- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 21 July 2013

समिक्षा:- केस्रा सिर्जनामा एक नजर

                          केस्रा: सिर्जनामा एक नजर

                                                                                          -श्रीजन श्री
                                                                                        klcc मलेशिया
                                                                                         १६ जुन,२०१३


      नेपाली साहित्यको मौलिक विधा दाबी गरिएको "केस्रा" सार्वजनिक भएको भर्खर एकवर्ष पुरा भएकोछ। यो एकवर्ष भित्र भए गरेका गतिविधिहरु र केस्राको शैद्दान्तिक पक्षको दलिल पेश गर्दै 'केस्रा साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज' नामक पुस्तक पनि बजारमा आएको छ। केस्रा लेखन मञ्च र नेपाली केस्रा मञ्च नेपाल,मलेसिया,कतार र युएईको सयुक्त प्रकाशन रहेको यो पुस्तक १५२ पेजसम्म विस्तारित छ।
समीक्षक:- श्रीजनश्री 
      पुस्तकमा कलाकार मनिराइ गोठाले' को आवरण कला, डा.गोबिन्दराज भट्टराइको भूमिका, सुरेन्द्र लिम्बू 'परदेशी'को टिप्पणी, दिप्स शाह, मनि राई 'गोठाले', जीतमान राई 'सविन' र गणेश खड्काको शुभकामना रहेको छ भने 'प्रवक्ताको कलमबाट' शिर्षकमा प्रवक्तात्रय दिलिप राई 'सगर', जीवन देवान 'गाउले' र कृष मगर साथै 'प्रवर्तकको कलमबाट' शिर्षकमा मौलश्री लिम्बूको आफ्नो भनाइ रहेको छ। 
      पुस्तकमा ३ वटा अध्याय रहेकाछन्। 'घोषणा पत्र: (अध्याय क)' अन्तर्गत नेपाली साहित्यमा केस्रा विधाको प्रतिपादन तथा घोषणा पत्र:२०६८/२०१२ मूल शिर्षक रहेको छ। र यो शिर्षक अन्तर्गत शब्द/अर्थ, केस्राको परिभाषा, अवधारणा, स्थानान्तरण/भाषान्तर, केस्राका प्रकार, संरचना , अनुप्रास योजना, र अनुप्रासका आकार-प्रकार, प्राविधिकता, शिर्षक, हरफ, विश्राम-अल्प विश्राम र अर्ध विश्राम,शिल्प, लय, प्रस्तुती, विषयबस्तु, भाषा, वाचन, अवस्था र समयसीमा, कल्पना/परिकल्पना, भूतकाल-वर्तमानकाल
र भविस्यकाल, मान्यता, हरफको समायोजन,प्रक्रिया, अङ्कको प्रयोग, प्रारम्भिक चरण,प्रारम्भिक उत्तरार्द्ध चरण,केस्रा विधाको नामाकरण, केस्राको आन्तरिक तथा आधारभूत पक्ष, निपातको प्रयोग, अनुप्रास पुनरावृत्ति र केस्रा विज्ञान र प्रविधि जस्ता उपशिर्षकहरु दिइ केस्राको शैद्दान्तिक पक्षको तस्वीर खिचिएको छ।
केस्रा: साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज 
      त्यस्तै साहित्यमा केस्रा विधाको प्रार्दुभाव तथा विमर्श(अध्याय ख) मूल शिर्षक अन्तर्गत-विषय प्रवेश, संक्षिप्त अवधारणा, अन्तर्दृष्टिकोण, उपयोगिता र निस्कर्ष जस्ता उपशिर्षकहरु दिइ केस्राको विधागत औचित्य पुष्टि गर्न खोजिएको छ। यसै अध्याय अन्तर्गत प्रारम्भिक उत्तरार्द्ध चरणका सर्जक तथा प्रतिनिधि केस्रा: शिर्षक दिदै ४२ जना सर्जकहरुका कम्तिमा १ र बढीमा १४ वटा सम्म केस्राहरु समेटिएको छ।
