- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 26 September 2013

महाकाव्यका बारेमा

         महाकाव्यका बारेमा 
प्रस्तुति:- महादेव अधिकारी
काठमाण्डौ,हाल-यु.ए.ई.

        महाकाव्य लेखन अत्यन्त जटिल र चुनौतिपूर्ण कार्य हो किनभने यसको निम्ति प्रतिभाको समय,सामर्थ्य, साधना, धैर्य र निरन्तर अभ्यासको आवस्यकता पर्छ।आजको हतार र व्यस्त जीवनका बीचबाट लामो समय निकालेर अनि तनाव ग्रस्त मानसिकतामा धैर्य समेटेर महाकाव्य जस्तो गह्रौँ ,प्रतिभा साध्य र श्रमसाध्य प्रबन्धकाव्यको रचना गर्नु सामान्य मानिसका निम्ति सम्भव छैन।'महत्' शब्दमा 'काव्य'शब्दको समास भई वनेको महाकाव्य शब्दको शाब्दिक अर्थ महान् वा ठूलो प्रबन्धकविता भन्ने हुन्छ। कविताको प्रबन्ध विधा अन्तर्गत पर्ने  र आकार प्रकारका दृष्टिले सबैभन्दा ठूलो एवं काव्यिक मूल्य र गरिमाका दृष्टिले सर्वाधिका महान् कविता नै महाकाव्य हो भन्ने अर्थ महाकाव्य शब्दबाटै निस्कन्छ।
 
