- See more at: http://kesramanch.blogspot.com/2013/07/Facebook-LikeBox-JQuery-Popup-with-Timer.html#sthash.SXaf43j1.dpuf

विषय सूची

@ साहित्याकाशका लागि प्रतिपादित " केस्रा" विधाको प्रवर्तक:- मौलश्री लिम्बू , प्रवक्तात्रय:- दिलिप 'सगर' राई,जीवन देवान 'गाउँले' र कृष मगर एवम् केस्रा लेखन मञ्च हार्दिक स्वागत गर्दछ।

Thursday 23 August 2012

लघुकथा- डा. रवीन्द्र समीर



- डा. रवीन्द्र समीर
लघुकथा : एउटा चेसबोर्ड


      सक्षिप्त, सरल, सुरुचिपूर्ण, सांकेतिक, व्यञ्जक, संकेन्द्रित, तीक्ष्ण, नाटकीय, प्रतीकात्मक, ध्वन्यात्मक, प्रभावपूर्ण, सम्प्रेषक, व्यंग्यचेतप्रधान, एवं अन्त्योत्कर्षयुक्त कथात्मक अभिव्यक्ति हो लघुकथा । सटिक शीर्षक, कथात्मक बहाव, सीमित पात्र, परिवेश, चरित्र एवं थोरै शब्दमा अप्रत्याशित ढंगले सोच्न, घोत्लिन, आक्रोश पैदा गर्न तथा पाठकलाई भुमरीका बीचमा छाड्ने खालको, समाप्ति कौशल आदर्श लघुकथाको गुण हो ।
      लघुकथा मायाप्रेम, प्राकृतिक सौन्दर्यको वर्णन तथा मनका भावनाको सौन्दर्यशास्त्र होइन, बरु लघुकथा विरोधको कला हो, प्रतिरोधको रचना कौशल हो, विरुद्धको

कथ्य हो, विद्रुपताको कौशल हो । संक्षिप्तमा सम्पूर्णता अर्थात् लघुकलेवरमा पूर्णस्थिति लघुकथाको सबैभन्दा छोटो परिभाषा हो ।
काव्य, आख्यान, निबन्ध र नाटक गरी साहित्यका चार खम्बामध्ये आख्यान विधाको फुटबल मैदान उपन्यास हो, भलिबल मैदान कथा हो भने चेसबोर्ड लघुकथा हो । जसरी उपन्यासको सारांश कथा होइन, महाकाव्यको सारांश कविता होइन, त्यसैगरी, कथाको सारांश वा छोटो रूप लघुकथा होइन ।
अन्य विधाजस्तै लघुकथा पनि सम्पूर्णता र विशिष्टतायुक्त स्वतन्त्र विधा हो । लघुकथा अस्त्रमा छुरा हो, बाहनमा मोटरसाइकल हो, शब्दमा चट्याङ हो, रूपमा संसार हेर्ने सानो आँखाको नानी हो, उपचारमा तीक्ष्ण सुई हो भने हतियारमा अणुबम हो । लघुकथाको संरचनामा प्रमुख पक्ष वैचारिक अन्तर्वस्तु हो, शाब्दिक सघनता हो, बौद्धिक नियोजन हो, मितव्ययी शब्द संयोजन हो तथा अनपेक्षित एवं विस्फोटक अन्त्योत्कर्ष हो ।
       कथानक, शिल्प, वैचारिक पक्ष, शैली, संवेदना, कलापक्ष र प्रस्तुतीकरणलाई सशक्त र तीक्ष्ण बनाउन लेखकीय रचनाकौशल अपेक्षित हुन्छ । घटनाक्रमको गुम्फन एवं तीव्रता अधिक हुने लघुकथा विधामा थौरै शब्द, थोरै स्थान र थोरै समयमा शिल्प र शैली, स्थापत्य र सन्देश, भाषा र भाव, कथ्य र कथन भंगिमाको सन्तुलित सामञ्जस्य मार्मिक रूपमा प्रस्तुत गर्नसक्नु लघुकथाकारको कौशलता हो । एउटा व्यक्ति र स्थितिलाई चिनाउन कथा र उपन्यासमा हजाराँै शब्द र सयौँ वाक्य प्रयोग गर्न सकिन्छ । लघुकथा विधामा त्यही व्यक्ति र स्थितिलाई थोरै शब्दले छर्लंग चिनाउनुपर्ने हुन्छ । धेरै शब्दमा धेरै वा थोरै भन्न सक्नुभन्दा थोरै शब्दमा धेरै भन्नसक्नु कष्टसाध्य विषय हो । शिखरमा पुग्ने सबैभन्दा छोटो बाटो नै सबैभन्दा कठिन हुन्छ ।

