- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Tuesday 4 December 2012

अन्तर्वार्ता: दीप्स् शाह

                      मझेरी भलाकुसारी, अंक ९ - (दीप्स शाह)
                                   
                                                                [स्रष्टासँग कुराकानी:- मझेरी सञ्चालक  ०८-०२-२०११ ]
- दीप्स्  शाह
# नमस्कार दीप्स जी! मझेरी भलाकुसारीमा स्वागत छ । शुरुमा, आफ्नो व्यक्तिगत तथा साहित्यिक परिचय दिनुस् न ।
> नमस्कार यहाँलाई पनि! साथै धन्यवाद पनि । म दीप्स शाह, धादिङ् थाक्रे-८ जुगेखोला मेरो जन्मस्थान । विवाहित, हालको बसाइ काठमाण्डौ र तत्काललाई भने बैदेशिक रोजगारको क्रममा मध्यपूर्बी मुलुक इजरायलमा कार्यरत छु । साहित्यिक परिचय भन्नुपर्दा म समाजशास्त्रसँगै नेपाली साहित्यमा स्नातक गरेको साहित्यको विद्यार्थी हुँ ।धेर थोर लेख्छु र साहित्यसँग सम्बन्धित साथीहरूले दीप्स शाह भनेर चिन्नुभएकोछ ।
# साहित्य क्षेत्रमा कसरी प्रवेश गर्नुभयो?
> साहित्य मेरो रुचिको कुरो थियो सानैदेखि । फुर्सदको समयमा जतिबेला पनि केही न केही पुस्तक अध्ययन गरिरहने मेरो पुज्य बाबाको बानीले मलाई पनि अध्ययनतर्फ आकर्षित गर्यो र खासमा बाबाकै प्रेरणाले मेरा पाइला साहित्य तर्फ मोडियो भन्ने मलाई लाग्छ ।
 
# नेपाली तथा अन्तराष्ट्रीय भाषाका साहित्यमा मनपर्ने लेखक को हुन्?
> मनपर्ने त धेरै अग्रज लेखकहरू र पुस्तकहरू छन् । तर म लगाब र साधना दुबैका हैसियतले शिशु लेखक हुँ । त्यसैले मेरो अध्ययनको दायरा पनि सानो नै रहेको हुँदा तोकेरै छान्ने अवस्थामा आफू पुगिनसकेको मेरो ठहर छ । यद्यपि सरसर्ती सम्झेर भन्नुपर्दा तसलिमा नसरिन, भाल्दिमिर नाबोकोब, म्याक्सिम गोर्की लगायत नेपाली लेखकहरूमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, सरुभक्त, युवराज नयाँघरे, पद्मावती सिंह र अन्य पनि धेरै हुनुहुन्छ जसको पुस्तक मैले एक बार होइन बारबार पढेको छु ।
# तपाईंका हालसम्म प्रकाशित गर्नुभएका कृतिहरू बारेमा बताइदिनुहुन्छ कि?
> मैले पुस्तकाकारको रुपमा प्रथमपटक २०६२ सालमा 'प्रसून' नाम दिएर एउटा साहित्यिक सँगालो बाहिर ल्याएको थिएँ । त्यसपछि गत बर्ष, यानेकि २०६७ मा, "आगो" कविता संग्रह बजारमा ल्याएँ । भर्खरै मात्र "आगो" कै दोस्रो संस्करण पनि बाहिर आइसकेको छ जुन यतिबेला व्यवस्थापनको तयारीमा छ ।
 
# केको निम्ति लेख्नुहुन्छ ?
> पहिलो त म आफ्नो आत्मसन्तुष्टिको निमित्त लेख्छु । र दोस्रो भनेको आफूले केही लेखेर आफ्नो ज्ञानको दायरा फराकिलो पार्नुको साथसाथै पाठकलाई केही दिन चाहन्छु जसले थोरै मात्रै भए पनि केही सान्त्वना, केही भरोसा र केही ज्ञान मिलोस् । समय र समाजलाई नियाल्ने दृष्टिकोणमा केही राहत र नयाँपन आओस् ।