       साहित्यिक विधा भएकाले साहित्यका आधारभूत गुणहरू भएको र कविताको महत्वपूर्ण उपविधा भएकाले उपविधागत मौलिक गुणहरू भएको महाकाव्यमा अनुभूति र विश्व दृष्टिकोणको लयवद्ध आख्यानिकरण हुन्छ। सृजना गर्ने क्रममा स्रष्टाका अनुभव समृद्ध तथा कल्पना प्रसूत भाव र विचारहरूको प्रवाहले विस्तारित र दीर्घ रूप लिदै जाँदा तिनको अर्थ वा भावगत अभिछिन्नताका लागि तिनको व्यवस्थित प्रबन्ध गर्नु पर्ने हुन्छ।त्यसैका निम्ति आख्यानिकरणको आवस्यकता पर्छ।रागात्मकता र लयात्मकताले सम्पन्न भाषामा जीवनको सम्पन्नता र विपन्नतालाई समग्रतामा अभिव्यक्त गर्ने महाकाव्य अनुभूतिमा प्रगाढ ,भावमा अनुकरणीय हुन्छ भन्ने मान्यता यस सम्बन्धि चिन्तन गर्ने विद्धानहरूको पाईन्छ।
       मानव जीवनका बहुआयामिक घटना,परिघटना , प्रयत्न, संघर्ष एवं आरोह अवरोहहरू बोकेका कथा उपकथाहरू समेट्ने महाकाव्य अनुभूतिका कुलेसा , खहरे खोला र नदीहरू समेट्दै महा नदीका रूपमा प्रवाहित हुने बृहत् प्रबन्ध कविता हो भन्ने कुरामा महाकाव्य ज्ञाताहरू सहमत छन्। युगिन इतिहास र त्यसका प्रमुख प्रवृतिहरु समेटेर तयार हुने महाकाव्य रूप र अन्तर्वस्तु दुबैमा बृहत् र मूल्यवान हुन्छ। यसलाई संगठीत रूपमा प्रस्तुत गर्न प्रसस्त कसरत गर्नुपर्ने हुन्छ।दुबै पक्षहरूमा विशेष ध्यान दिनु पर्छ। विषय वस्तुको गम्भिरता,घटना परिघटनाहरूको विविधता,चरित्र र प्रवृतिहरूको बहुलता ,युगिन यथार्थहरूको व्यपकता र अनुभूतिको विस्तारित प्रवाह जस्ता अनेक पक्षलाई श्रृङखलित तथा संगठित गर्न शंक्तिशाली संयोजन सुत्रको आवश्यकता पर्दछ।
      संस्कृतमा महाकाव्यको परिभाषा दिनेहरू मध्ये भामह, दण्डी, हेमचन्द्र र विस्वनाथ का परिभाषाहरू तुलनात्मक रूपमा बढी मौलिक, सार्थक र चर्चीत छन्। यद्यपी रूद्रट, आनन्द बर्धन , अभिनव गुप्त लगायत अन्य विचारकहरूले पनि महाकाव्यको परिभाषा गरेका छन्।
भामहको परिभाषा:
सर्गबद्धो महाकाव्य महतां च महच्य यत्
अग्राम्यशब्दमर्थ च सालङ्कार सदाश्रयम्
मन्त्रदूतप्रयाणादि नायकाभ्युदयं च यत्
पञ्चभि: सन्धिभि: युक्त नातिव्यख्येयम् ऋद्धिमत्।
          यस परिभाषा भित्र महाकाव्य सम्बन्धी निम्नलिखित विशेषताहरूको चर्चा गरिएको छ।
१) सर्ग बद्धता:- महाकाव्य सर्गहरूमा तयार पारिएको प्रबन्ध काव्य हो। यसमा अनुभूति प्रवाहको संयोजनका निम्ति अनेक सर्गहरू हुन्छन्। प्रत्येक सर्गले एक विशेष अनुभूति प्रवाहको प्रतिनिधित्व गरेको हुन्छ।
२) आख्यान र चरित्रको महानता:- यसमा प्रस्तुत गरिएको कथाबस्तुले महान् घटनाहरू प्रस्तुत गर्नु पर्छ भने यसका प्रमुख पात्रहरूले अनुकरणीय र महान आदर्श बोकेको चरित्र प्रदर्शन गर्उ पर्छ।
३) भाषा शैलीको उच्चता:- महाकाव्य अग्राम्य भाषा र अलङ्कृत शैलीमा लेखिएको प्रबन्धकाव्य हो । यसको भाषा परिस्कृत (सहरी, व्याकरणिक, औपचारिक , कुलीन) हुनु पर्छ र यसलाई भिन्न अलङ्कार (बिम्ब, प्रतिक पनि) हरूद्वारा कलात्मक पारिएको हुनु पर्छ।
४) सदाश्रयता:- महाकाव्य सत् पक्षमा आश्रित प्रबन्ध काव्य हो। सतका पक्षमा रहेका पात्रहरू र सतका पक्षमा रहेका आदर्श यसमा प्रस्तुत गरिनु पर्छ। यसले नैतिकता र आदर्शका कुराहरूलाई प्रश्रय दिनुपर्छ।
५) संकल्पित विजयी नायकत्व:- महाकाव्य विजयी उद्धेस्यका निम्ति दृढ संकल्प बोकेको विजयी नायकको जीवनलाई प्रस्तुत गर्ने प्रबन्धकाव्य हो।यसमा मन्त्र अर्थात संकल्पको दूत अर्थात सन्देशवाहक हुनुपर्छ। जसले नायक नायिकाका ओजस्वी सन्देशलाई सम्बन्धित शत्रू वा मित्रपक्षसम्म पुराउँछ। नायकले अनेक आरोह अवरोह र अवरोधहरू भोग्दै र संघर्ष गर्दै विजयोन्मुख यात्रा गर्नु पर्छ। अन्त्यमा उसको विजय देखाइनु पर्छ।
६) पञ्च सन्धियुक्तता:- महाकाव्यमा पञ्चसन्धिको उचित निर्वाह हुनुपर्छ। अर्थात नायक-नायिकाको जीवनका मुख्य-मुख्य घटनाहरू , मोड-प्रतिमोडहरू र तिनका वीचको अन्तर सम्बन्ध देखाई समग्र जीवनलाई संगठीत गरिएको कथावस्तु प्रस्तुत गर्नु पर्छ। यस विशेषताले महाकाव्यमा पञ्चसन्धि अर्थात कार्याव्यवस्था र अर्थ प्रकृतिको उचित प्रबन्धन भएको हुनुपर्छ।
७) अति व्याख्येयता:-   महाकाव्य धेरै नै ठूलो पनि हुनु हुँदैन। अति व्याख्येयले महाभारत र रामायण जस्ता आर्षमहाकाव्य तर्फ संकेत गर्छ। जो अति विशाल छन्।
८) समृद्धता:- महाकाव्य समृद्ध प्रवन्धकाव्य हो। यसमा उपविधागत विशेषताहरूको समृद्धता हुनु पर्दछ। खास गरी बस्तु नेता र रस महाकाव्यका प्रमुख तत्व हुन्। यी तीनै तत्वहरू समृद्ध हुनु जरूरी छ।
      समग्रमा: सर्गहरूमा संगठित, महान् आख्यानीकरण भएको, परिस्कृत भाषामा लेखिएको, कलात्मक उच्चता भएको, सत्यमा आश्रित, नायकको विजयमा टुङ्गीएको, पञ्चसन्धिले युक्त र आकार प्रकारमा वृहत् प्रबन्धकाव्य नै महाकाव्य हो।
क्रमश.......
 प्रस्तुती :- महादेव अधिकारी
                      (सन्दर्भ स्रोत:तेस्रो आँखाको आलोचना)