- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 18 January 2014

दस्तावेज:- भूमिका /टिप्पणी

पुस्तक विवरण 

कृति:-                      :केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज 
प्रकाशित मिति:-      :बैशाख २०७० [पहिलो संस्करण]
प्रकाशित प्रति:-        :६००/-
प्रकाशक:-                :केस्रा लेखन मञ्च,

                                नेपाली केस्रा मञ्च नेपाल
                                नेपाली केस्रा मञ्च मलेसिया
                                नेपाली केस्रा मञ्च यु.ए.ई.
                                नेपाली केस्रा मञ्च कतार
सर्वाधिकार:-           :प्रवर्तक र प्रवक्ता त्रयमा
आवरण कला:-        :मनि राई “गोठाले”
कम्प्युटर:-              :जेरोन इन्फोसिस,ताल्छिखेल,ललितपुर
मुद्रण:-                   :स्थापित प्रेस,ताहाचल,काठमाडौं
ISBN:-                  :९७८-९९३७-२-६२३०-९
मूल्य:-                    :रू १०१/-


****   *****  *****     *****

  म मौलश्रीको यस आविष्कारक चेतनाको प्रशंसा गर्दछु 
                                       [पृष्ठ क-ङ ]
                                                                               - डा. गोविन्दराज भट्टराई

         नेपाली साहित्यमा मोतिराम भट्टकै पालादेखि अनेक प्रकारका विचार–चिन्तन तथा भाषिक एवम्
साहित्यिक आन्दोलनहरू चल्दै आएका छन् । विश्वसाहित्य र कलाको इतिहास पनि यस्तै आन्दोनहरूको एउटा लामो सृङ्खला हो । मैले यी कुरालाई काव्यिक आन्दोनको परिचय (२०६१) मा सविस्तार प्रस्तुत गरेको छु ।
         आज मलेशियामा रहेका स्रष्टा मौलश्री लिम्बूले एउटा नयाँ कुराको प्रस्ताव लिएर आएपछि म यस्ता आन्दोलन, विचार र फड्काहरू सम्झँदै छु । नेपाली साहित्यमा भएका आन्दोनहरूको यहाँ पुनर्लेखन गर्न सक्तिनँ तर गतवर्ष नै मौलश्रीले केस्रा विधाको प्रस्तावना ल्याई त्यसबारे अनेक अभिमत बटुल्न थालेदेखि नै म त्यसतर्फ सचेत रहको थिएँ । वास्तवमा यसको प्रस्तावना आए लगत्तै “नवचेतनाग्रह”को भूमिका लेख्ता नै मैले केस्राको नाम लिएको छु । त्यसपछि यता विचार आन्दोलनसँग जोडिएका रचना र कार्यपत्रहरूमा पनि मैले केस्राको उल्लेख गर्दै आएको छु ।
        मैले बुझेर त्यो गरेको थिइनँ । यद्यपि बेलाबेलै फेसबुकतिर उड्ने केस्राहरूको आस्वादन गर्दै आएको हुँ । नेपाली काव्य कविता र विचारहरू अनेकौँपल्ट आयातित र निर्मित दुवै प्रकारका छन् । २०२० सालको आयामेली आन्दोलनदेखि लिएर २०६० को रङ्गवादी समूहमा पुग्दा नयाँ पुराना धेरै आन्दोलन र विचार थपिएका छन् । भाषा साहित्यको इतिहास सधैँ अपूर्णताको रहेछ । नयाँ कुराको आविस्कार भइरहनु पर्ने रहेछ । तिनैमध्ये एउटा सोच हो केस्रा मौलश्रीले प्रसार गरेको केस्राको घोषणा, यसका मान्यता संरचना, शील्प, विषयवस्तु आदि पढेपछि मलाई के लागेको छ भने—