अतिरिक्त दस्तावेज (अध्याय ग) अन्तर्गत 'केस्रा:नविनतम मौलिक विधा' शिर्षकमा भक्तिप्रशाद पौड्याल को लेख, 'केस्रा विधामा सूक्ष्मता तथा वैचारिकता चाहिन्छ' मौलश्री लिम्बूको अन्तरवार्ता, केस्राको प्रथम वार्षिकोत्सव सम्बन्धि सूचना, केस्रा प्रतिपादनको आधिकारिक वर्ष नेपाली संवतलाई मान्ने कि अंग्रेजी संवतलाई मान्ने भन्ने सन्दर्भमा फेसबुक सामाजिक संजालबाट मत सर्वेक्षणमा भाग लिएका २६ जनाको अभिमत राखिएको छ। यसै अध्यायमा 'विधा तथा साहित्यको विस्तार' शिर्षकको छोटो लेख र 'केस्रा साहित्य विधाको सार्वजनिक' शिर्षकको समाचार पनि समेटिएको छ।
       मौलश्री लिम्बू द्वारा प्रतिपादन गरिएको केस्रा के हो त? केस्राको परिभाषामा भनिएको छ ''यथार्थ जीवनको कुनै एक अवस्थामा हुने एक अनुभूति तथा एक द्स्टीकोणको अभिव्यक्ति अथवा कुनै पनि पूर्ण बस्तुमा हुने कुनै एक खन्ड वा कुनै एक अंशलाई मात्र सूक्ष्म पहिचान गरी सोही पक्षमा मानवीय संवेदना तथा संवेगबाट साहित्यमा उत्पन्न हुने भाव वा रसको एक पक्षको अभिव्यन्जना नै केस्रा हो।'' यसरी हेर्दा अंशमा वंश नै केस्रा हो भन्न् सकिन्छ। जसरी एउटा सुन्तलाको केस्रा हुन्छ र त्यो केस्राले सिँगो सुन्तलाको स्वाद दिन्छ। त्यसरी नै हरेक बस्तुको एउटा अंश हुन्छ। र वस्तुत: त्यो अंशले पनि उक्त बस्तुको जीन आँफैमा बोकेको हुन्छ। भन्ने संकेतबाट के निष्कर्ष निकाल्न सकिन्छ भने केस्रा सम्पूर्ण होईन अपूर्ण हो तर अपूर्णतामा सम्पूर्णताको चस्का, झट्का, स्वाद, उद्वेग, स्पर्श वा ध्वनी आदिको तरंग फैलाउछ। पुस्तकका अनुसार मान्छेको अनुहारमा नाक,कान, घाटी, आँखा, चिउडो, परेली, निधार वा ओठ आदि हुन्छन् हो तिनै मधेको कुनै एक अङ्ग नै केस्रा हो। यसरी हेर्दा केस्रा सिङ्गो अनुहार होईन। सिङ्गो शरीर होइन। कुनै अङ्ग वा वस्तुको अंशात्मक पुष्टि सहितको साहित्य अभिव्यन्जना मात्रै हो।
     यो पुस्तक निक्कै श्रमसाध्य, निश्चित उद्देश्यपूर्ण र बहुआयामिक पुस्तक हो। यसमा केस्राको शैद्दान्तिक रुपरेखा, केस्रा लेखन प्रकृया, केस्रा प्रतिपादन गर्नुको उद्देश्य जस्ता विषयहरुमा जोड दिइएको छ।
पुस्तकमा केस्रा निर्माणप्रक्रिया शैलीगत सन्दर्भ र यसको मूलतत्व अंशात्मकताको बारेमा प्राय:जसो उपशिर्षकहरुमा चर्चा गरिएकोछ। पुस्तक पढिसकेपछि पाठकहरु के निष्कर्षमा पुग्नु पर्छ भने (रुपगत तत्वहरुलाई नहेर्दा) मुलत: मानवीय संवेदनाको एक प्रभाव वा एक भंगालो वा एक झोक्का वा एक संवेग वा एक अनुभूति वा एक समयको एक खन्ड वा विषयबस्तुको एक सन्दर्भ वा जुनसुकै विषयबस्तुको पनि एक अंश नै केस्रा हो। जो केस्राको आन्तरिक तत्व अन्तर्गत पर्ने सर्वोच्च तत्व हो। दर्बिलो र गर्विलो पक्ष हो।