# अहिलेसम्म के कस्ता पुरस्कार र सम्मान पाउनुभएको छ ?
> छिटफुटको हिसाबमा गीत, कविता लेखेर स्कुल कलेजमा पाएका पुरस्कारका सम्झना स्मृतिमा छन् । तर समय र नाम उस्तो सम्झन सक्दिन । औपचारिक रुपमा लेखेरै पाएको भनेको "आगो" ले पाएको २०६७को नइ गणेश-दुर्गा पुरस्कार र सन् २०१० को अनलाइन लिटरेचर का तर्फबाट "कवितातर्फ उत्कृष्ट" सम्मान ।
# आफूले आफूलाई कुन बिधाको लेखकको रुपमा परिचय गराउन चाहनुहुन्छ ?
> साहित्यका सबै विधालाई मायागर्दागर्दै पनि म आफूलाई कविताको क्षेत्रमा स्थापित गराउन चाहन्छु । तर अनुभूतिले बिधा माग्दो रहेछ । सायद त्यसैले कविता बाहेकको बिधामा पनि हात भने हालिरहेको छु ।
# निकट भविष्यमा केही विशेष योजना छ?
> भर्खरै आएको "आगो" को दोस्रो संस्करणमै अल्मलिएको छु अहिलेलाई । त्यस्तो त खासै केही छैन निकट भविस्यमै । तर सम्भवत: अबको पालो भनेको कुनै आख्यानिक कृति बाहिर आउन सक्छ ।
 
# तपाईंलाई कस्तो समयमा भावना फुर्न र लेख्न आउँछ?
> म अब यो बिषयमा लेख्छु भनेर लेख्न बसेर अति कम लेख्छु । त्यसैले यस्तो बेलामा नै लेख्न आउछ भन्ने छैन । दृष्य, घटना, वातावरणले प्रभाव पारेको कुनै पनि बेला भावना फुर्न सक्छ र समय मिलाएर त्यसैलाई खेस्रा बनाउने गर्छु । त्यसैले मेरा लागि भावना फुर्ने अनुकुलताको कुनै निश्चित समय र स्थान नै हुँदैन, जहाँ पनि जतिबेला पनि भावना फुर्न सक्छ ।
# पत्रकारिताको पनि अनुभव रहेछ । के-कस्ता कामहरू गर्नुभयो ?
> पत्रकारिताको क्षेत्रमा मैले बजार प्रतिनिधिदेखि सह-सम्पादक सम्मको कार्यभार सम्हालेको छु केही सीमित समयको लागि । त्यस अवधिमा केही जीवनी पुस्तकको सम्पादन पनि गरेको थिएँ ।
# पत्रकारिता र साहित्य लेखनका बिचका समानता र भिन्नता के पाउनुभयो ?
> पत्रकारिता र साहित्य लेखनको केही प्रकृति मिल्दोजुल्दो पाएँ । लेखन आखिर लेखन नै हो । तर पत्रकारितामा भावनाको लम्बाइ-चौडाइको सीमा साहित्यलेखनको तुलनामा साँघुरो हुन्छ । अर्थात् साहित्यलेखनमा भावनाको फैलावटसँग सम्झौता गर्नु त्यति पर्दैन जहाँ पत्रकारितामा निश्चित दायराभित्र रहेर गहन र प्रत्यक्ष जिम्मेवारी अनुसार काम गर्नुपर्ने हुन्छ । तर बिचारको सम्प्रेसणका हिसाबले पत्रकारिता र साहित्य लेखन दुबै मेरा रोजाइका रहे ।
# एउटा लेखक बिदेसिनुपर्दा कस्तो अनुभव हुँदो रहेछ ?
> पेटको सवालमा बिदेसिनु परेका सबै मनहरूको अनुभव एकै हुन्छ अवस्य र त्यो अनुभव हो पीडा । जुन मैले पनि अनुभूत गरेँ । तर एउटा लेखकको मनबाट नियाल्दा भने अझै बेसी मन कोतरिएको महसुस मैले गरेको थिएँ/गर्दैछु । बिचारको बुलन्दीमा लागिपरेको मान्छेले खतराको सामना गर्न र हरेश नखान सिकेको हुन्छ चाहे त्यो लेखेरै बिचार सम्प्रेषण गर्ने किन नहोस्, अनि बिचार र भावनाको कमी कहाँ हुन्छ र! हाम्रो देशमा पनि थिएन/ छैन । कमसेकम तिनै ताजा सोचबिचार र चेतनाका शब्द खेती गरेरै पेट पाल्न सकिने बातावरण हाम्रोमा किन भएन? कस्ले हुन दिइरहेको छैन? भन्ने प्रश्नले बेसरी कोतरेको थियो बिदेश लाग्दको क्षण र आज पनि ।
