- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 13 March 2014

विविध:- वर्णविन्यास

        वर्णविन्यासका समस्या र चुनौती
                                                            - विन्दु बस्याल 


- विन्दु बस्याल 
       वर्णविन्यास वर्णहरूको रखाइक्रम हो । वर्णविन्यास भन्नाले वर्ण, अक्षर, शब्द, मात्रा वा ध्वनिलाई सार्थक बनाई अर्थात् स्पष्ट र उपयुक्त अर्थ आउनेगरी क्रमपूर्वक व्यवस्थित रूपमा राम्रोसँग मिलाएर प्रयोग गर्नु भन्ने बुझिन्छ । यस अन्तर्गत वर्णहरूलाई त्रुटिरहित र उपयुक्त चिन्हहरूको उचित प्रयोग गरी लेख्ने योजना र नियमहरू समेटिन्छन् । शब्द निर्माण र वाक्य गठनजस्ता भाषिक अभिव्यक्तिका क्रममा वर्णविन्यासले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यसलाई नेपालीमा हिज्जे, खिप्ती, वर्तनी, अक्षरी पनि भनिन्छ ।
      अहिले वर्णविन्यास एक समस्याको रूपमा देखिएको छ । नेपालको अन्तरिम संविधान-२०६३ ले यहाँ बोलिने सबै मातृभाषालाई राष्ट्रभाषाका रूपमा स्वीकार गरिसकेको छ । नेपाली भाषा राष्ट्रभाषाका साथै सरकारी कामकाजको भाषाका रूपमा रहेकाले यहाँ बसोबास गर्ने सबै जातजाति र भाषाभाषीका लागि बाध्यात्मक भाषा बन्न पुगेको छ । नेपाली भाषा बोल्न सजिलो छ, तर लेख्न भने
वर्णविन्यासका नियमहरूले गर्दा केही झन्झटिलो देखिन्छ । वर्णविन्यासका विभिन्न नियमको पालना गरी लेख्दा भाषा शुद्ध र स्पष्ट हुन्छ । नेपाली वर्णविन्यासमा देहाय बमोजिम क्षेत्रहरू रहेका छन्-ह्रस्व र दीर्घसम्बन्धी त्रुटिहरू

श/ष/स को प्रयोग
ब/व को प्रयोग
य/ए को प्रयोग
व/ओ को प्रयोग
ऋ्र्र्र/रि को प्रयोग
छ/क्ष्य को प्रयोग
हलन्त/अजन्त को प्रयोग
शिरबिन्दु/चन्द्रबिन्दुको प्रयोग
यि र इ को प्रयोग
ग्यँ र ज्ञ को प्रयोग
पञ्चमवर्णको प्रयोग
पदयोग, पदवियोग
चिन्ह प्रयोग