केस्रा लेखन प्रकृया
        आयामगत रुपमा कम्तिमा जतिपनि र अधिकतम १२ व्यन्जन वर्णसम्म विस्तार गर्न सकिने केस्राको रुपगत सिद्दान्त गजलको जस्तै देखिन्छ। केस्रामा पहिलो दुई पङ्तिलाई उठान दोस्रो दुई पङ्तिलाई विश्राम र तेस्रो अर्थात अन्तिम दुई पङ्तिलाई बैठान भनिन्छ। केस्राको उठानको दुवै पङ्ति र विश्राम र बैठानका जोर पङ्तिमा गजलमा जस्तै अनिवार्य अनुप्रासको प्रयोग गरिन्छ भने उठानको पहिलो पङ्तिमा प्रयुक्त अनुप्रास बैठानको पहिलो पङ्तिमा पुनरावृति गर्नु पर्ने प्रावधान पनि अनिवार्य गरिएको छ। साथै अपवादका रुपमा २ व्यन्जन सम्मका निपातहरुलाई अन्त्यानुप्रासका रुपमा लिन सकिने प्रावधान रहेपनि अन्य अन्त्यानुप्रासहरु (निपात इतरका) लाई भने पूर्णत: वर्जित गरिएको छ। यो नै केस्राको शैद्दान्तिक रुपपक्ष हो। यसकै जगमा टेकेर केस्रा लेखिन्छ।
       कुनै पनि विधाका बाह्यतत्वहरु मात्रै हुँदैनन् त्यस्का आन्तरिक तत्वहरु पनि हुने गर्दछन्। र ति तत्वहरुले पनि उक्त विधालाई साहित्यका अन्योन्याश्रय  विधा तथा उपविधाहरुबाट पृथक बनाउन मद्धत गर्दछन्। केस्राको पनि आन्तरिक पक्ष छ। विशेषत: कुनैपनि विषयको एक खन्ड वा एक भंगालो वा एक झोक्का वा एक अंश नै यसको आन्तरिक तत्व हो।
       केस्रामा उठानका दुइटा पङ्तिले विषयोद्घाटन गर्छन् भने विश्रामका दुई पङ्तिले रहस्योद्घाटन गर्छन्। र अन्तिम अर्थात बैठानका दुईटा पङ्तिले विषयको सार्थक निरुपण गर्दछन्। यो नै केस्राको विशेषता हो। शक्ति हो। र मौलिकता हो। तसर्थ केस्राले गागरमा सागरको अनुभूति दिनुपर्छ भन्दा अत्युक्ति नहोला।
       मुलत: केस्रा ३ प्रकारका हुन्छन्। आकृति,आवृति र अलंकार। आकृति केस्रामा वर्णगुच्छहरु तथा निपातको आवृति भएको हुँदैन भने आवृति केस्रामा वर्णगुच्छहरु तथा निपातको बारम्बार आवृति भएको हुन्छ। छन्दोबद्द केस्रालाई भने अलंकार नामाकरण गरिएको छ। यध्यपि छन्दोबद्द अर्थात अलंकार केस्राको स्वरुप कस्तो हुने? शाश्त्रीय पिंगल छन्दहरु र फारसी बहरहरु (जो नेपाली कविता र गजलमा प्रचलित छन्।) हरुकै  अनुसरण  गर्नु पर्ने हो कि वा केस्राका मौलिक छन्दहरु छन्? यस सन्दर्भमा पुस्तकमा जानकारी दिइएको छैन। उसो त "केस्रा विधाले मान्यता दिएका तथा निर्माण गरेका कुनै पनि छन्दको अनिवार्य प्रयोगमा आकृति  र आवृति केस्राको संरचनामा लेखिने केस्रा नै अलंकार केस्रा हो।" भनिएको छ। यसका आधारमा र छन्द तथा बहरलाई अलंकार शब्दबाट विस्थापित गर्न खोजिएबाट दुइटा कुराको संकेत गरिएको छ भन्न सकिन्छ।
(१) कि पुरानै पिङ्गल छन्दहरु तथा फारसी बहरहरुको अनुसरण गर्दै छन्द,भेद,सूत्र,रुक्न ,अर्कान,गण र लघु-गुरू आदिको नाम मात्र परिवर्तन गर्ने। र उही प्रकृया अपनाउने। वा जस्ताको त्यस्तै अनुसरण गर्दै अनुकरणप्रिय बन्ने।
(२) कि आफ्नै मौलिक छन्द (केस्राको भाषामा अलंकार) निर्माण गर्ने वा गरिएको छ।

