- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Saturday 26 January 2013

'रुबाई'बारेमा-डा. गोविन्दराज भट्टराई

         सौन्दर्य, प्रेम, भक्ति र बैराग्यको संगीत सरोवर― रुबाई      
                                                                       -डा. गोविन्दराज भट्टराई

       नेपाली साहित्यले सबै विधा पैचो र उधारो गर्दै आज आफ्नो ढिकुटी टम्मै भर्न लागेको स्थिति छ। काव्य र नाटकका स्वरूपहरू संस्कृतबाट ग्रहण गर्‍यो . उपन्यास, कथा, निबन्ध र अन्य अनेक प्रकारका आख्यानेतर गद्य विधा भने पश्चिमबाट लियो। हाम्रा सबै छन्द श्लोकहरू संस्कृतबाट आए। लोक छन्द गेय भाकाहरू मूल छन्दबाटै विकसित भए। हाम्रो जस्तै सबै आर्य–भारोपेली भाषाले संस्कृतबाटै लिएका छन् . अत्य भाषाले प्रभाव ग्रहण गरेका छन्। त्यसमा आफ्ना मौलिक आविष्कारहरू मिसाउँदै गए। अन्य कुरा अरू भाषाबाट पनि ग्रहण गर्दै गएका छन्। नेपाली पनि ती सँगै छ। नेपाली काव्य विधा अत्यन्तै सम्पन्न छ। खासगरी नेपाली कविताभित्र प्रवेश गर्दा अरबी फारसीदेखि हिन्दी, मैथिली हुँदै टाढाका जापानी कोरियाली आदि भाषाबाट पनि नेपालीले ग्रहण गरेको छ। यो ग्रहणशीलताको हामीले स्वागत गर्नु पर्दछ। सबै भाषामा यो शक्ति हुँदैन, अङ्ग्रेजीले पनि यसरी लिन सकेको छैन। हामीले पनि अङ्ग्रेजीको कुनै कुरा लिएका छैनौँ।
      आज नेपाली काव्य परम्परामा गजल, रुबाई, ताङ्का, हाइकु, सिजो जस्ता आकृतिहरूलाई नेपालीले आफ्नो घरमा भियाउँदैछ। यसमा आश्चर्य छैन― खेल, सङ्गीत, खानपिन, बस्त्र अब एउटै देशको मात्र रहेन, त्यो विश्वकै सम्पदा भएको छ। साहित्य पनि त्यस्तै हो।
     आज नेपालीका रुबाई स्रष्टा पनि जुर्मुराएका छन्। त्यसपछि हाइकु आयो। यसमा अभि सुवेदीले सिद्धान्त गरे राकुमार पाण्डेहरूको समूहले सिर्जना गरे। आज हाइकु स्रष्टामा विष्णुबहादुर सिंह, केदार सङ्केतहरू धेरै छन्। जापानी कविता पद्धति 'ताङका' र अन्त्यमा कोरिअन 'सिजो' भित्रिए। यसरी नेपालीले विविध विश्वबाट ग्रहण गरी आफूलाई सम्पन्न बनाउँदै छ। त्यस्तामा कृष्ण प्रसाईं, पुस्कर लोहनी आदि यता लागेका छन्।
रुबाई फारसी भाषाको काव्यात्मक छन्द परम्परा हो। पहिलो, दोस्रो र चौथो हरफका अन्त्यानुप्रास मिल्ने, तेस्रो हरफ भिन्न हुने (ककखक संरचारको) यो चार लाइनको एक श्लोक (quatrain) को रचना हो। एक श्लोकलाई बाई (RUBAI) र धेरै श्लोकको सङ्ग्रहलाई रुबाईयात (RUBAIYAT) भनिन्छ। एघारौँ शताब्दीका फारसी कवि ओमर खैयाम (१०४८―१११३) को यो महान् आविष्कारले उच्च काव्यात्मक रूप लियो। खैयाम बहुप्रतिभाका धनी थिए― दार्शनिक, गणितज्ञ, ज्योतिषशास्त्री अझै ठूला कवि। तत्कालीन फारसको नैशापुरमा जन्मेर उनले समरकन्दमा उच्च शिक्षा ग्रहण गरे अनि बुखारा पुगेर मध्ययुगकै सबैभन्दा ठूला गणितज्ञ, ज्योतिषशास्त्री र कवि कहलिए। खैयाम ठूला दार्शनिक र मानवतावादी काव्यकार हुन्।