- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 6 April 2013

दीप्स शाह - 'मुस्कानी फूलहरु'

   दीप्स शाह - 'मुस्कानी फूलहरु'
                                                                                     - तिब्वत दर्लामी 
        म सम्झन्छु परार साल कवि दीप्स शाहको 'आगो' कविता सँग्रह खोज्दै बागबजार र पुतलीसडक पूरै चहारेको थिएँ । दुईपटकको प्रयासमा बल्ल भेटाएथेँ 'आगो' । धन्न! यसपाली मुस्कानी फूलहरु खोज्न परेन । शब्दहार क्रियसन्सको दाजु रमेश कँडेल ज्युले लोकार्पण कार्यक्रममा निम्तो गर्नुभएकोले त्यही दिन पाएँ 'मुस्कानी फूलहरु'को मीठो स्पर्श । जुगेखोला धादिङमा जन्मिएकी यि स्रष्टालाई कर्मले डोर्याउदै ल्याईपुर्यायो
काठमाण्डौमा । त्यतिले मात्र पुगेनछ उनलाई पुर्यायो पारी भुमध्येसागरको त्यो इजरायली भुमीमा । हो, ऊनी त्यही इजरायली भुमीबाट भावनाको थुङ्गाहरु टिप्दै कविताका शब्दाकारमा ढालेर सगरमाथाको आँगनमा कोशेली पठाउछिन् कहिले 'आगो' कहिले 'मुस्कानी फूलहरु' ।
      हो, यतिबेला मसँग छ मुस्कानी फूलहरु र यसका माली कवि दीप्स शाहको मीठो सम्झना पनि साथैमा छ । कवि दीप्सलाई भर्चुअल दुनिँया विषेशतः फेसबुक सञ्जालमा देख्न भेटन पाउने म आफुलाई एक भाग्यमानी पाठक ठान्छु । यतिबेला एकपटक आदर्णिय दिदी मनु लोहोरुङलाई सम्झन्छु, दाई खगेन्द्र लिम्बु, शशी थापा सुब्बा ज्यु, कृष्ण वस्ती सर, अशोक पार्थिब सर र सुजीत वस्ती सरलाई सम्झन्छु अनि सम्झन्छु मेरा प्रिय मित्रहरु सुजन बैरागी र साबी श्रेष्ठलाई । उहाँहरुकै डिजिटल सँगतले म पनि साहित्य अनुरागी बन्न पुगेँ र मलाई साहित्य अनुरागी बनायो दीप्सका कविताहरुले पनि ।
       म कविता नबुझ्ने मान्छे । कविता नलेख्ने मान्छे म । तैपनि कविताले तानिरहन्छ । अझ दीप्सका कवितामा त केही जादू छ जसले गर्दा दीप्सकै वरीपरी झुम्न मन लाग्छ । घुम्न मन लाग्छ । परार साल आगोका लप्काहरुले जाँगर तताइरहेको मेरो मन यसपाली मुस्कानी फूलहरुसँग मुस्काउदैछ । फूल उसैपनि सुन्दर हुन्छ । कोमल हुन्छ । फूलमा मुस्कान हुन्छ । फूलको सौन्दर्यमा नलठ्ठिने को होला ? फूलको कोमल मुस्कानमा आकर्षित नहुने को होला ? म पाठक यतिबेला मुस्कानी फूलहरुको सौन्दर्यमा डुबीरहेकोछु । कोमल मुस्कानमा हराईरहेकोछु ।
     यसपाली 'मुस्कानी फूलहरु'मा एक थुङ्गा मीठो मुस्कान प्रा.डा. गोविन्दराज भट्टराईले थपिदिएका रहेछन् सुन्दर भूमिका मार्फत । डायस्पोराका सिर्जनाहरुलाई निक्कै प्रेम गर्ने भट्टराईले कवि दीप्सको काब्यिक शक्तिको ढुकढुकी छाम्दै भनेकाछन्– दीप्सका गह्रा, सुर्का र डिल, थाक्रो, अम्लिसो, चुक घोप्टिएको अँध्यारो, खोल्सी र जरुवा डोबिल्का – यस्ता नेपाली जीवनको जरामा पलाएका शब्द आउँछन् । पढ्दा म बाग्लुङ बजारमा टिम्बुर हालेको चट्नी चाखेको जस्तो मान्छु, अकृतिम र सजताले युक्त । वर्तमान काव्यिक फाँटमा चम्किदै गरेकी एक प्रखर युवा कवि हुन् दीप्स । उनका कविताहरु युगिन अँध्यारोलाई चिर्दै नयाँ विहानीको घुम्टो उघार्न तल्लिन छन् । पुरानो रुढीवादी विचारमाथी कलात्मक अभिब्यक्तिले प्रहार गर्छन् उनी । कवितामा जीवन र जगतप्रतिको निराशावादी धारणाहरुलाई भत्काएर आशापूर्ण सोचाईको फराकिलो राजमार्ग तयार पार्छिन उनी । ऊनी कवितामा कतै राष्टप्रति प्रेमधारा खन्याएर स्वाभिमानी नारी भएर उभिन्छन् कतै सामाजिक कुरिती र कुसँस्कारको खरो बिरोधी भएर निर्भिक प्रतिवादमा उत्रिन्छन् र बिद्रोह बोल्छिन् ।
पढौं यि हरफहरु...
~~~
संस्कारको गरिबीमा
चिन्तनको दरिद्रतामा
स्वाँठहरुको जगजगी छ
बदमासहरुको चिच्याहट छ
त्यहीँनिर
भग्न आँगनको डिलमुनि
केही आँखामा चमक छ
सँगै गुञ्जन पनि छ
स्वरमा सुरिलोपन छ
हो मन्द छ तर सत्य छ
–(त्यो आवाज मन्द छ तर सत्य छ) 
``````
म त देशकी छोरी हुँ 

