- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Sunday 22 September 2013

युद्ध भित्र उभिएका वुद्धहरु

      युद्ध भित्र उभिएका वुद्धहरुलाई नियाल्दा

युद्ध भित्र उभिएका वुद्धहरु

प्रकाशन मिति:- २०५८ 
व्याकुल माइला (प्रदीप कुमार राई)//       नेपाली वाङमयको श्रीवृद्धि गर्ने कार्यमा हङकङमा रहेका नेपालीहरु विगत एक दशक यतादेखि सक्रियरुपमा लागिपरेकाछन् । नेपाली साहित्यको संस्थागत विकास गर्न नेपाली साहित्य प्रतिष्ठान,हङकङको स्थापना तात्कालीनमा नै भएको हो । जसले त्यहा नेपाली साहित्य र सांस्कृतिक विषयमा विभिन्न कार्यक्रमको आयोजना गर्नुका साथै पत्रिका र पुस्तकहरु प्रकाशन गर्ने कार्य गर्दछ । त्यसै क्रममा आफ्नो पहिलो कृतिको रुपमा युवाकवि टंक सम्वाहाम्फेको ' युद्ध भित्र उभिएका वुद्धहरु ' नामक कविता संग्रह प्रकाशित गरेकाछन् ।
       टंक सम्वाहाम्फे काठमाडौको साहित्यिक माहौलमा चर्चा परिचर्चा पाईरहने नाम नभएर पनि विगत दुइ दशकदेखि नेपाली साहित्यको साधना गरिरहने एक परदेशी कुशल कवि हुन् । मुटुभित्र आफ्नो देशप्रतिको अगाध माया साच्नेहरुलाई भूगोलको जुनसुकै कुनामा बसे पनि आफ्नो देशको सेवा गर्न राज्यको सीमारेखाले नरोक्दो रहेछ । जसको उदाहरण ' युद्ध भित्र उभिएका
वुद्धहरु ' का स्रष्टा टंक सम्वाहाम्फे पनि बनेकाछन् । उनले नेपाली साहित्यको साधना गरेर प्रवासबाटै पनि वाङमयलाई टेवा पुर्‍याई रहेकाछन् ।
समीक्षक:-व्याकुल माइला
(प्रदीप कुमार राई)
      कविको यो पहिलो कविता संग्रह भए पनि कविताहरु निक्कै परिमार्जित छन् । कवितामा पोखीएका भावना र विचारहरु परिपक्क छन् । त्यसो त कविका फुटकर कविताहरु मधुपर्क,निर्माण आदि जस्ता स्तरीय साहित्यिक पत्रिकाहरुमा प्रकाशित भएका थिए । यस संग्रहमा उनले विगत एक दशक देखि दक्षिण कोरिया र हङकङमा बस्दा सिर्जना गरेका कविताहरु संग्रहित भएकाछन् । यी कविताहरुमा युगचेतना छ । विश्वमा भड्किरहेको अशान्ति,मानवीय आकांक्षा र उपलव्धि बीचको असमाञ्जस्यता, बढ्दो राजनीतिक संस्कारहिनता र हिंसा,आर्थिक अभाव एवं असमानता,सामाजिक विकृति र विसंगतिहरु आदिलाई विभिन्न विम्व,प्रतीक र शैलीमा प्रस्तुत गरेकाछन् ।
पर..........जंगलमा
धारिलो नंग्रा फिंज्याएर
खित्का छोड्दै थिए
हुचिलहरु

(आकास मान्छे र व्वासाहरु)
       अणु-परमाणुको होडवाजीले हुने युद्ध विभीषिकाहरु,सत्ता प्राप्तिको लागि हुने बर्बरतापूर्ण विद्रोहहरु रोकिनु पर्दछ ,हाम्रो चाहाना शान्ति सुव्यवस्था हो भन्ने कुरा यसरी पोख्छन् -
जुझारु समयको रुखो छातीमाथि
अणु-परमाणुको सामुन्ने उभेर
पुकार्न वाध्य भएकाछन्
भातृत्व प्रेमले
शान्ति !
शान्ति !!