# ईजरायलतिर के-कस्ता साहित्यिक गतिबिधिमा संलग्न हुनुहुन्छ ?
> इजरायल सानो मुलुक आँफैमा । नेपालीहरूको सङ्ख्या पनि ज्यादै कम्ती अनि तीमध्ये साहित्यिक रुचीका मनहरू त झनै न्यून । तर यति बिचमा पनि हुने गरेका सबैजसो साहित्यिक गतिबिधिमा सकेसम्म मेरो
सहभागिता रहँदै आएको छ । चाहे त्यो कवि गोष्ठी, साहित्यिक छलफल बिमर्श होस् या कुनै प्रेरक अग्रजहरूको सम्झना पूण्य तिथिहरूमा हुने साहित्यिक जमघट नै किन नहोस् ।
# तपाईंका कविताहरूमा शब्द संयोजन, प्रस्तुति र भावनात्मक रुपमा निकै जमेको देखिन्छ । यो मात्र प्रतिभा हो या केही हदसम्म कसरत पनि गर्नुहुन्छ ?
> कसरत भन्नाले कस्तो ? साहित्यसम्बन्धी पुस्तक पत्रपत्रिका, अन्य सिर्जनाको अध्ययनलाई इंगित गर्नुभएको हो भने ती त म अवस्य गर्छु । अध्ययन र साधना बिनाको सिर्जनामा दम हुँदैन यो मेरो अनुभव र मान्यता दुवै हो । अब यसमा आंशिक भूमिका भने आफूमा निहित प्रतिभाको त हुन्छ नै अवस्य ।
# कस्ता कृतिहरू जन्माउन चाहनुहुन्छ ?
> साहित्यले समाजलाई सधैँ सकारात्मक बाटोतिर उन्मुख गर्दै समय र परिवेशअनुसार चल्न र ढल्न दृष्टिगोचर गर्नसक्नुपर्छ भन्ने मान्यता राख्छु म । र अबको साहित्यले समस्याको उजागर गरिकन त्यसको निदान पनि प्रस्ट्याउने क्षमता राख्नुपर्छ । मेरा सिर्जनाका उद्देश्य पनि यिनै र यस्तै कृति पस्किने नै हो । मेरो लेखन प्रयासरत छ ।
# आफ्नो व्यक्तिगत र साहित्यिक जीवनसँग कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
> व्यक्तिगत जीवनमा शतप्रतिशत सन्तुष्ट र प्रफुल्ल छु । म भाग्यमा पनि आम्सिक विश्वाश राख्ने मान्छे हुँ यसर्थमा आफूलाई भाग्यमानी मान्छु । साहित्यिक जीवनको सवालमा भने सिर्जनाको कोणबाट अवस्य सन्तुष्ट छैन । मैले अझै धेरै धेरै समय, साधना लगाएर अझै सार्थक सिर्जनाहरू पस्किनु बाँकी नै छ । तर लागिपरेको क्षेत्रको हिसाबले भने साहित्य मेरो हार्दिक सन्तुष्टिको बिन्दु हो । यसर्थमा भने सन्तुष्ट छु अवस्य ।
# नेपाली साहित्यको हालको स्थितिलाई कसरी मूल्यांकन गर्नुहुन्छ? साहित्यक्षेत्र उचित दिशातर्फ गइरहेको जस्तो लाग्छ?
> नेपाली साहित्यक्षेत्रको हालको स्थिति सन्तोषप्रद र उकालो लाग्दो अवस्थामा रहेको मेरो स्वकीय ठहर छ । अग्रजहरूको मेहनत र युवाजमातको प्रगाढ लगाबको उपज हाम्रो साहित्यक्षेत्र विश्वसाहित्यको लम्काइतर्फ उन्मुख रहेको आभास गर्न सकिने अवस्था छ अहिले ।