        कुनै पनि विधा आफ्नै मौलिकतामा बाँच्ने भएकाले पुरानै पिङ्गल छन्दहरु तथा फारसी बहरहरुको अक्षरश: अनुकरण गर्नु भन्दा वा नाममात्र परिवर्तन गरी मौलिक नाम दिनु भन्दा वा दिएजस्तो गर्नु भन्दा चुनौती हुँदाहुँदै पनि दोस्रो बूँदा केस्राका लागि फलदायी हुनसक्छ।
       यस पुस्तकमा समेटिएका विषयबस्तुहरु साच्चि कै चुनौतिपूर्ण देखिन्छन्। केस्रा लयात्मक रचना हो। तर यसलाई लयप्रधान होइन भनिएको छ। यसमा अक्षरगत एकरुपताको सूत्र अनिवार्यरुपमा लागू गर्नुपर्ने भनि निर्देश गरिएको छ। यहाँ सम्म की हलन्त शब्दहरु वा वर्णहरुलाइ अजन्त पार्न नहुने (जस्तै- भाउजू=३,माइती=३,पिउदैछ=४,मनमा=३,जूनको=३, सागरमा=४, सगरमाथा=५ जस्ता शब्दहरुलाई अजन्त लेख्न र वाचन गर्न नपाईने। ) छन्द कविताको (पिङ्गल छन्दको) अनुकरण गरिएको छ। (भाषा विज्ञानका दृष्टिबाट यो राम्रो पनि हो।) यध्यपि आकृति र आवृति केस्राहरुको कुनै पनि हरफहरुमा १ स्वर वर्णसम्मको मात्र छुट दिइएको छ।(सायद यो संकटकालिन अवस्थाको संकटोचनका लागि हुनुपर्छ ) विश्राम-अर्ध विश्राम र अल्प विश्रामको कुनै मापदण्ड नभए पनि बढीमा १२ व्यन्जन वर्णसम्म मात्र आयामगत विस्तार गर्न पाइने भएकाले विश्रामका लागि कुनै माथापच्चिसी नगरेरै पनि पंतिहरुमा स्वत: लय उत्पन्न हुने देखिन्छ। हामीले बुझ्नु पर्ने कुरा के हो भने कुनै पनि रचनामा आक्षरीक एकरुपता हुने बितिकै त्यो रचना कुनै न कुनै लयमा स्वत: आबद्द हुन पुग्दछ। (लय भन्नु नै छन्द र छ्न्द भन्नु नै बहर हो।) झन केस्रामा त अनुप्रासको अनिवार्यताले गर्दा स्वत: लय उत्पन्न हुन्छ। तसर्थ अन्जान मै भएपनि लय केस्राको मुख्य तत्वका रुपमा आएको देखिन्छ। यसकुराको पुस्टि यसै पुस्तक भित्र समिटिएका अधिकांश केस्राहरु लयबद्द भएकाले पनि स्वत: भएको छ। उसो त केस्रालाई लय प्रधान होइन भन्नुको अर्थ यो विचारप्रधान हो/भाव प्रधान हो भन्न खोजिएको हो (भनिएको पनि छ) अपितु केस्राको निर्माण प्रकृया र यसका तत्वहरु नै यस्ता छन् कि चाहेर वा नचाहेर पनि लय केस्राको पहिचान बनेको छ। यसर्थ यो बाह्य तत्वहरुको आधारमा गजल सँग जति सन्निकट छ। साँगितीकताको आधारमा गजलका साथसाथै गीतसँग पनि उतिकै सन्निकट देखिन्छ। यसर्थ गजलको जस्तै लय+भाव वा विचार नै केस्राको पनि प्रमुख तत्वका रुपमा देखिएको छ। भलै गजलको एक सेरले भन्नुपर्ने कुरा केस्राका ३ वटै पङ्तिमा विस्तारित भएको किन नहोस्।
यथा:
"गुनासो"
छुरा घोपि सोध्यौ दुख्यो कि त भनी।
तिम्ले नै त दियौ चोट गनि-गनी।