(क) नेपाली साहित्यमा एउटा नयाँ फड्को ल्याउने विचार आन्दोलन आयामेली थियो जसको आरम्भ दार्जेलिङमा भयो । अहिले यता आएर देशको सीमाना नाघी अन्य भूमिबाट पनि नेपाली साहित्यबारे चिन्तन हुन थालेको छ । हङकङमा उठेका भयवाद र समुच्चविचार नाम चलेकै प्रस्तावना हुन् । त्यस्तै बेलायतबाट नवचेतनाग्रह प्रस्तावित भयो र त्यही समूहले युद्ध साहित्य र डायास्पोरा बारे पनि घोषणापत्र जारी गर्ने भएका छन् भने मौलश्रीको केस्रा देश बाहिर बस्ताबस्तै नेपाली वाङ्मयको संरचनाबारे खास गरी कविता विधामा सोचिएको एउटा नयाँ विचार हो । यसरी नेपाली साहित्यको कुरा गर्दा अब मलेशिया पनि जोडिन पुग्ने छ ।

(ख) केस्राको संरचना विषयवस्तु सबै कुरा मौलश्रीको प्रस्तावनाले प्रस्तुत गरेकै छ । त्यसमा म केही भन्न असमर्थ छु । तर एउटा कुरा के भन्दछु भने— गजल— उर्दू, हिन्दीबाट आयो, हाइकु र ताङ्का जापानीबाट आए, सिजो कोरियनबाट आयो भने रुवाइ अरबदेखि हिँडेर एक हजार वर्षपछि हाम्रोमा पनि आइपुगेको छ । अहिले विश्व परिस्थितिबाटै साहित्यकला सङ्गीतमा प्रभाव लिने र प्रभाव पार्ने समय आएको छ । मौलश्रीले केस्रा विधाको परिकल्पना र निर्माण गर्दै त्यसको सिद्धान्तिकरण गर्दै हिँडेकाले मेरो पनि यसप्रति अभिरुचि बढ्दै गएको हो । यो पनि एउटा मौलिक नेपाली सोच र सिर्जना हुनेछ भन्नेमा म विश्वस्त छु ।
       केस्रालाई विधा भन्नु आवश्यक छैन जस्तो लाग्छ किनभने यो विधा नभएर कविताको एउटा स्वरूप मात्र हो । बरु यसलाई केस्राकविता अथवा केस्रा सिर्जना भन्दा राम्रो हुन्छ होला ।

[ (ग) केस्रा निर्माणमा अनुप्रास संयोजनादेखि लिएर यसका अक्षरहरू गन्र्नुपर्ने विशेष विधानको प्रस्तुति भएकाले गर्दा, तिनमा लयको उत्पादन पनि गर्नुपर्ने भएकाले शास्त्रीय कवितामा झैँ रचनाकारले गम्भीर ध्यान दिनुपर्ने देखिन्छ । तर यसको एउटा राम्रो पक्ष के देखिन्छ भने आजको यान्त्रिक जीवनमा टाढा अथवा एक्लै अथवा कुनै ठाउँमा रहेको बेला लामो समय उभार्न नसकिने स्थितिमा पनि साहित्यको चिन्तन र सिर्जनातर्फ केस्राले प्रेरित गर्नेछ । मैले मौलश्री लगायतका जीवन देवान,दिलिप ‘सागर’,कृष मगर,दान राई ‘झरी’’, महादेव अधिकारी, अनिरुप रसाईली, राज आङ्दम्बे, भक्तिप्रसाद पौड्याल, कादम्बरी गुरुङहरू फेसबुकमा प्रवाहित केस्राहरू पढ्दै आनन्द मान्ने गरेको छु । यसको क्रमिक रूपले विस्तार भइरहेको देख्तै छु । नयाँ पुस्ताले यसलाई पक्रिन थालेको रहेछ । यसको शैद्धान्तिक पक्ष र अन्य प्रकारका अघि उल्लेख गरिएका कविताका अनेक स्वरूपसँग अनि संस्कृत काव्यको छन्द विधानसँग तुलनात्मक अध्ययन गर्न बाँकी नै छ । त्यो कुरा गम्भीर अध्येताले गर्लान् तर मलाई अत्यन्तै ठूलो प्रशन्नता भएको छ । किनभने ] >दस्तावेजमा छुटेको वाक्यांश]