[युद्ध भित्र उभिएका वुद्धहरु]
       यस संग्रहका कविताहरुमा कविका मनगढन्ते कुराहरु छैनन् । आफ्नो समाज,राष्ट्र,विश्व एवं मानव समाजभित्र देखा परेका विभिन्न उतारचढाव,घट्ना दुर्घटना,विकृति विसंगतिहरुबाट उत्पन्न आश्वत संवेगहरु छन् -
फूलसंग रमाउने चराहरु
दिनहरु अनायास
हिंसामा अनुवाद भएपछि
आफ्नै वासस्थानमा
व्यथित छन्
(विपत्तिमा परेकाछन् चराहरु)
कवि:-  टंक सम्वाहाम्फे
       कवितामा विचार पक्ष सवल छन् । अत्यान्त समसामयिक छन् । यद्यपी कतिपय विचारहरु कविले जवरजस्ती पोखेजस्तो भान हुन्छ । कवितालाई सरल र सहज बनाउने पक्षमा कवि देखिदैनन् । संग्रहित कविताहरु पर्याप्त सार्थक देखिएता पनि कविका कविताहरुले उत्कृष्टता पाउन शब्द,विम्व र लय संयोजनमा अझै निक्कै कसरत गर्नु पर्ने देखिन्छ । भूमिकामा वरिष्ठ साहित्यकार इश्वर वल्लभ लेख्नुहुन्छ - ४१ वटा संग्रहित कविताहरुमा आफ्नै विम्व,प्रतीक या सम्प्रेषणात्मक स्वभाव हुन्छन् त्यसैले प्राप्त समयहरुमा निरीक्षण हुन कठिन पर्छ । यस कविता संग्रहको अर्थपूर्ण शिर्षक र आकर्षक आवरण हुनु पनि राम्रो पक्ष हो । वास्तवमा भन्नुपर्दा यस कृतिको गुणस्तरले गर्दा मात्र होइन सात समुद्रपारिबाट नेपाली साहित्यको श्रीवृद्धि गर्न प्रकाशित कृति भएको कारणले पनि नेपाली साहित्यप्रति गर्व गर्ने जो कोही साहित्यकार एवं पाठकहरुले खोजी खोजी कृतिलाई अध्यायन गर्नु उपयुक्त देखिन्छ ।
[नोट: -व्याकुल माइला (प्रदीप कुमार राई) हाल नया राष्ट्रिय गीतको रचनाकार हुनुहुन्छ ।]
कविता....
"जिउनुको अनेकौं छालहरु"

छाल उपछालहरु
केन्द्रित हुदै
समुद्रको भीषण छालसरी छचल्किने
जिउनुको अनेकौं छालहरु
किनारासम्म नपुग्दै जिन्दगीको
किनारासम्म नछुदै भावनाको
दुर्घटनामा फस्छन् सग्ला विचारहरु
तर पनि दिनखोज्छु आकृति
पोतेर रङ्गहरुले यथार्थका सपनाहरु
खोज्छु अलग्याउन
वास्तविकताको धरातलमाथि
अस्तित्वका हिमालहरु
तर अनायस
परिस्थितिका काला ज्वारहरुले
भत्किन पुग्छन् आस्थाका बलिया बाधहरु
अनि तुहिन पुग्छन् जीवित भैसकेका सपनाहरु
जसको असीम वेदनाले
छट्पटाएर जिन्दगीको दोसाधमा
दोस्न पुग्छु निर्दोष उही भाग्यहरु
छाम्न पुग्छु निर्दोष उही पुर्पुरोहरु
चिथोर्न पुग्छु पुराना उही घाउहरु
तर जेनतेन जिउनु पर्ने जीवन
कुल्चदैं आखा चिम्लेर ती तीता अतीतहरु
खोज्न थाल्छु उत्साहका क्षणहरु
रोज्न थाल्छु नया-नया दिनहरु
जीवन जीवन जस्तै उभिदिओस् भनेर
थप्न थाल्छु पर्खाल अठोटको
बित्दै जाने समयको छातीलाई सुम्सुम्याएर
तर यहा
छैन रहेछ सहज
ओढ्नलाई सफलताका पछ्यौरीहरु
बरु रहेछन् होडबाजीहरु
जिउनुमा
त्यसैले
खोज्छु हरदिन
फराकिला गोरेटोहरु
भेटिदैनन् अकस्मात छाएको अध्यारोले
आवेशले नाघ्न खोज्छु बाधाका पहाडहरु
तै पनि उभिदिन्छु तूफानहरुको पृष्ठभूमिमा
सहदै जोखिम आधीहरु
कोरिंदा रहेछन् त्यहा पनि
कर्तव्यका रेखा छातीभरि
सल्बलाउदा रहेछन् त्यहा पनि
एक डंगुर मृगतृष्णा मनस्पटलभरी
छचल्किदा रहेछन् त्यहा पनि
छाल उपछाल हुदै
जिउनुका अनेकौं छालहरु
समुद्रको भीषण छालसरी
(युद्ध भित्र उभिएका बुद्धहरु कविता संग्रहबाट)

No comments:

Post a Comment