मायाले पो सवै सम्पन्न हुन्छन
हुँदैन है मान्छे बाँकिले त धनी।

हन्डरहरु सुनाउँ के-के भनि ,
तिम्ले भन्दा धेरै खा'छुँ मैले पनि।
-कृष मगर
        यो केस्राको आधिकारीक प्रथम पुस्तक हो। र पुस्तकमा दिइएका उपशिर्षक केस्रा विज्ञान र प्रविधि लगायतका केही शिर्षकहरुले विषयबस्तुको खुलेर विश्लेषण गर्न सकेको देखिदैन। जे-जस्तो भए पनि यो केस्राको शैद्दान्तिक पुस्तक मात्र नभएर ईतिहास ग्रन्थ पनि हो। विषयबस्तुगत कुराहरु, परिवेशगत कुराहरु, विचारगत कुराहरु, भाषा-शिल्पगत कुराहरु र लयगत स्वरुपका बारेमा घनिभूत विश्लेषण/विवेचना नभएपनि सामान्य टिप्पणी भने गरिएको छ।
       विशेषत: पुस्तक भरि केस्राको उठान्, विश्राम र बैठानका साथ-साथै विषयबस्तुको  आंशिकताको बारेमा व्याख्याधिक्यता पाईन्छ।भाषाको लालित्य, शैलीगत चमत्कार, सूत्रबद्द भाव-सौन्दर्य, सिर्जनागत परिष्कार र प्रौढता प्रारम्भिक केस्राहरु मै खोजिनु उपयुक्त नहुन सक्छ। र पनि कुनै कुनै रचनाहरुमा सुन्दर भाव निस्पन्न भएको छ।साहित्यमा स्थापित भैसकेका विधाहरु त विवादरहित छैनन् भने यो त भर्खर टुसाएको मुना हो। यसै पनि गजल सँगको राप र तापका कारण विवादरहित रहन सक्ने स्थिति छैन।एउटा कुरा सत्य हो कि आफूले रचना गर्दै आएको विधाको चर्चापरिचर्चा भै दिओस्। उक्त विधाले साहित्यको मूलधारमा सम्मानजनक स्थान पाओस् भन्ने सोच प्रत्येक सर्जकहरुमा हुन्छ। जुन कुरा अत्यन्त स्वभाविक पनि हो। तर कामनाले मात्र कहाँ हुन्छ र? कुनै पनि रचनाको संरचना र शैद्दान्तिक पक्ष एउटा कुरा हो भने त्यसको भाषिक स्वरुप शक्ति र सीमा अर्को कुरा हो। सँरचनात्मक आधारबाट हेर्दा रचनाको विधागत मौलिकता के हो त? भन्ने कुराको यथार्थ बुझ्न सकिन्छ भने विचारगत (शैलीगत) आधारबाट हेर्दा त्यसको आन्तरिक मौलिकता के हो? भन्नेकुरा बुझ्न सकिन्छ।
     केस्रा:साहित्य हो। यसर्थ यसका आधारभूत साहित्यिक तत्वहरु के-के हुन?स्वतन्त्र विधागत मान्यता प्राप्त गर्नका लागि बाह्यन्तर (मौलिकता सहितका) तत्वहरु के-के हुन?कुन्-कुन रुपगत तत्वहरुले यसलाई साहित्यका अन्यान्य विधाहरुबाट पृथक पहिचान दिन्छन्? जस्ता प्रश्नहरु सोधियो भने केस्राले आफ्नो मौलिकता सहितको जवाफ दिन सक्नु पर्छ पाठकहरुलाई।दूधबाट बन्ने परिकारहरुको सारगत मात्र होइन रुपगत पक्ष र पहिचान पनि पृथक भए जस्तै केस्राको रुपगत पक्ष गजल भन्दा पृथक छ कि छैन? भन्ने प्रश्न गजलवादीहरुले (अझ रुखो शब्दमा भन्नु पर्दा गजलका हनुमान भक्तहरुले) सोध्यो भने केस्राले उनीहरुको जिज्ञासालाई सम्बोधन गर्न सक्नु पर्दछ।
      कुनैपनि साहित्यिक रचनाले पूर्ण विधागत मान्यता पाउनकालागि आफ्नो रुपपक्षमा पूर्ण मौलिकता ग्रहण गरेको हुनुपर्छ। वस्तुपक्षमा बहुलता र आयाममा लघुता मात्र होइन बृहताकार सम्मको विस्तार अर्को सर्त हो। कला, भाव-सौन्दर्य, शिल्प र शैली त हुने नै भए। केस्राको आयामगत संकुचनता (अधिकतम १२ व्यंजन वर्ण सम्मको सँरचना)ले पूर्ण विधागत मान्यता नपाउने निस्चित नै छ। आयामगत लघुताकै कारण (नेपाली साहित्यमा जबर्जस्त हस्तक्षेप गरि सकेर पनि) गजलले अझै पूर्ण विधागत मान्यता पाउन सकेको छैन। हुन त केस्रालाई विधा भनिएको भए पनि उपविधा मै यसको दाबी हो। जो आयामगत दृष्‍टिकोणबाट हेर्दा जायज पनि देखिन्छ।यथा:

