- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 2 July 2013

समिक्षा:- भुपेन्द्र तिम्सिना

         फ्युजन र कन्फ्युजनमा केस्रा


समीक्षक:- भुपेन्द्र तिम्सिना 
        मान्छेको नविनत सोचसंगै दिन दिनै नेपाली साहित्यको आयतन फैलिरहेको छ । जसबाट यसको शिर पनि अग्लो बनेको छ । नयाँ तरिकाले सोच्नेहरुले सृजनामा नयाँ नयाँ आयाम थप्छन् । एकछिन पूर्वी नेपालपट्टी फर्कने हो भनें आयमेली, राल्फा, सडक कविता, भोक कविता, झर्राेबाद, बुटपालिस हुँदै सृजनशिल अराजकता, रंगबाद, उत्तरवर्ती सोच, तर्कबाद, मुक्त अभियान, छोक (एकलाइने कविता), गेडी, झण्डा कविता, विना शिर्षकको कवितासहितका नविनतम अवधारणाले नेपाली साहित्यको आयतन फराकिलो
बनाउनमा ठुलो मद्धत गरेको देखिन्छ ।
      बिदेशी भूमिमा कडा परिश्रम बेचेर पनि नयाँ नयाँ अवधारणा जन्माउनेहरु बढीरहेका छन् । भयबाद, रेखा कविता, समुच्च विचार, केस्रा लगायतका लेखनका अवधारणा नेपालीहरुले बिदेशमा बसेर जन्माएका छन् । त्यसमध्येको हालसम्मको कान्छो अवधारणा हो केस्रा । मुलत त्यही केस्रामाथीको अन्तरक्रियाको सन्दर्भ हो । नेपाली साहित्य समाज उर्लाबारीले संचालन गर्दै आएको सृजना अनुशीलनमा ०७०
असार ७ मा केस्राका बिषयमा अन्तरक्रिया भयो ।
      मुख्यत मलेशियामा रोजगारीका लागि गएका नेपाली सृजनशिल मनहरुले फरक अवधारणाका रुपमा ‘केस्रा’ नामकरण गरेर त्यसको लेखन अघि बढाएका छन् । केस्राको सोचलाई फेसबुकमार्फत चर्चा परिचर्चा गराउने काम गरे । नेपाली केस्रा लेखन मञ्च बनाएर सन २०१२ जनवरीमा मलेशियाको राजधानी क्लालालम्पुरमा पत्रकार सम्मेलन गरी यसको बिधिवत घोषणा भएको थियो । यसको अवधारणा तयार गर्ने कामको अगुवाई गर्नेमा प्रबर्तकमा मौलश्री लिम्बु र प्रबक्ताहरुमा जीवन देवान गाँउले, दिलिप राई सगर र कृष मगर रहेका छन् । मलेशिया, युएई र कतारमा मञ्च गठन छ । केस्राको अवधारणा र घोषणापत्र सहितको प्रकाशित पहिलो पुस्तक ‘केस्रा’ को ०७० बैशाख २८ मा काठमाडौंमा बिमोचन भएको थियो । सुन्तला जस्तै फलको एक केस्रा खाएपछि सिंगो दानाकै स्वाद थाहा पाउन सकिन्छ भनेजस्तै एउटा सानो बिषयबस्तुमा केन्द्रित भएर लेखिने केस्राले पनि साहित्यको सिंगो स्वाद दिन सक्छ भन्ने केस्राको परिभाषासंग जोडिएको कुरा छ । यसलाई सिधा गरी स्पष्ट बुझिने हिसाबले लेखिनु पर्ने मान्यता भएकाले कलापक्ष भन्दा चेतना पक्षलाई जोड दिइएको छ । गैर छन्द र छन्दको आलंकारितामा १२ अक्षरभित्रमा लेखिने भनिएको छ । एउटा बिषयमा मात्र केन्द्रीत रहेर शिर्षक राखेर ६ हरफमा लेखिनु पर्ने यसको ढाँचा छ । उठानको दुबै हरफ, बिश्रामको दोस्रो हरफ र बैठानको दुबै हरफको अन्तिममा समध्वनी अनुप्रास राखिने यसको नियम बनाइएको छ । अझ पाँचौ हरफ र पहिलो हरफको अन्यानुप्रासिक शब्दनै दोहोर्याउने यस्तो स्वरुप खडा गरीएको छ –
"चाटुकार"