तर उनलाई विश्वले धेरै पछिदेखि मात्र चिन्न थाल्यो। सत्रौँ शताब्दीका टमस हाइडले अङ्ग्रेजी भाषामार्फत उनलाई पाश्चात्य जगतमा चिनाए। त्यसभन्दा निकै पछि उन्नाइसौँ शताब्दीका महान् अङ्ग्रेजी साहित्यकार एडवार्ड फिट्स्जेराल्ड ले अङ्ग्रेजीमा Rubiyat of Omar Khaiyyam शीर्षकमा ओमर खैयामका रुबाईहरूको अनुवाद गरेपछि विश्व चकित भयो।
पाँचसय वर्ष अन्धकारमा रहेका ओमर खैयाम फिट्स्जेराल्डले अनुवाद गरेको एक सय वर्ष भित्र सयौँ भाषामा, सयौँ संस्करणमा हुन पुग्ने। धन्य यी विश्व महाकविलाई उनको प्रेम र भक्तिका, यौवन र तृप्तिका, बैराग्य र ईश्वरत्वका अद्भूत रहस्यवादी कविताले नेपाली स्रष्टालाई पनि आजभन्दा छ दशक अघि नै छोएछ, आज त्यो झन्झन् विस्तार हुँदैछ। प्राय सबै भाषामा अनुवाद उन्नाइसौँ शताब्दीमा नै भए। एडोल्फ फ्रेडरिक भोन श्याकले जर्मनमा, जेबी निकोलासले फ्रेन्चमा, अहमद रामीले अरबीमा, शङ्कर कुरूपले मलायालममा, रामि रेड्डीले तेलुगुमा, काजी नजरुल इस्लामले बंगालीमा, मैथिलीशरण गुप्ताले र हरिवंश राय बच्चनले हिन्दीमा । यस्तैगरी रुबाइहरू रसिअन, पोलिश, अफ्रिकी, स्वेडिश गर्दै पूर्वका अनेक भाषामा पुगे तर कसैले नेपाली भाषाको नाम उल्लेख गरेका छैनन। अङ्ग्रेजी, जर्मन फ्रेन्च, रसिअन जस्ता एउटै भाषामा बीसौँ संस्करण (भर्सन) पनि अनूदित छन्। अनेक भाषामा त्यसको प्रभावले मौलिक रुबाई पनि लेखिँदैछन्। तीमध्ये नेपाली एक हो। विश्वका असङ्ख्य चिन्तक, दर्शनिक, योगी र कविहरू ओमर खैयामका रुबाइयातबाट अति प्रभावित छन्। यसको प्रमुख कारण के हो भने ती रचनाका बाह्य आवरणमा भौतिक जगतका भोग विलाश, हाम्रा तृष्णा, सुरा सुन्दरी आदिको चित्र भए पनि त्यसको हृदयमा एक आध्यात्मिक पुञ्ज छ। प्रकृति र प्रभुप्रति समर्पण छ। यसमा अन्तर्निहित गहिरो रहस्यपूर्ण आध्यात्मिक शक्तिले नै जगत्लाई सधैँसधैँ आकर्षित गरेको छ। यसले जीवनको अन्तिम मार्ग देखाउँछ। त्यसको पृष्टभूमिमा सुखभोग र विलाशले तृप्ति खोज्ने नश्वर चोला छ।
ओमर खैयामले हजार श्लोक जति रुबाइयातको रचना गरे होलान् भनिन्छ तर ती सबै उपलब्ध छैनन्। अरू भाषामा पनि चुनिएका श्लोक मात्र अनुदित छन।रुबाइयातको विषय कति त भौतिक विश्व, यौवन, प्रेम र जगत्को क्षणभङ्गुरता छ, फेरि जीवनको दर्शन, प्रकृतिको खेल र ईश्वरको विधान पनि छ। वास्तवमा यसमा रहस्यवाद छ, जीवनको गहिरो दर्शन छ। फिट्स्जेराल्डल खैयामको मौलिक छन्द (संरचना) बचाउने प्रयत्नमा यसरी अनुवाद गरे।

A Book of verses underneath the Bough
A Jug of wine and a loaf of bread and Thou,
Beside me singing in the wilderness,
And oh, wilderness is paradise enow.