# नेपाली साहित्य जगतमा देखिएका सकारात्मक प्रवृति र विकृतिहरू के हुन् जस्तो लाग्छ ?
> नेपाली साहित्य जगतमा देखिएका सकारात्मक प्रवृत्ति भनेको भोगाइका उच्छ्वास र कुण्ठा अनि प्राप्तिका प्रफुल्लताको फेहरिस्त मात्रको प्रस्तुतिबाट अलिक माथि उठेर जीवन र जगतको चित्रण, सकारात्मक भोलिको निम्ति सम्भावनाको मार्ग प्रसस्ती र समस्याको पहिचानसँगै समाधानका गोरेटो पहिल्याउने खालको प्रस्तुति गर्ने प्रवृतिलाई मान्न सकिन्छ । बिकृतिको सवालमा भने कतिपयको सोचाइ अनुसार जे लेखे पनि साहित्य बन्छ भन्ने भ्रमको बाहुल्यता साथै समग्र साहित्यको उत्थानको खातिर एकले अर्कोलाई सही सुझाब र आवश्यक हौसला दिनुको सट्टा खुट्टा तान्ने प्रवृति हुन् भन्ने लाग्छ ।
# नेपाली साहित्यलाई इन्टेरनेटको कत्तिको प्रभाव देख्नुहुन्छ?
> समय र प्रबिधिको छलाङ्गसँगै विश्व समाजले लिएको गति र विश्व साहित्यले फेरेको काँचुलीको असर भनुँ नेपाली साहित्यले पनि पछिल्लो समयमा आफूलाई निक्कै तिब्र गतिमा फेरबदल गर्ने कसरत गरिरहेको अनुभव अवस्य गर्न सकिन्छ । र त्यसो हुनुमा धेरैभन्दा धेरै हात र प्रभाव इन्टरनेटकै रहेको तथ्य नकार्ने ठाउँ नै छैन ।
# फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालहरूलाई कसरी उपयोग गरिरहनुभएको छ ?
> मनोरञ्जन र सम्पर्क सुत्रको नाममा विकसित भएका तमाम सामाजिक सञ्जाल मध्यका व्यस्त र चर्चित मानिने ट्विटर र फेसबुक सञ्जालहरूमध्ये पनि खास गरी फेसबुक चाहिँ, मेरो लागि भने खास गरी साहित्य साधना र सिर्जना आदानप्रदान गर्ने र संसारभरि छरिएर रहनुभएका साहित्यप्रेमी, साहित्यकर्मी तथा आफन्त-मित्रहरूसँगको सम्पर्कको माध्यम साबित भएका छन् । मुलत: साहित्यिक खुराकहरू खोजी-खोजी ग्रहण गर्ने काममै उपयोग गरिरहेको छु ।
# इन्टर्नेटतिर देखिने नेपाली ब्लगहरू हेर्ने हो भने अधिकांश लेखहरूमा ह्रस्व-दीर्घका गल्तीहरू भेटिन्छन् । यस्ता अशुद्धीहरू किन हुन्छन् जस्तो लाग्छ?
> नेपाली भाषा अलि जटिल छ, वा विद्यालयको नेपाली शिक्षण प्रभावकारी छैन? शुद्द नेपाली अक्षरका निमित्त प्रयोगमा आउने प्रीति लगायतका केही फन्टहरू केही जटिल मानिन्छन्। खासगरी अहिलेको सर्बसुलभ युनिकोड सेवाको तुलनामा । मलाई लाग्छ सयमा लगभग तीन चौथाइ लेखकहरूले अहिले इन्टर्नेटमा युनिकोडनै प्रयोग गर्ने गर्छन् । त्यसै गरी लगभग सबैजसो ब्लगहरूमा युनिकोडलाई नै प्रयोगमा आउने गरी अप्डेटको व्यबस्था गरिएको हुँदा पनि युनिकोड प्रयोग गर्नु ब्लग चलाउने र अप्डेट गर्नेहरूको एक खालको जरुरत नै पनि बनेको छ । समस्या के हो भने युनिकोडले कतिपय शब्द र खासगरी ह्रस्व दीर्घलाई शतप्रतिशत सही रुपमा दिदैन । यसो हुँदा कतिपय भाषिक र व्याकरणिक ज्ञान हुनेले पनि अशुद्धिलाई अंगाल्नुपरेको छ भने कतिपयलाई चाहिँ भाषिक-व्याकरणिक ज्ञानकै अभाव छ । तर नेपाली भाषा नै जटिल छ भन्ने मलाई लाग्दैन । तुलनात्मक रुपमा नेपालीभन्दा धेरै जटिल भाषा अन्य पनि छन् । अझै विद्यालयहरूमा नेपाली भाषाको शिक्षण प्रभावकारी छैन भन्नुमा त झनै कुनै तुक छैन । कसैले त्यसो भनेर पन्छिन या आफ्नो कमजोरी लुकाउन चाहला, त्यो अर्कै कुरा हो ।