      नेपाली भाषाका कथ्य र लेख्य गरी दुई रूप छन् । लेख्य भाषामा त्रुटिपूर्ण वर्णविन्यासलाई भाषाको अशुद्ध प्रयोगका रूपमा लिइन्छ । शुद्ध नेपाली भाषाको प्रयोग गर्नु भनेको नै वर्णविन्यासको समुचित प्रयोगमा ध्यान पुर्‍याउनु हो । त्रुटिपूर्ण वर्णविन्यासले कतिपय अवस्थामा भाषाको प्रयोगलाई अर्थको अनर्थ पनि पार्न सक्छ । जस्तै:- दिन-दीन, फूल-फुल, कोश-कोस, दिशा-दिसा, शव-सब, गइन-गइनँ-गइन्, क्षमा-छेमा, वाग-बाघ, परिमाण-परिणाम, आधी-आदि, खाली- खालि, वारि-बारी, सीता-सिता, ल सुन- लसुन यस किसिमका श्रुति समभिन्नार्थक शब्दले फरक-फरक अर्थ बताउँछन् । नेपाली भाषामा मात्रा पनि फरक-फरक रूपमा लेखिन्छ, जस्तो:- तर्कुले, वर्धाने, दाहिना बाइमात्रा, शिरबिन्दु, चन्द्रबिन्दु र दवासबिन्दु आदि । यस किसिमबाट विभिन्न आधारमा वर्णहरूलाई समुचित रूपमा व्यवस्थित ढङ्गले प्रयोग गर्ने व्यवस्थाको नाम नै वर्णविन्यास हो । त्यो नियम लेख्य चिन्हमा पनि लागु हुन्छ । जस्तो:- अल्पविराम, अर्धविराम, उद्गार, सम्बोधन, विस्मयादिबोधक आदि ।
    उपयुक्त उदाहरणहरूले वर्णविन्यासको महत्त्वलाई झल्काएका छन् । वर्णविन्यास यति धेरै महत्त्वपूर्ण हुँदाहुँदै पनि समस्याका रूपमा अल्झीएको छ । आजभोलि पुराना वर्णविन्यासका नियमहरूलाई त्यागेर विद्यालय तहमा नयाँ नियमको परिपालना गराउने कोसिस गरिनु र उच्चशिक्षामा भने नयाँ नियम लागु हुन नसक्नुले गम्भीर समस्या उत्पन्न भएको छ । शिक्षक र विद्यार्थीबीच नै वर्णविन्यासगत अन्योल उत्पन्न हुनुका साथै विमातृभाषी विद्यार्थीहरूका लागि त झनै जटिल समस्या बन्न पुगेको छ । वर्णविन्यास नेपाली भाषामा मात्रै सीमित गरिनुले पनि यो समस्या टड्कारो बन्दै आएको हो । नेपाली विषयमा बाहेक अन्य विषय जस्तै:- सामाजिकशास्त्र, शिक्षाशास्त्र, राजनीतिशास्त्र, विज्ञान, पर्यटन, पत्रकारिता, कानुन, वाणिज्य, संगीत, कृषि लगायतका अन्य विषयमा जसरी मन लाग्यो, उसरी नै वर्णविन्यासको प्रयोग गरिनुले पनि वर्णविन्यासको महत्त्व घट्न गएको हो । सूचना तथा सञ्चारमा समेत वर्णविन्यासको कमै ख्याल गरिनु र विज्ञापन प्रचार-प्रसारका लागि लेखिएका होर्डिङबोर्डहरूमा वर्णविन्यासगत त्रुटिहरू भेटिनुले नेपालीबाहेक अन्य विषयमा वर्णविन्यासको ख्याल नगरेका थुप्रै प्रमाण पाइन्छन् ।
    वर्णविन्यास नेपाली भाषाको लागि चुनौती बनेको छ । हिजोसम्म प्रयोग गर्दै आएको वर्णविन्यास आज गलत सावित हुनपुग्दा कैयौँ नेपाली भाषाका प्रयोक्तामा असहजता देखिएको छ । हिजो लेखिने ह्रस्व आज दीर्घ लेखिनु र हिजोको दीर्घ आज ह्रस्व हुनुले भाषा वैज्ञानिकहरूमा दुविधा उत्पन्न भएको छ । एउटै नियमको प्रयोग गर्न नसक्दा विद्यार्थीहरूमा अन्योल उत्पन्न हुनुका साथै वर्णविन्यासप्रतिको रुचि र यसको महत्त्व घटेको छ । हिजो पदयोग गरेर लेखिने शब्दहरू आज पदवियोगको अवस्थामा प्रयोग हुनथालेपछि प्रत्येक व्यक्तिलाई आफ्नो नाम लेख्नसमेत एकपटक सोच्न बाध्य बनाएको छ । जस्तो:- रामप्रसाद, हरिप्रसाद जोडेर लेखिने यी नाम आजभोलि राम प्रसाद, हरि प्रसाद गरी छुट्टएिका छन् । यसरी नै हिजो लेखिने संख्यावाचक नाम, जात, थर, पेसा बुझाउने शब्दहरू आज कतै ह्रस्व र कतै दीर्घ नै भेटिन्छन् । नेपाली साहित्यमा रहेका असंख्य कृति, रचना, समालोचना आज नयाँ नियमसँगै गलत ठहरिएका छन् । यसैले के सही र के गलत भन्ने कुरा नै वर्णविन्यासको चुनौती हो । वर्णविन्यासका नियम परिपालन गरी लेखिएका ती कृतिमाथि प्रश्नचिन्ह उठ्नु भनेको नै नेपाली भाषाभाषीमाथि र भाषाको मानक रूपप्रति प्रश्न उठ्नु हो ।
     अहिलेको सन्दर्भमा वर्णविन्यास ज्वलन्त समस्या र गम्भीर चुनौतीका रूपमा देखिएको छ । यस सन्दर्भमा वर्णविन्यासलाई ध्यान नदिई अध्ययन-अध्यापन गराउनाले लेखाइमा पर्ने गम्भीर असरप्रति ध्यान केन्दि्रत गर्नु जरुरी देखिन्छ । वर्णविन्यास नेपाली विषय र नेपाली भाषीको मात्र समस्या नभएर यो सबै देशवासी, जातजाति, वर्ग, समुदायको समस्या हो । यस समस्याको समाधानका लागि आआफ्नो ठाउँबाट सबैले सहयोग गर्नुपर्छ । भाषिक आन्दोलन गरेर वर्णविन्यासका राम्रा पक्षलाई जोगाउनुपर्छ । यसो गर्न सकिएन भने नेपाली वर्णविन्यासको महत्त्व, गरिमा र नेपाली वर्ण व्यवस्थामा आँच आउनेछ । वर्णविन्यासको व्यवस्थाले नेपाली भाषालाई परिष्कृत, परिमार्जित र समृद्ध तुल्याउनमा सहयोग पुर्‍याएको पाइन्छ । यसैले वर्णविन्यास सम्बन्धी व्यवस्थामा विशेष ध्यान पुर्‍याउनु आवश्यक छ ।

[लेखक नेपाली केन्द्रीय विभागअन्तर्गत एमफिलकी विद्यार्थी हुन् ।
[साभार:- कान्तिपुर दैनिक पत्रिका       प्रकाशित मिति:-६ असार २०७०
 http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=298665

No comments:

Post a Comment