"वृक्षको छहारीमा एउटा कविताको पुस्तक अनि
मदिराको प्याला, एक रोटी साथमा तिमी पनि
मेरो छेउमा तिमी गाइरहेकी त्यो वन्यतामा
आहा त्यो वन्यता नाचेको आज नयाँ स्वर्ग बनी"

      वास्तवमा खैयामका रुबाईयातहरूमा इस्लाम धर्मले मानेको रहस्यवादको परिष्करण हुन्छ। यसले सुफी मतको भक्ति गीत गाउँछ। त्यसैले उनको अन्तरहृदयमा ईश्वर–भक्ति र प्रेम नै प्रमुख तव रहेको तथ्य प्रकट पार्दछ। उनले सुरा र सुन्दरी प्रेमको जुन सन्दर्भ उठाएका छन् ती रहस्यवादी छायावादी सुरा र ईश्वरीय प्रेमका समर्पणमा विलयनका कुरा हुन्। ती रूपकात्मक कुरा हुन् भनिन्छ। फेरि कतिले त अर्का अर्थ पनि लगाएका छन्― खैयामले शरीरको क्षणभङ्गूरता र नश्वरता बुझेर, मृत्युको आपरिहार्यता बुझेर, ती तवको सहारा लिएका हुन्।
      यसपछि म खैयामका रुबाईहरूको नेपाली अनुवादको प्रशङ्गलाई अलिकति जोड्न चहन्छु। नेपालीमा सर्वप्रथम अरबी, फारसी, उर्दू हुँदै हिन्दी पुगेको गजललाई मोतीराम भट्टले भियाए आज यो अत्यन्तै लोकप्रिय विधा भएको छ। त्यसपछि अरवी मूलकै रुबाई भित्रियो। रुबाईका आदि गुरु हुन् उमर खैयाम। मैले देखेकोमा आजसम्ममा सातजना नेपाली स्रष्टाले खैयामलाई नेपालीमा ल्याएका छन्। नेपालीमा पनि उमर खैयामका रुबाईहरूको अनुवाद हुन थालेको छ दशक पगेछ। नेपाली साहित्यको आधुनिक कालको आगमन सँगै रुबाइयातको अनुवाद हुन थालको देख्ता बडो आनन्द लाग्दछ। सबैभन्दा पहिलो सन् १९५१ (२००८ साल) मा दार्जीलिङका ओकियुयामा ग्वाइन ले उमर खैयाम शीर्षकमा रुबाइयात अब ओमर खैयामको अनुवाद गरे। त्यहाँदेखि आजसम्मको उमर खैयाम अनुवादको विवरण निम्नानुसार छः

१. उमर खैयाम (१९५१ वि. सं. २००८) अनु. आकियुयामा ग्वाइन, दार्जीलिङ
२. खय्यमको रुबाई (१९७५ वि. सं. २०१४) अनु. जगत राई दार्जीलिङ
३. उमर खैयामबका रुबाई (२०१५) अनु. नवीन्द्रप्रसाद बान्तवा, दार्जीलिङ
४. उमर खैयामका रुबाई (२०२१) अनु. दुर्गाप्रसाद भट्टराई
५. उमर खैयामका रुबाईहरू (२०२५) अनु. बुद्धकुमार मोक्तान, रत्नपुस्तक भण्डार
६. उमर खैयामका रुबाई (२०२६) अनु. फणीन्द्रप्रसाद आचार्य, काठमाडौँ
७. उमर खैयामका रुबाईहरू (२०३२) अनु. केदार सत्याल, रँगेली, विराटनगर

