
> “भारतका धेरै विद्वानले भयवाद नेपालीले विश्वलाई दिएको उपहार हो” भन्नु हुन्छ । यो कुरा पहिलो पटक प्रा. डा. टंकप्रसाद न्यौपानेले धरानको राष्ट्र कार्यक्रममा भन्नु भएको थियो नेपालबाट । भारतका नेपाली गैर नेपालीले सक्दो सहयोग गरिरहेका छन् । नेपालका विद्वान्हरूको चासो कम छ । यसलाई सबै मिलेर हुर्काउने बढाउने काम गर्नुपर्छ । भयवादको सिद्धान्त आयो “यो देश सुब्बाले गरेको गरोस’ भनेर बसियो भने ठूलो मौका गुम्छ । यो विचार नेपाल चिनाउने विचार हो । यसमा कन्चुसाइ गरियो अरूले चोरेर लगे हामी हेरेको हेरेकै हुन्छौँ । यस्तो चिन्ता भारतका धेरै विद्वान्को छ, त्यसैले पुस्तक प्रकाशन गर्ने, वितरण गर्ने काम लागिरहेका छौँ । यसबारेमा सकारात्मक सोच सबैले राखे व्यक्ति, देश सबैलाई राम्रो हुन्छ ।
[साभार:- के छ खबर अनलाईन न्यूज इटहरी, २०७१ असार २ गते http://www.kchhakhabar.com
No comments:
Post a Comment