लालीगुराँस चुमेर तिमीलाई वचन दिन्छु
कि आऊ !
यो जिन्दगीको बहिखातामा
तिम्रै नाम लेख्छु
तर भन्न सक्छौ
तिमीसँग देश बोक्ने काँध छ भनेर ?
–(म त देशकी छोरी हुँ) 

```````
मलाई धर्तीको चौंडा छातीमा
हिलाम्य हुन मञ्जुर छ
धुलाम्य हुन मञ्जुर छ
यहीँका दर्सिन ढुङ्गामा
दर्फरिदै रक्ताम्य हुन मञ्जुर छ
तर कृपा स्वरुपका पुष्पार्पणबाट
निलाम्य हुनु छैन...
–(म सपना देख्छु जरुर) 

```````````
जीवनको मोती फलाउने कोसिस गरेर त हेर
अनि आफैले स्वीकार्नेछौ कि
जिन्दगी हार्नेहरुका निमित्त होइन !
जिन्दगी हार्नका लागि हुँदै होइन ।
– (जिन्दगी हार्नका लागि होइन)

````````````
कसैको झुपडी दहनमा
खेर फाल्ने आगाका लप्काहरुले
आफ्नै अँध्यारो खोपामा
दियालो किन सल्काउदैनौ ?
उज्यालो युगमा
अन्धकार मगज बोकेको मान्छे तिमी!
खोपडीको अँध्यारोले आँखाको ज्योति ढाकिरहेछ
तिमी देख्नै सक्दैनौ
– (सिकायत) 
..........................................
      यति खरो कविको छातिभित्र पनि देश दुख्ने मन छ । आफ्नाको यादमा भक्कानीरहने मुटु छ । सुकोमल हृदय छ र प्रेमिल भावनालाई सुमसुम्याउने कोमल शब्दालँकार छ । परेलीको बाटो हुदै प्रवासी पीडाहरुसँगै बग्ने आँशु पनि छ ।
पढौं यी हरफहरु...
~~~
यो ताजा नीलो शिरीष च्वाक्क म्वाइ खाएर
उँभै हिमालतिर फर्केर
एक झोँका श्वास फ्याँकेको छु
कतै तिमीसम्म पुगोस् यो सुवास
यो शिरीषदेखि त्यो शिरीषसम्म
यो मन देखि त्यो मनसम्म ।
– (नीलो शिरीष) 

`````````
मिल्ने भए यो अढाई सय ग्रामको मुटु
अनगिन्ती टुक्रा पारेर
मनचिन्ते आकारहरुमा ढालेर
नाङ्लो र ढाकरहरुमा
खर्पन र पोरुङ्गोहरुमा
नभए पटुकीको भित्री गाँठोमा पोको पारेर
हिमालदेखि उँधो पठाइदिन्थेँ
तराईदेखि उँभो लगाइदिन्थेँ
– (देश दुख्ने मुटु) 

``````````
यो सग्लो हृदय कति ठाउँमा चिरा पर्छ
प्रिय!
जैतुनले आरु सम्झाउँछ
पैयुँ सम्झाउँछ
सम्झाउँछ तिमीसँगको पीडादायी बिछोड
मलाई जैतुनको फूलले रुवाउँछ
बुरुरु झर्ने यो निर्दोष पातपातले रुवाउँछ !
– (मलाई जैतुनको फूलले रुवाउँछ) 
.........................
       यतिबेला मुस्कानी फूलहरु बजारमा छन् । गोदावरी बुक्स सेन्टर बागबजारले प्रकाशन गरेको यो पुस्तकको नेपाली मुल्य रु. १२५ रहेकोछ । साथै पाण्डुलिपी बुक्सले अनलाईन मार्फत विश्वभर बिक्रीको सहज ब्यवस्थापन गरेको छ ।
                                             प्रस्तुती:- तिब्वत दर्लामी 
[दृष्टान्त:- प्रस्तुत लेख कवियत्री दीप्स शाह ज्यूको अनुमतिमा यहाँ प्रकाशन गरिएको हो]

[ “मुस्कानी फूलहरु” पाईने स्थान:- श्री गोदावरी बुक्स सेन्टर (पद्म कन्या क्याम्पस नजिकै), बागबजार, काठमाडौँद्वारा प्रकाशित युवा पुस्ताकी एक सशक्त कवि दीप्स शाहको दोस्रो कविताकृति ‘मुस्कानी फूलहरू’ श्री गोदावरी बुक्स सेन्टरका साथै हिमालयन बुक सेन्टर (बागबजार), पाठ्य सामाग्री केन्द्र (जामेमस्जिद, घन्टाघर), प्रगति पुस्त सदन (पुतलीसडक), रत्न पुस्तक भण्डार (बागबजार), पैरवी बुक्स हाउस (पुतलीसडक), सांग्रिला बुक्स, बागबजार, काठमाडौँ लगायतका पुस्तक पसलहरूमा उपलब्ध छ । साथै केही समयमै देशका प्रमुख शहरहरूका पुस्तक पसलहरूमा पनि बदर्स बुक्सले ‘मुस्कानी फूलहरू’लाई पुर्याउने भएको छ । मूल्य रु.१२५।– मात्रै ।]