     यसरी हेर्दा सरदर दशकको एक अनुवादकले खैयामका रुबाईको अनुवाद गरेको देखिएता पनि अन्तिम अनुवादक केदार सत्याल पछि चालीस वर्ष पुग्न आँटे, नयाँ अनुवादकका संस्करण देखिएका छैनन्। बरु सत्यालकै रुबाईको गतवर्ष दोस्रो संस्करण आएको छ। प्रत्येक समयलाई नयाँ सिर्जना चहिएझैँ प्रत्येक क्लासिक कृतिका नयाँनयाँ अनुवादको पनि निरन्तर अवश्यकता परिरहने रहेछ। ओकियुयामा ग्वाइन नेपालीमा गीताञ्जलीको अनुवाद गर्ने पनि पहिलै स्रष्टा हुन्। दार्जिलिङबाट जीवन आरम्भ गरे पनि उनले साहित्य साधनाको जीवन नेपालमै बिताए। आजभन्दा छ दशक अघि यी महाकवि (खैयाम) को परिचय नेपालीमा ल्याई चिनाउने उनको कर्मलाई आधार मानेर हेर्दा के देखिन्छ भने रुबाईयात अनुवादको दार्जीलिङले नेतृत्व गर्‍यो, नेपालले साथ दियो। परिणामस्वरूप नं. १, २, ३ दार्जीलिङबाटै आए नं. ५, ६, ७ नेपालबाट नं. ४ ले कहाँबाट प्रकाशित गराए पत्ता लागेको छैन।
    ‘रुबाई’ शब्दबारे यसमा केही जिज्ञासा बाँकी छन्। कसैले ‘रुबाइ’, कसैले ‘रुबाई’, कसैले ‘रुबायत’ कसैले ‘सबैयत’ भनेका छन्। कसैले ता रुबैयात, रुबायत पनि भनेका छन्। तर यथार्थतामा ‘उमर खैयामको रुबाई’ जस्तो शीर्षक अनुपयुक्त लाग्दछ। यसको शीर्षक ता ‘ओमर खैयामका रुबाईहरू’ भन्नुपर्छ अथवा ‘उमर खैयामका रुबाइयात।’
      कृतिको शीर्षक मात्रा होइन स्रष्टाको नाम पनि विविधरूपले उच्चारित छ’ यसलाई ओमर खयाम, उमर खैयाम, उमर खैय्याम आदि गरेका छन्। तर सजिलो र एकरूप ता ‘उमर खैयाम’ नै हुन्छ होला।
सबैले नै स्रोतभाषा ‘अङ्ग्रेजी’ भनेका छन् तर यो कुरा पनि निश्चित गर्न मुश्किल छ। अङ्ग्रेजीमा सर्वप्रशिद्ध संस्करण ता फिट्स्जेराल्डको रुबाइयात अव् ओमर खैय्याम नै हो तर त्यसपछि अहिलेसम्म पच्चीसभन्दा बढी ‘भर्सन’ हरू अङ्ग्रेजीमा उपलब्ध छन्, कसको कुन शीर्षकबाट गरियो होला यो भन्न मुश्किल छ। ती सबै उपलब्ध प्रति जुधाएर हेरेपछि मात्रै थाहा हुन्छ। फेरि खैयामका हजार रुबाईमा कुनकुन परे होलान् भन्न मुश्किल छ। म ठान्दछु― नेपाली स्रष्टाले बंगाली र हिन्दीबाटै लिएको हुनुपर्छ।
      वास्तवमा मेरो उद्देश्य ता अनूदित नेपाली रुबाइयातको प्रशङ्ग उठाउनु थिएन। म प्रकाश आङ्दम्बे का रुबाईहरूको सङ्कलन रुबाइयात पढ्न बसेको थिएँ पढेर ती माथि लेख्न बसेको थिएँ। तर मलाई लाग्यो यो हजार वर्ष लामो सूफी सत्यको प्रकाश, त्यो रहस्यवादी अध्यात्म गीतसित हाम्रा पाठकलाई अलिकति परिचित गराऔँ।
     हजार वर्षको यात्रापछि भारतवर्षमा प्रवेश गरेको रुबाईका प्रतिकृति लेखक प्रकाशलाई सम्झिन्छु― उनी त्यहाँ मेरो आँगनको डीलैमा बसेर यो देशले सुन्नेगरी नेपाली वाङमयको गीत गाइरहेका छन्। कहिले नाटक भएर, कहिले कथा, कहिले कविता, फेरि गजल र हालका रुबाइयत उनी संयोजक, उत्साही, प्रयोगधर्मी र युवाचेतनाका अगुवा पनि हुन्। उनले उत्पन्न गरेको उज्यालोले समय धेरै हिँड्यो अझ धेरै हिँडिरहने छ।
यी रुबाईहरू पढेपछि मलाई लाग्यो― प्रकाशले यसको संरचनाको एउटा पक्षलाई यथावत राख्न सफल प्रयत्न गरेका छन्। त्यो हो अनुप्रास ककखक संरचना ।तर संरचना त रुबाइको शरीर मात्र हो। नेपालीमा हजार वर्षअघिको इस्लामी सूफी संसारले बुझेको रहस्यवाद, अनि यस्ता रुबाई लेखाउने महान स्रष्टाको कुनै कुरासित तुलना छैन। हामी केही अनुकृति मात्र गर्न सक्तछौँ। त्यो दार्शनिक धरातल पनि छैन। एक अनुगुञ्जन मात्र संभव छ।
     प्रकाशका रुबाईहरू गजल―सिर्जना प्रभावित छन्। उनका यी रचनाहरू प्रायशः कुनै प्रेमीसँगको मनोवाद अथवा परित्यक्त मनोजगत् अथवा जगत्का दैनन्दित कृत्यमाथि उपहास र व्यङ्ग्य छन् कति ठाउँमा आत्मप्रकाशन र अस्वीकृति औ खैयामकोझैँ बैराग्यभाव देखिन्छ तर त्यो वैराग्य चेतना आध्यात्मिक वा मिस्टिक नभएर भौतिक जगतको सामान्य उपेक्षा वा निराशा मात्र हो।जीवनको गम्भीर अर्थमाथि, क्षणभंगुरता माथि, छेउमा ढुकिरहेको मृत्युलाई सम्झेर जो लेखे त्यो साश्वत सत्यको चित्रले जगत्लाई छोएको हो। म यहाँ फेरि फिट्स्जेरल्ड अनुदित दुइवटा ‘रुबाई’ नेपाली अनुवादमा यहाँ राख्न चाहन्छु।