     यतिखेर टाढा रहेका मेरा पूर्वेली भाइले नेपाली काव्य कवितामाथि चिन्तन गर्दै, विचार गर्दै केस्राको सम्भावनाको चिन्तन गर्दै यसको घोषणापत्र गरिसके, यसमा धेरै स्रस्टा उनिएर आइसके यस ऐतिहासिक अभियानका लागि म उनलाई हार्दिक रूपले बधाई दिन चाहन्छु । उनले यो सम्भावनाको द्वार खोलिदिएकाले गर्दा यस्ता केस्राहरूको आस्वादन गर्न पाइन्छ:-
चेतनको आँधि किन छेकिन्छ
त्यसैले त आशाहरू रेटिन्छ

    कृष मगरको यो केस्राले केस्रा सिर्जनालार्ई अब रोक्नु हुँदैन भन्ने सन्देश दिएको छ । म पनि मौलश्री भाइलाई मलेशियामा रहेर पनि यसरी नेपाली वाङ्मयको चिन्तन गर्ने भाइलाई समयले सम्मान गरोस्, इतिहासले यथास्थानमा राखोस् भन्ने कामना गर्दै आज यहीँ रोकिन्छु ।

२०६९ चैत्र १३                                        प्राध्यापक (अङ्ग्रेजी)
ट्याङ्लाफाँट, कीर्तिपुर                       त्रिभुवन विश्वविद्यालय
tu.govinda@gmail.com                         काठमाडौँ, नेपाल

