चेतना चक्र

अविस्वासिलो पनि लाग्न सक्छ । यो माध्यमभन्दा उता मानव मस्तिष्कमा प्रवेश गर्ने अवचेतनाका टुक्राहरूको अरु माध्यम छैन । त्यसैले अविस्वासिलो हुँदाहुदै विस्वास गर्नुको विकल्प पनि छैन । कुनैपनि खोज, आविष्कार सबै यस्तै किसिमको संभावनाहरूबाट शुरु भएको हुन्छ । विचारकले विचार दिएपछि त्यसमा खोज, अनुसन्धान शुरु हुन्छ । चेतना चक्रको पनि स्पष्ट आधार बनेको छैन भन्दैमा असंभव भनिहाल्न पनि सकिन्दैन । जनसंख्या वृद्धिको दरमा यो अवचेतनाका टुक्राहरू गुणात्मक हिसाबले मानव मस्तिष्कमा प्रवेश भएका हुन्छन् । मन, भावना, प्रकाश, ध्वनी सबै माध्यमबाट हिँड्ने भएकोले चेतना पनि अवश्य माध्यमबिना हिँड्न सक्दैन । यसलाई माध्यम नै चाहिन्छ । चेतनालाई हिँड्न चित्र नं. ६ मा देखाए जस्तै आधार चाहिन्छ । जब गतिको कुरा हुन्छ निश्चितै त्यहाँ घर्षण भैरहेको हुन्छ । यहाँ चेतनाले आधार रेखासँग घर्षण गर्दछ । चेतना पनि ठोस वस्तु जस्तै आधारबाट हिँड्दछ । शून्यमा केही वस्तु पनि हिँड्न सक्दैन ।
अर्को अर्थमा अवचेतनाका टुक्राहरू खुल्ला आकाशमा तैरिन्दा पनि त्यसलाई धरातल दिने तत्वसँग घर्षण हुन्छ । यी टुक्राहरू उड्दै उड्दै सिगमेन्ट फ्राइड, एडलर, कार्ल युङग र ज्याक लकाँले भनेको मानव मस्तिष्क "ब्ल्याक होल" मा प्रवेश गर्छन्, मानव मस्तिष्कमा थुप्रिन्छन् र चेतना बन्छन् । फ्राइडको चेतनाको आविष्कार पछि एडलर, कार्ल युङग, ज्याक लकाँहरूले आ-आफ्ना बाटो समाए । मान्छेको मृत्युसँगै चेतना फेरि विभिन्न अवचेतनाहरूमा टुक्रिन्छ र खुल्ला आकाशमा तैरिन थाल्छ । यसरी चेतनाको टुक्राहरूबाट चेतनाको टुक्राहरूमा आइपुग्ने वृत नै चेतना चक्र हो । पानीको जीवन चक्र जस्तै चेतनाको चक्र हुनुपर्दछ ।
- देश सुब्बा