हे ! प्रिय मित्र तिम्रो हर कुरा
मुखमा राम राम बगलीमा छुरा

छद्मभेषी हिमचिम भो अब
यता या उता बनिदेउ पुरा

"सिर्जना अनुशीलन " कार्यक्रम असार ७ गते  २०७० 
कलियुगमा तिम्रो चाटु कुरा
लाग्छ नारद जी थिए बेसुरा ।
- मौलश्री लिम्बु
     यसरी यसको स्वरुप र यसका अभियन्ताहरुको सृजनशील अवस्थाको पृष्ठभूमि समेत हेर्दा यो गजल र रुबाईसंग नजिक देखिन्छ । पहिले गजल र रुबाई लेख्न बढी रुची राख्नेहरुलेनै केस्राको अवधारणा तयार गरेका हुन् । बिदेशमा तातोमा बाफिदै शारिरिक रुपमा कडा परिश्रमबीच निकालेको थोरै थोरै समयलाई सदुपयोग गरेर नेपाल र नेपाली साहित्यको अगाध मायामा उनीहरुले फरक अवधारणा अघि बढाए । अनुशीलनमा केस्राका सुक्ष्म पक्षमा समेत फराकिलो बहस चल्यो । सटिक समालोचना गर्न शिपालु प्राडा भीम खतिवडा त्यहाँ भन्दै थिए–‘ यो त साहित्यलाई श्रमसंग जोड्ने शक्ति हो ।’ बहसमा मञ्चमा सहभागी केस्राका सल्लाहकार भक्तिप्रसाद पौडेलले भने ‘यो कविताको उपबिधा हो ।’ संगै रहेका केस्राका अभियन्ता मध्येका सुरेन्द्र लिम्बु परदेशी भन्दै थिए ‘कविताको भाग हो भन्न मिल्दैन ।’ अर्का अभियन्ता दिलिप राई सगर दुई फरक कुरालाई मिलाएर जवाफ दिने प्रयत्न गर्दै थिए । अर्का समालोचक रामजी तिम्सिनाले अझ फरक धारणा राखे ‘केस्रा प्रबिधि मात्र हो ।’ यस्ता फरक धारणा आएपछि त झन घनीभूत बहस चल्यो । मञ्चाभिमुखमा रहेर बोल्ने धेरैजसो साथीहरुले गजल र रुबाईलाई फ्युजन गरी थोरैमात्र फरक देखाउन खोजेर फरक बिधा भनिएको रहेछ भन्ने प्रतिक्रिया दिए ।
केस्रा विधाको दस्तावेज 
        समय बेफुर्सदिलो छ भनेर छोटो र चोटिलो प्रहारका लागि केस्राको अवधारणा ल्याईएको भनिएको छ । तर चेतनालाई प्रमुख ठान्दा कला पक्ष कमजोर बनेको देखिन्छ । त्यसबाट समग्र सृजना पक्ष नै कमजोर बन्न पुग्छ । अनि घोषणापत्रमा अक्षर र मात्रा एउटै हो भने जसरी कुरा ल्याइएको छ । यो फरक फरक चिज हो । अक्षर गन्ने कि मात्रा गन्ने भन्ने कुराको दुबिधाले पनि केस्रा अलि अलमलिएको छ । केस्रा भन्दा छोटो रुबाई र हाइकुको प्रस्तुती अझ चोटिलो देखिदा केस्रालाई शसक्त बनाउनु पर्ने आवस्यकता देखिन्छ । संगसंगैको अर्काे कुरा– केस्राको फरक संरचनाभित्रको प्रस्तुती पक्षमा फराकिलो गरी खेल्न नपाइने खालको आन्तरिक स्वरुप अझ साँघुरो हुँदा सृजनाको प्रभावकारीता खुल्न सहज बन्दैन । फरक संरचनाका हिसाबले फरक बिधाका रुपमा ब्याख्या गरीएको छ भनें स्पष्ट रुपमा फरक बिधा भन्न सक्नु पर्छ । त्यसलाई आम रुपमा स्विकार्न र फरक बिधाको मान्यता पाउन धेरै समय त लाग्न सक्ला । फरक संरचनामा लेखिने गजल, रुबाई, मुक्तक, केस्रा कविताका अंश हुन् भन्न सक्ने अवस्था छैन अव । कविताको अंश होइन, साहित्यको एउटा अंश भन्नु पर्ला । यसर्थ नेपाली साहित्यकाश फराकिलो बनाउने हिसाबले आएका यस्ता अवधारणाहरुलाई माझ्दै जानु पर्छ । कतिपय अवधारणाहरु अवधारणा निर्मातामै मात्र सिमित भएका उदाहरणहरुबाट पनि पाठ सिक्नु पर्ने हुन्छ । ठिक छ नयाँ कुरा स्थापित गर्न समय लाग्छ । यसका लागि सर्बप्रीय बनाउन सान्दर्भिक र बैज्ञानिक तथ्य आवस्यक पर्छ, साहित्यका अगुवाहरुसंग बहस आवस्यक छ । प्रयोग प्रयोगका लागि मात्र हैन, सार्थक बन्नुपर्छ भन्ने कुरा बिर्सिनु हुँदैन । अझ भन्नुपर्दा बिधागत सार्बभौमिकता आवस्यक हुन्छ । केस्रा फरक अवधारणका लागि तयार गरिएको खेस्रामा मात्र सिमित हुनुहुदैन । अनि गजल र रुबाईको फ्युजनबीचको कन्फ्युजनलाई हटाउन सक्नुपर्छ । केस्रालाई शुभकामना ।
(०७० असार १६ गतेको ब्लाष्ट टाईम्स दैनिकमा प्रकाशित )
[समिक्षा:-  श्रीजन श्री केस्रा: सिर्जनामा एक नजर अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् ]