******     ********     *********   *********   ********

टिप्पणी 
                             केस्रा विधा समयको माग
                                                                                       - सुरेन्द्र लिम्बू ‘परदेशी’
          बरिष्ठ विद्वान डा. इन्द्रबहादुर राईज्यूले भने झैँ प्रत्येक युगमा समयानुकुल नव चेतनाको जन्म हुने गर्दछ । हिजोका दर्शनहरुले भोलीका जीवन चलिरहनेछन् भन्न सकिन्न । उदाहरणार्थ:– कार्ल माक्सको दर्शन परिमार्जित भएर ‘न्यू माक्र्सिज्म’ आएको छ । फ्रायडको दर्शन परिमार्जन भएर ‘न्यू फ्रायडिज्म’ आएको छ । यस्तै, लेनिन, कामु, सात्रे, एंगेल्स, हाइडिगर जस्ता अनेक दार्शनिकहरुका दर्शनहरु समय सापेक्ष परिमार्जित भएका छन् । यसको मतलब सबैका दर्शनहरु शत्प्रतिशत पूर्ण हुँदैनन् केही पक्षहरु छोडिएका हुन्छन् भन्ने कुरा पनि यसले पुष्टि गर्दछ । इंलैण्डका रेमण्ड विलियम्स, अल्थ्यूजर, इटलीका ग्रामस्की जस्ता विद्वानहरुले तिनै दर्शनलाई समयानुकुल परिमार्जन गरेर विश्वको सम्मान पाएका छन् । विश्वका सर्वश्रेष्ठ वैचारिक दर्शनका प्रतिपादक काण्टले पनि आफ्नो वैचारिक दर्शनमा केही कमजोरी छाडेका हुनाले नै अहिले ‘न्यू काण्टिज्म’ आएको हो भनि बरिष्ठ विद्वान डा. राईज्यू बताउनु हुन्छ । वास्तवमा पुराना कुराको परिमार्जन या नया कुराको जन्म समयको माग हो ।
       राष्ट्रकवि माधव घिमीरेज्यूले भने जस्तै आजको विश्व चाँच्चाँडो गतिमा चलिरहेको छ । यिनै रफ्तारको मझधारबाट साकार पार्न बाँकी सपनाहरुका लागि समयका बियाडहरुमा उर्वर सिर्जनाका बीज छर्न सँधै हामी प्रयत्नशील छौं । भयवादका प्रतिपादक श्री देश सुब्बाज्यूले परिभाषा गरे जस्तै भयले लखेटिएको चेतना बोकेर जीवन भोगाईको अनुकुलता खोज्दै प्रत्येक पल हामी प्रतिकुलताबाट भागिरहेका हुन्छौं । यस्तै समयको उतारचढावहरुमा पुराना कुराहरु लोप हुने, परिमार्जित हुने वा समयले मागेमा नया कुराहरुको जन्म हुने गर्दछ ।
       वर्तमान नेपाली भाषा–साहित्यमा विभिन्न नविन चेतना र स्रष्टा सर्जकहरुको आगमन बढ्दो देखिन्छ । केन्द्रिकृत प्रभूत्ववादी परिपाटीलाई तोड्दै मोफसलमा पनि प्रभावशाली गतिविधिहरु हुन थालेका छन् । वर्तमान नेपाली भाषा–साहित्यमा देखापरिरहेका पायः सबै दर्शनहरु पनि केन्द्र बाहिरबाटै निर्देशित वा सन्चालित देखिन्छन् । अझ भन्ने हो भने केन्द्र बाहिरबाट मात्र होइन नेपाल बाहिर परदेशीएकाहरुबाटै चलिरहेका देखिन्छन् । यसै सन्दर्भमा अहिले मलेसियाबाट श्री मौलश्री लिम्बूज्यू ‘केस्रा’ विधाको घोषणा पत्र लिएर नेपाली भाषा–साहित्यमा देखापरिरहेका छन् । समयको गतिशीलता र मानव जीवनका ब्यस्ततालाई मध्यनजर गर्दै छोटो तर चोटिलो अर्थपूर्ण बिम्ब बोकेको सिर्जना गर्ने केही निर्धारित निति नियम बनाएर श्री लिम्बूज्यूले ‘केस्रा’ विधाको घोषणा गर्नु भएको छ । यो वहाँले नेपाली भाषा–साहित्यलाई समय सापेक्ष गर्नु भएको न्याय अथवा लाउनु भएको गुन हो भन्ने मलाई लाग्दछ । हुनत यो वहाँले प्रतिपादन गर्नु भएको विधा मात्र नभएर समयको माग पनि हुन सक्छ । यद्यपी परदेशी जीवनका अनेक जटिलताहरुका बावजुद पनि समयलाई अनुभूत गर्न सक्ने अग्रगामी चिन्तनका धनी श्री लिम्बूज्यू नेपाली भाषा–साहित्यका लागि प्रशंसाका पात्र हुन् भन्ने मेरो निक्र्योल छ । अहिले ‘केस्रा’ विधालाई नेपाली भाषा–साहित्यमा प्रभावकारी तवरले प्रयोग गर्दै जाने हेतुले ‘केस्रा’ विधा सँग सम्बन्धित विभिन्न सामाग्रीहरु संकलन गरि ‘केस्रा दस्तावेज’ प्रकाशन गर्न लागिरहेको जानकारी दिंदै दुई शब्द लेखि दिने आग्रहका साथ श्री मौलश्री लिम्बूज्यूले पाण्डुलीपी पठाई दिनु भएकोमा म हर्षित बनेको छु । यो प्रकाशनले नेपाली भाषा–साहित्यमा अवश्य कुनै महत्वपूर्ण अर्थ राख्नेछ भन्ने मलाई लाग्दछ । प्रकाशोन्मुख दस्तावेजका केही उल्लेखनीय ‘केस्राहरु’ तपशिलमा उजागर गर्नु म सान्दर्भिक ठान्दछु । जस्तै :–

“अधिकार, 

लडेर जाउ
खोसेर खाउ

मर्नु छँदैछ
हक जताउ 


ब्यर्थै नजाउ
दृढ समाउ ।
- मौलश्री लिम्बू, 

“देश गरीब” 

बोकी पासपोर्ट हरियो
एयरपोर्टमा झरियो

अध्यागमनले रोक्दै सोधे
कुन मुलुकको परियो ?