"प्रेम"-(१)

(३)- लगायौ क्यारे मोहनी टुना। -(२)
भरेर बस्यौ मुटुको कुना।

(४)- एकैछिन भुल्न सकिन मैले,
छिपिन्दै गयो मायाको मुना।

(५)-लगायौ तिम्ले मोहनी 'टुना'।- (६)
कसायौ भित्री मायाको तुना।
माथिको केस्रामा दिइएको संकेत अनुसार रुपगत कोणबाट हेर्दा केस्राका अत्यावश्यक तत्वहरु:
(१) शिर्षक
(२) अनुप्रास
(३) उठान (प्रारम्भिक जोर पङ्ति)
(४) विश्राम (दोस्रो जोर पङ्ति)
(५) बैठान ( तेस्रो अर्थात अन्तिम जोर पङ्ति) र
(६)केस्राको पहिलो पंतिमा प्रयुक्त अनुप्रास (जस्तै:'टुना') पाँचौ पंतिमा अनिवार्य पुनरावृति गरिनु पर्ने।
       केस्रालाई गजल भन्दा पृथक पहिचान दिलाउनका निम्ति निम्न तत्वहरुले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने केस्राको दाबी:
(१) केस्राको शिर्षक हुन्छ तर गजलको शिर्षक हुँदैन।
(२) केस्राको तखल्लुस हुँदैन तर गजलको तखल्लुस हुन्छ।
(३) केस्राको अन्यानुप्रास हुँदैन तर गजलको अन्यानुप्रास हुन्छ।
(४) केस्रा ३ जोर पङ्तिको मात्रै हुन्छ तर गजल ४ सेर भन्दा माथिको मात्र हुन्छ।
(५) केस्राको पहिलो पङ्तिमा प्रयुक्त अनुप्रास पाचौ पङ्तिमा अनिवार्य पुनरावृति हुन्छ तर गजलमा यो प्रावधान छैन।
      माथि उल्लेखित केस्राका रुपगत तत्वहरुका आधारमा हेर्दा,गजल र केस्रा:
(क) गजलमा: काफिया
       केस्रामा: अनुप्रास (नाम मात्र फरक निर्माण प्रक्रिया एउटै)
(ख) गजलमा: मतला
       केस्रामा: उठान (नाम मात्र फरक बाह्य बनावट उस्तै)
(ग) गजलमा: सेर
      केस्रामा:पङ्ति (नाम मात्र फरक बाह्य बनावट उस्तै)
(घ) गजलमा: मकता
      केस्रामा: बैठान (नाम मात्र फरक बाह्य बनावट उस्तै)
(ङ) केस्रामा: शिर्षक हुन्छ।
     गजलमा: शीर्सक हुँदैन 
(तर केस्राको प्रतिपादन हुनु पूर्व नै गजलमा पनि शिर्षक हुनुपर्छ भन्दै गजलवादीहरु कै ठूलो तप्काबाट आवाज उठि सकेको र यो निरन्तर जारी पनि रहेको। साथै दर्जनाधिक गजल संग्रहहरु शिर्षकबद्द भैसकेका उदाहरणहरु पनि छन्। उसो त बाह्य संरचना (स्वरुप) एउटै भैसके पछि शिर्षक राख्दैमा केस्रा बन्ने र शिर्षक नराख्दैमा गजल बन्ने भन्ने कुरा पनि हुँदैन।)
(च) केस्रामा: अन्यानुप्रास हुँदैन
      गजलमा: अन्यानुप्रास हुन्छ। 
(तर गजलमा अन्यानुप्रास(रदिफ) अनिवार्य तत्व होइन। र हजारौ अन्यानुप्रास विना गजलहरु लेखिएका उदाहरणहरु पनिछन्। उसो त केस्रामा पनि २ व्यन्जन सम्मको निपातलाई अन्यानुप्रासका रुपमा स्वीकार गरिएकोछ। तसर्थ यसमा पनि केही भिन्नता छैन।)
(छ) केस्रामा: तखल्लुस हुँदैन।
      गजलमा: तखल्लुस हुन्छ
  ( अपितु अन्यानुप्रास जस्तै तखल्लुस पनि गजलको अनिवार्य तत्व होइन। अहिले सम्म लेखिएका अधिकांश गजलहरु तखल्लुसभिन्न नै लेखिएका छन्। तसर्थ तखल्लुसको अभावमा गजल बन्नै नसक्ने भन्ने वा गजलको केही क्षय हुने अवस्थै नरहेकाले केस्राले तखल्लुसलाई इंगित गरिरहनुमा अलिकति पनि प्रभावकारीता देखिदैन।)
(ज) केस्रामा: ३ जोर पङ्ति मात्रै हुन्छन्।
       गजलमा: ३ वा ३ भन्दा बढी सेरहरु(पङ्तिहरु) हुन्छन्। 
(यहा केस्राको के दाबी देखिन्छ भने गजल ४ सेर भन्दा माथिको मात्र हुन्छ। तर केस्राको व्युत्पत्ति पूर्व देखि नै गजलकारहरुले ३ सेरका गजलहरुलाई पुस्तकार, एल्वम लगायतका माध्यमबाट सार्वजनिक गरी सकेका छन्। यदि कसैले यो मान्यता स्थापित भैसकेको छैन भनेर भन्छन् भने पनि ३ सेरको सवालमा पनि पहिलो दाबी गजलकै रहन्छ।)
(झ) केस्रामा: केस्राको पाचौ पंतिमा पहिलो पंतिमा प्रयुक्त अनुप्रास अनिवार्य पुनरावृति गर्नु पर्छ।
      गजलमा: यो अनिवार्यता छैन।