# मझेरी कत्तिको हेर्ने गर्नुहुन्छ ? यसलाई कस्तो मूल्यांकन गर्नुभएको छ? र यसलाई कसरी अँझ प्रभावकारी बनाउन सकिन्छ?
> बिगत केही समयदेखि नै मझेरीलाई नियाल्दै आएको छु समयले साथ दिएसम्म । खासगरी कुनै वेबसाइट ब्लगमा म नित्तान्त साहित्यिक उद्देश्यले नै टहल्छु । यसर्थमा मैले साहित्यिक गतिबिधिमात्रै नियालेको हुन्छु भन्दा फरक पर्दैन । त्यसो हुँदा साहित्य इतरका बिषयबारे म केही भन्न सक्दिन । अहिलेका चर्चित साइटहरूमा पर्ने मझेरी डट कमले नेपाली भाषा-साहित्यको उत्थानमा आफ्नो हैसियत बलियो बनाएको मेरो अनुभव छ । यसलाई अझै प्रभावकारी बनाउनमा सूचना-संचार, समाचार, मनोरन्जन, विश्वगतिबिधि, श्वासथ, प्रबिधि लगायतका अन्य धेरै पक्षहरूलाई ध्यान दिनु आफ्नो ठाउमा आवश्यक छँदैछ । मेरो प्रमुख सरोकार साहित्यको कोणबाट हेर्दा भने अहिले नै पनि कम प्रभावकारी छैन । यसलाई अझै चार चाँद लगाउनलाई बिशुद्ध साहित्यिक खुराक, व्यक्ति-व्यक्तित्वहरूलाई निरन्तर र निष्पक्ष स्थान दिँदै जानुपर्ला जस्तो लाग्छ ।
# मझेरीका संसारभरि छरिनुभएका लेखक तथा पाठकहरूलाई के सन्देश दिन चाहनुहुन्छ?
> मझेरी आँफैमा गौरबपूर्ण नाम बनिसकेको छ । यस्तो माध्यमबाट केही भन्ने अवसर पाउँदा सन्देशभन्दा पनि अपिल गर्न चाहन्छु म । तमाम मझेरी-श्रद्धेय पाठकहरूको सदा साहित्यिक अभिरुचिको कामना गर्दै यसै मार्फत मलाई पढ्नुहुने सम्पूर्ण पाठकहरूसमक्ष सिर्जनाको बाटोमा मलाई सधैँ झक्झक्याइरहन र आवश्यक सुझाब सल्लाह दिइरहनुहुन सादर अनुरोध गर्न चाहन्छु ।
# अन्तमा, केही भन्न चाहनुहुन्छ भने बताइदिनुहोला ।
> अन्तमा, लेखनको फाँटमा तातेताते गर्दैगरेका मेरा शिशु पाइलालाई मझेरीले आफ्नो न्यानो छातीमा उभिने अवसर दिएकोमा हृदय रित्याएर धन्यवाद भन्न चाहन्छु । साथै मझेरीले साहित्यिक गतिबिधिका साथै अन्य सबै क्षेत्रमा सार्थक सफलता पाइनैरहोस्, भन्ने मेरो सुभेक्षा सदैव रहिरहने छ पनि भन्न चाहन्छु । धन्यवाद ।
दीप्स ज्यूलाई पनि मझेरीको तर्फबाट हार्दिक धन्यवाद !
 
[दृष्टान्त:- प्रयुक्त अन्तर्वार्ता सम्बन्धित वेबसाईटमा प्रकाशन भईसकेको छ। यस ब्लगमा  "दीप्स्  शाह" दिज्यूको अनुमतिमा उहाँ कै फेसबूकको नोटबाट साभार गरिएको हो। - मौलश्री लिम्बू ]