देश गरीब ठहरियो
दिए जति काम गरियो ।
        – जीवन देवान ‘गाउँले’ 


‘पुकार” 

हत्केलाले सूर्य जब छेकिन्छ
तव मात्र संबिधान देखिन्छ

तिरस्कृत छौं हामी नियतले
लङ्गडाका बस्ती भनि हेपिन्छ

चेतनाका आँधी किन छेकिन्छ
त्यसैले त आशाहरु रेटिन्छ 

– कृष मगर, 

        उपरोक्त केस्राहरु चेतनशील मथिंगलका सजीव बिम्बहरु बोकेर चलायमान उभिएका देखिन्छन् । त्यसैगरि अन्य केस्राहरु इक्शाहाङ् चेम्जोङको केस्रा ‘वेदना’, केशर पारदर्शीको ‘हैरान’, जी.के. श्रेष्ठको ‘दोधार’, डम्बर तुम्बापो ‘बुद्ध’को ‘बर्बादी’, झरिदान राईको ‘हराउँदै छ’, दिलिप ‘सागर’ राईको ‘सिम्मा’, पासाङ तमु ‘बिरही’को ‘चरी’, भक्तिप्रसाद पौड्यालको ‘सन्तुष्टि’, भरत अधिकारीको ‘जिन्दगी’, मनकुमार लिम्बू ‘तुखेसा’को ‘जीवन’, महादेव अधिकारीको ‘गौरव’, स्याङ्जाली रमेशको ‘निष्ठुरी’, राज आङ्देम्बे ‘सहयात्री’को ‘मान्छे’, जे.बि. राई ‘रुमानी’को ‘क्रान्ति’, रोमन ‘पीडा’को ‘माया’ उल्लेख्य देखिन्छन् ।
      प्रकाशोन्मुख ‘केस्रा दस्तावेज’का अधिकांश केस्राका स्रष्टा सर्जकहरु हाल नेपाल बाहिरै रहेको देखिन्छ । जसले बिकाशका नविन प्रविधिहरुले संसार साँगुरो बनाउँदै लगेको पनि पुष्टि गर्दछ । यसरी जीवनका विषम परिवेशमा पनि नेपाली भाषा–साहित्यमा साधनारत स्रष्टाहरुको उचित मुल्याङ्कन हुनु जरुरी देखिन्छ । यस्ता नेपाली भाषा–साहित्यका अन्य धेरै दर्शनहरु नेपाल बाहिरबाटै चलिरहेका देखिन्छन् । जस्तै:– श्री देश सुब्बाज्यूको ‘भयवाद’ हङकङ, डा. मधु ‘माधुर्य’ज्यूको ‘क्वान्टम साहित्य” रुस, श्री मिजास तेम्बेज्यूहरुको ‘नव चेतना ग्रह’ ब्रुनाई, श्री काङमाङ नरेश ज्यूहरुको ‘युद्ध साहित्य’ बेलायत, श्री खगेन्द्र पन्धाकज्यूको ‘अमूर्तबोधी दर्शन’ थाइलैण्ड उल्लेख्य छन् ।यो दशक नेपाली भाषा–साहित्यमा केन्द्र बाहिरका लागि तुलनात्मक हिसाबले मलिलो साबित भएको देखिन्छ । यस्तो उर्वर समयमा ‘केस्रा दस्तावेज’ प्रकाशनले नेपाली भाषा–साहित्यप्रेमीहरुलाई सहजताका साथ आफ्नो बनाउन सकोस भन्ने हार्दिक शुभकामना।
हाल:- भारत
अध्यक्ष:- अन्तर्राष्ट्रिय परदेशी साहित्यिक समूह।
Email:- skparadeshi@yahoo.com

No comments:

Post a Comment