(केस्राको पाचौ पंतिमा पहिलो पंतिमा प्रयुक्त अनुप्रास अनिवार्य पुनरावृति गर्नु पर्छ।तर गजलमा यो अनिवार्यता छैन। र पनि गजलमा पनि केस्राको जस्तै अनुप्रास पुनरावृति भएमा गजल 'गजल' नै रहन्छ। गजल गजलबाट च्यूत हुँदैन। त्यसैले यो पुनरावृतिको प्रावधानले केस्रालाई गजलबाट पृथक स्वरुपको देखाउन सक्दैन। पुस्तकमा के दाबी गरिएको छ भने -
"केस्रा एउटा विषय वा भावमा केन्द्रीत भएर सटिक, चुस्त र सूक्ष्म लक्षणमा लेखिनु पर्ने भएकाले यसको उठानको पहिलो अनुप्रास बैठानको पहिलो हरफमा अनिवार्य पुनरावृति गर्नु पर्ने भएको हो।" हो यो भनाइमा (प्रावधानमा) केही सत्यता अवस्य छ। तर यो मात्र पूर्ण सत्य भने होइन। किनकी खन्डकाव्य र महाकाव्यका कैयौं पृष्ठसम्म पनि एउटै अंशलाई शब्दहरु पुनरावृति नगरेरै पनि विस्तार गरिएका कैयौं उदाहरणहरु छन्। यसो भनि रहदा सूक्ष्मता, सटिकता र आँशिकताको कुरा आउँला। यदि त्यसो हो भने पनि कतिपय पध्य कविता र मुसलसल गजलहरुमा केस्राको जस्तै ३ जोर पङ्तिसम्म मात्रै नभएर ४ जोर/५जोर पङ्ति सम्मपनि अत्यन्त सटिक र चमत्कारीक कला द्वारा शब्द पुनरावृति नगरेरै पनि कुशल भावमन्जरी र विषयांशिकता मर्न दिइएको छैन। बरु महत्व झन् उज्यालिएको छ। त्यसैले ३ जोर पङ्तिको लघुतम् संरचनामा आवद्द केस्रामा विषय विचलन हुन्छ,भाव विचलन हुन्छ, यसको आँशीकता, एक प्रभाव, एक भंगालो, एक संवेग,एक अनुभूति विचलन हुन्छ वा विषय भन्जन हुन्छ भन्ने चिन्ता (वा त्रास) ले मात्र अनुप्रास पुनरावृतिको प्रावधान राखिएको होइन भन्न सकिने अवस्था पनि देखिन्छ। हुन त केस्राका विद्वान मित्रहरु स्वीकार गर्लान नगर्लान त्यो आफ्नो ठाउमा छ। अपितु गहिरिएर अध्ययन गर्ने हो भने केस्रालाई गजलबाटपृथक देखाउने उद्देश्यले पनि यो प्रावधान राखिएको हो भन्न सकिने अवस्था पनि छ। किनकी यति पनि पृथकता नभैदिने हो भने केस्रालाई गजलका बाह्यतत्वहरुबाट पृथक (मौलिक) देखाउने कुनै पनि विकल्प बाँकि रहदैनन् । तर यति हुँदाहुँदै पनि केस्रा गजलबाट पृथक (बाह्यतत्वहरुका आधारमा) बन्न सकेको भने छैन। किनकी केस्राको प्रतिपादन हुनु भन्दा सदियौ पूर्व देखि नै गजलका मतला बाहेकका सेरका उलाहरुमा पनि काफिया प्रयोग भै रहेकैछन्। त्यसैले 'गाइको घाँटीमा घण्ट झुन्ड्याएर खेतमा जोतियो भन्दैमा गाइलाई गोरु भन्न सकिदैन।' भनेर पाठकहरुले भन्न सक्छन्। )