      सहज, बोधगम्य, व्यावहारिक तथा, तीक्ष्णतायुक्त भाषाको प्रयोगले लघुकथाको कथ्य संक्षिप्त, सूक्ष्मगुढ, केन्द्रगत, आन्तरिक, एकांकी, प्रखर, तीक्ष्ण, तीव्र र लघु आकारयुक्त हुन्छ । गाग्रीमा सागर तथा बिन्दुमा सिन्धु समेट्न सक्नु लघुकथाको असाधारण विशेषता हो । यही विशेषताका कारण
लघुकथा विधामा लघुकथाकारले आºनो भाषाभन्दा बढी पात्रको भाषा प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ, जसका कारण संवादात्मक शैली, घटनाक्रम शैली, गणितीय शैली, कथ्य उठानबाट व्यंग्य बैठान शैली

आदि अपनाउनुपर्ने हुन्छ । सामान्यतया पाँचसात मिनेटमै पढिसक्नुपर्ने, सरदर २५० शब्दको आयतनभित्र मार्मिक, सम्प्रेषणीय र लघु आकार हुनुपर्दछ लघुकथामा । छोटो शब्दमा धेरै भन्नुपर्ने लघुकथा विधाको विनिर्माण विधि अत्यन्तै जटिल र संवेदनशील हुन्छ । अन्त्योत्कर्षको तीक्ष्णता र अनपेक्षित विस्फोट नभएको सानो गल्प छोटो कथा हो भने कथ्यको सौन्दर्यशैली तथा सम्प्रेषण नभएको गल्प चुट्किला हो । यसर्थ, लघुकथा छोटो कथा र चुट्किलाभन्दा नितान्त फरक हुनुपर्दछ।झिलिक्क फोटो खिचेजस्तो, अचानक झापड हानेजस्तो, एकै दृष्टिमा प्रेममा परेजस्तो, एक्कासि हृदयाघात भएजस्तो आदि जीवन र जगत्का क्षणभंगुर मुठभेडको ºल्यास फिक्सन नै हो लघुकथा । प्राचीन समयमा नीतिकथा, बोधकथा तथा उपदेशात्मक शैलीबाट जन्मिएको लघुकथा विधा वर्तमानमा सोच, अनुभूति र क्रियाकलापमा देखिएको असन्तुलनलाई उजागर तथा प्रहार गर्ने मार्मिक शस्त्र विधाका रूपमा लोकप्रिय छ । लघुकथा विधा पूर्वीय साहित्यको सर्ट स्टोरीहोइन, न त अनाकर्षक सर्ट स्टोरी वाक्य हो । लघुकथालाई लघुकथा वा माइक्रो स्टोरी भन्नु यो विधाको भाषानुवाद, भावानुवाद तथा मर्मबोधका रूपमा न्यायोचित हुन्छ ।
      लघुकथाको ज्यामितीय आकारमाथि फराकिलो र तल चुच्चो भएको त्रिभुजजस्तो हुनुपर्दछ । लघुकथा स्थगन वा समाप्तिको विन्दु जति तीक्ष्ण हुन्छ, त्यो लघुकथा त्यति नै प्रभावकारी हुन्छ । बोधोपन हुनु, तीक्ष्ण विन्दुबाट पुन: विस्तारित हुनु, वर्णनात्मकशैली हुनु, रोचकीय ढंगबाट प्रवाह नहुनु, मूल रहस्यको सुरुमै उद्घाटन भएर कौतुहलको अभाव हुनु आदि लघुकथाका अवगुण हुन् । बनोट र बुनोटमा छरितोपन, संक्षिप्त आकारको सुगठित, मुक्तकीय झट्का, उत्सुकताको प्रबलता, तीव्र अनुभूतिको चित्रण, विम्बात्मकता, सघन द्वन्द्वात्मकता, श्रुतिमधुर शब्दको प्रयोग, आकस्मिक र आकर्षक आरम्भ, सुसंगठित घटनाक्रम र बोधगम्य विकास तथा अप्रत्यासित एवं चातुर्यपूर्ण समापन आदि सफल र सार्थक लघुकथाका आधारहरू हुन् । समाप्तिमा अर्थात् बैठानमा टुंगिएको लघुकथाभन्दा स्थगनमा टुंगिएको लघुकथा बढी प्रभावकारी हुन्छ ।