vii
Come, fill the Cup, and in the fire of Spring
Your Winter-garment of Repentance fling:
The Bird of Time has but a little way
To flutter–and the Bird is on the Wing.

पाश्चात्तापको तिम्रो शिशिर आभूषणलाई मिल्काइदेऊ
आऊ यो प्याला भरेर वासन्ती आगोमा सल्काइदेऊ
समय पंछीको उड्ने समय पनि सकिनै लाग्यो
अब पंछीलाई एकैछिन बरु यसमा पल्काइदेऊ

viii

Whether at Naishapur or Babylon,
Whether the Cup with sweet or bitter run,
The Wine of Life keeps oozing drop by drop,
The Leaves of Life keep falling one by one.

नैशापुरमा होस् या बेलिलोनमा
त्यो प्याला मधुर होस् या तिक्ततामा
जीवनको सुरा थोपाथोपामा झर्दैछ
जीवनका एकएक पत्रहरू खसेर व्यर्थमा

      यो निराशा र हतासामा जीवनको अन्तिम सत्यले छोएको छ। एक प्रकारको वैराग्य भावले भरिएको छ। यहाँका प्रत्येक कवितांश आफैँमा पूर्ण भए पनि अघिल्लो र पछिल्लो श्लोकको कथ्यसँग जोडिएकै हुन्छ।
प्रकाशको प्रस्तुति चोटिलो छ। हरेक रुबाईमा जुन विरोधाभाषको स्थितिबाट चरमोत्कर्ष पुग्दछ त्यो अति समान्य विषयको असामान्य स्थिति चित्र लाग्दछ।
     यति विहंगम उडान पश्चात मेरो मन प्रशन्नताले भरिएको छ। नेपाली कविता काव्यलाई सम्पन्न बनाउनेमा प्रकाशको नाम पनि लेखिने छ र उनको यी रचनाले पाठकलाई महान् दर्शनिक कवि ओमर खैयामको बन्दना गर्न सिकाउने छन्, म चाहन्छु, नेपाली रचना पनि उनको दर्शनिक धरातल र गहिराई अनुसार हुन सकून। यद्यपि यस्तो दिन आउन समय लाग्दछ।
२०, भाद्र २०६९ प्राध्यापक (अङ्ग्रेजी)
ट्याङ्लाफाँट, कीर्तिपुर त्रिभुवन विश्वविद्यालय

tu.govinda@Gsmail.com काठमाडौँ, नेपाल
[साभार:- www.prakashangdembe.com]