       यति हुँदाहुँदै पनि केस्रा निश्चित विषयबस्तुमा केन्द्रीत भएर रचिने भएकाले यसको आन्तरिक तत्वगत मौलिकता भने छ। किनकी विषयोठान देखि विश्राम र बैठानसम्म विस्तारित मुक्तकीय तर लयात्मक शैली गजलको भन्दा केही पृथक छ।रुपतत्वमा गजलसँग समान रहदा रहदै पनि केस्राका खन्ड एक अर्कामा सापेक्षीत हुने भएकाले नै यसको 'संक्षीप्तचेत' (संक्षीप्तता) मूल हतियार बनेको छ। तर बुझ्नु पर्ने कुरा के पनि छ भने कथा, उपन्यास, नाटक, प्रबन्ध, निबन्ध र नियात्रा लगायतका कतिपय विधाहरुका आन्तरिक तत्वहरु एउटै हुँदाहुँदै पनि आ-आफ्नै रुपगत मौलिकताका कारण मात्र तिनको पृथक-पृथक पहिचान बनेको हो। त्यसैले केस्राका अघि दुइटा विकल्प देखिन्छन्।:-
(१) कि कम्तिमा पनि गजलका भन्दा पृथक एउटा दुइटा बाह्यतत्वहरुको रचना प्रक्रियामा लाग्नु। र आम पाठकहरुको मन जितेर त्यसलाई स्थापित गर्नु।
(२) कि जबर्जस्त गजल माथि रचनात्मक हस्तक्षेप गरी केस्राको प्रभाव पार्न सक्नु। जसका लागि केस्राको लगामले गजललाई नार्नु र पाठकहरुको मन जित्नु।
       जे होस यत्रोआँटको निम्ति मौलश्री लिम्बू धन्यवादका पात्र बन्नु भएको छ।

पुस्तक परिचय 

कृति:-                केस्रा: साहित्यमा केस्रा विधाको घोषणा तथा दस्तावेज
प्रकाशित मिति:- बैशाख २०७० पहिलो संस्करण
प्रकाशित प्रति:-  ६००/-
प्रकाशक:-          केस्रा लेखन मन्च
                         नेपाली केस्रा मञ्च, नेपाल
                         नेपाली केस्रा मञ्च, मलेसिया
                         नेपाली केस्रा मञ्च, युएइ
                         नेपाली केस्रा मञ्च, कतार
सर्वाधिकार:-      प्रवर्तक र प्रवक्तात्रयमा
आवरण कला:- मनि राई 'गोठाले'
ISBN              978-9937-2-6230-9
मूल्य: रु १०१
www.kesramanch.blogspot.com 

[दृष्टान्त:- समीक्षक "अनाम मण्डली,मलेसियाका संस्थापक अध्यक्ष हुनुहुन्छ ]
 [समिक्षा:- भुपेन्द्र तिम्सिना फ्युजन र कन्फ्युजनमा केस्रा...अध्ययन गर्न यहाँ क्लिक गर्नुहोस् ]