चेतना
चित्रमा ब्रहृमाण्डमा छरिएर रहेका अवचेतनाका टुक्राहरू मानव मस्तिष्कमा
प्रवेश गरेका छन् । ती अवचेतनाका टुक्राहरू झिल्ली वा बीचको पर्दाबाट छानिएर
चेतनाको भागमा प्रवेश गरेका छन् । चेतनाको प्रवेशसँगै ज्ञानले प्रवेश गर्दछ र भय
प्रारम्भ हुन्छ ।
चेतनाले समस्याबारे ज्ञान दिन थाल्छ अनि भयका पाइलाहरू बढ्न
थाल्छन् । कुनै बालकले जन्मने बित्तिकै भयको रूप देखेको हुदैन । उसलाई कसैसित भय
हुदैन । ऊ तला माथिबाट भुँइमा लड्दा पनि चोटपटक नलाग्नु देवताले बोकेर भन्ने
अन्धविस्वास छ तर त्यसको कारणले नभई उसको विवेक न्युन भएकोले हो । बालकको कुरा
मात्र होइन कसै मान्छेलाई दुश्मनले खेदिरहेको छ, पुलिसले खेदिरहेको छ भने ऊ जस्तो
भीरबाट पनि हाम फाल्न सक्छ र उसलाई चोटपटक नलाग्नुको कारण पनि बालकको विवेक न्यन भए
जस्तै हो । मान्छेहरू भयरहित हुँदा सामान्य अवस्थामा गर्न नसक्ने काम पनि गर्न
सक्छन् । यसको अर्थ मान्छेमा शक्तिको अपरम्पार मुहान लुकेर बसेको हुन्छ । त्यो
शक्तिलाई उपयोग गर्ने मान्छेहरू प्रसिद्ध भएका छन् । समाज, परिवार र विभिन्न
व्यवहारिक कारणले मान्छे आफूलाई त्यागेर वैराग्य जीवन बिताउँदा ऊ अभूतपूर्व काम
गर्न सफल भएको हुन्छ । कुनै काममा पागल जस्तो दत्तचित्त भएर लाग्नु पनि आफैमा भयबाट
केही अंश अलग बस्नु हो । बच्चाहरू हुर्किन्दै गएपछि व्यवहारिकताको नाममा भय
थुपार्दै गइन्छ, उनीहरूको शक्ति, साहस मर्दै जान्छ र भयभीत जीवन बाँच्न विवश
हुन्छन् । यो प्रकाशकीय हुन्छ र घाम उदाउने बित्तिकै वा पानीमा प्रकाश पर्ने
बित्तिकै एकै पटकमा अनगिन्ती किरणहरू छरिएजस्तै हुन्छ । ठीक त्यसरी नै मान्छेमा जब
चेतना प्रवेश गर्छ अनगिन्ती समस्याहरूसँग एकै पटक ठक्कर खान्छन् । यी सबै समस्याहरू
भयका विभिन्न रूपहरू हुन् । एउटा एउटा समस्यासित भय खण्डित हुन्छ । हामी ती समस्या
समाधानको निम्ति जीवन उर्त्र्सग गर्र्छौ । भयको कारणले प्रत्येक आनन्द, सुख,
सहजताबाट हामी बन्चित भैरहेका हुन्छौं । "मस्तिष्क ग्रहणशील र निस्क्रिय हुनुपर्छ"
भन्ने भनाइपनि बालकको विवेक शून्यसँग नजिक हुन खोजेको देखिन्छ । चेतनाबाट भय
प्रारम्भ हुन्छ र यही भयलाई निर्मूल पार्न सारा जीवन व्यतित गर्नुपर्ने हुन्छ । यही
भयको सक्रियताले मान्छेले आफ्नै प्रकारको संसार सृष्टि गर्न खोज्दा रहेछन् । ती
संसारमा पनि भयले हस्तक्षेप गरिरहेको हुन्छ । यहाँ एक प्रकारको प्रगति भैरहेको
हुन्छ भय र संसारको निर्माण । तर यी दुवै आफूभित्रबाट भैरहने प्रगति हुन् । भयलाई
धकेल्न मान्छेको तमाम समय गइरहेको हुन्छ । तर धकेल्न सक्दैन मान्छे । बरु भयको
ज्ञात भएपछि त्यसलाई क्रमशः न्युन गर्दै लान सक्छ । कुनै एउटा भूतघर छ वा अति नै
डरलाग्दो ठाउँ छ । डर मान्दामान्दै पनि दिनदिनै त्यहाँ गइयो भने धेरैजसोको डर कम
हुँदैजान्छ । केही मान्छेको नहुन पनि सक्छ । त्यस्तै मृत्युको मुखमा पहिलोपटक
पुग्दा प्रायः मान्छेलाई अति नै डर लाग्छ, तर बारम्बार गइयो भने कम हुँदैजान्छ ।
युद्धमा जाने मान्छेहरू पहिलोपटक साह्रै डराउँछन् । तर पटकपटक गएपछि डर कम हुँदै
जान्छ । यसरी नै जीवनका तमाम भयहरूलाई कम गर्दै लान सकिन्छ ।
भयवाद प्रवर्तक:- देश सुब्बा