जुनी जुनी गुञ्जी रहून, नीलमका गीतहरू
कोमल मनको सुललीत अभिव्यक्ति गीत । सुनूँ सुनूँ
लाग्ने गीतले सुन्नेको मन सजिलै खिच्छ, तान्छ,अनि गुन्गुनाउनै पर्छ- ..पुरानो हुँदैन....माया जुनी
जुनी लाए पनि.....

यो गीत पढ्नुभन्दा पहिले सञ्जिवनीको स्वरमा सुनिएको हो । यति मीठो गीत लेख्ने को होला - सङ्गीत सुन्ने बित्तिकै अनुमान गरें- यो गीतमा सङ्गीत भर्ने मेरा मित्र सुरेश अधिकारी नै हुनु पर्छ । सुरेशजीलाई फोन गर्दा रिङ टोनमा यही गीत बज्यो- पुरानो हुँदैन माया जुनी जुनी लाए पनि... अब मलाई गीतकारका बारेमा सोध्न गाहृो परेन । पुरानै बानी हो मेरो- कुनै गीतले खिच्ने बित्तिकै गीतकार चिन्ने । यौटा मीठो इर्श्या मान्छु यस्ता सन्दर्भहरूलाई । जुनी जुनी भाग एकका सबै गीत सुनें, जुन सुन्यो सबै एक से एक । हो, गीत गेयात्मक विधा हो, नत्र गणेश रसिकदाइले भनेझैं - गाए गीत नगाए, कविता । गीत र कविताको साँध र सीमा त छ नै, यी सीमाहरूलाई भत्काउने सङ्गीत पनि छ नि । यसर्थमा अन्तर्मनका तरङ्ग की गीतकार नीलम आङ्वुहाङ राई साह्रै भाग्यमानी गीतकार हुन् ।
पानी मिठो मेरो हजुर् इलाम बजारको
माया मिठो मेरो हजुर त्यो मन भित्रको......
गीत यस्तै कञ्चन भावना आउँछन् र त अर्गानिक हुन्छ ।
कवि,
गीतकार भूपि शेरचनले पनि इलाम पुग्दा मन थाम्न कहाँ सकेर, लेखिदिए - अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा .... कतिपय
सर्जकहरू जन्मसिद्ध भएर आउँछन्, कतिलाई परिवेश र प्रकृतिले
पनि बनाउँछ । नीलमलाई जन्माउने माटो पनि धन्य छ । नेपाली गीति इतिहासको परम्परा त्यति लामो नभए पनि
छोटो भन्न पनि मिल्दैन अब । हाम्रा लोक जीवनका भोगाईहरू एक पछि अर्को गर्दै जसरी
सुनिदै आए, तिनले व्यापक र विस्तारित रूप लिँदै गए ।
नेपाली नारी गीतकारहरू कम भए पनि जति आएका छन्, उनीहरूले
आफ्नो पहिचान दिँदै आएका छन् । थोरै गीतमै आफ्नो मनग्गे पहिचान दिन सफल गीतकार
हुन् -नीलम आङ्बुहाङ राई ।
![]() |
गीतकार नीलम आङ्बुहाङ राई |
नीलमको गीति धर्मिता घरदेश र परदेशको छ । यता बस्दा
र उता बस्दाका मनहरू अर्न्तर्मनका तरङ्मा उनिएका छन् । कतै स्नेहका माला बनेर कतै
पीडाका भाला बनेर । लेख्नेहरूलाई थोरैले हँसाउँछ र रूवाउँछ पनि । र त आउँछन् -
अधरका मुस्कान र नयनका बलिन्द्र धारा । गीतको उद्गम मन र मुटु नै हुने भएकाले
यसैको वरिपरि घुमी रहेको हुन्छ गीत पनि । मन र मुटुलाई भुलेर लेखिएका गीतहरू
नाराभन्दा बढी क्यै हैनन् भन्ने लाग्छ मलाई ।
हो, यो संसार विश्वासमै अडेको छ र मायाको आधार पनि
यही हो । यद्यपि यही मायामा किन हुन्छ सधैँ घात र प्रतिघात - नीलमको आम प्रश्न हो
यो -जुनेली यो रात प्रिय, केवल तिम्रै याद
***
पहिले भने
हात काटी रगतले पत्र लेख्यौ
त्यही
हातमा आज पराईकै नाम देख्यौ ।
***
मन र समयलाई बसमा राख्न मुस्किल हुन्छ । समय र
मनलाई सन्तुलनमा राख्न सक्नु भन्या मोक्ष प्राप्त गर्नु हो । थोरै मात्र अमर
प्रेमी होलान् जस्ले मायालुको मन नदुखाएको होस् । समय त यसै पनि गतिमान छ, समयको समीचिनहुँदै जिन्दगी हाँक्नु नै र्सार्थक जीवन हो । नीलमका निर्दोष
मनहरू यसै भनी रहेछन् । माया केवल माया मात्रै होईन, मायामा
र्समर्पण हुन्छ, आस्था अनि विश्वास हुन्छ । कस्तो थियो स्पर्श तिम्रो मेरो मुटुको वरिपरि
जति टाढा गए पनि झल्को आउँछ आँखाभरी ।।
मुटु र आँखाका भाकाहरू यसरी गाइन्छन्- नीलमका गीतमा, यसरी नै भेटिन्छन् प्रीतमा । बिरानीमा भएको अफन्तलाई सधैं सिरानीमै भेटी रहनु भन्दा ठूलो माया के हुन सक्ला - दुनियामा मान्छेलाई हार्दिक र सहिष्णु बनाउने केवल माया , प्रेम र सद्भाव नै हो ।
नीलम प्रकृतिले बनाएकी गीतकार हुन् । देशको पर्ूर्वी पहाड श्रीअन्तुमा उदाएको घाम हो पश्चिम दार्चुलामा अस्ताउने । पारिलो घाम उदाउने शिखर अन्तु डांडामा बादलुले ढाक्दा गीतकारको मन उद्वेलित हुन्छ यसरी -
किन ढाक्यो बादलुले आज अन्तु डाँडा
किन भाग्छ आफ्नै छायाँ आफैदेखि टाढा
गीत मन र मुटुको बाटो हुँदै देश/परिवेशसम्म फैलिने गर्छ । गीतका भावभूमि अनेकौं हुन सक्छन् । नीलम सैनिक परिवारकी सदस्य पनि हुन । युद्ध र बहादुरीका कथा उनले पनि सुनेकी छन्, पढेकी छन् । बहादुरीको तक्मा हेर्दै लेख्छिन् -
इतिहास अमर राख्नुछ तिमीले
विचलित यहाँ कहिल्यै नहुनु ।
गीत गेयात्मक विधा हो, गति, यति मिलेका गीत संगीत विनाका हरफै गुन्गुनाउदा पनि पढ्नेले लय हाल्न सक्छ । गीतकारले ख्याल गर्नु पर्ने यो पनि हो । नीलमका गीतका विषय जटील हैन, सरल छन् । सरल विषयले च्वास्स छुन सक्छन् जो कोहीलाई । अन्तर्मनका तरङ्ग की गीतकार नीलमको गीति यात्रा सुरम्य अनि सुमधुर देख्छु म ।
नीलमझै टल्की रहन्, विहानीका शीतहरू
जुनी जुनी गुञ्जी रहून, नीलमका गीतहरू !
![]() |
लेखक रमेश पौडेल |
aawaran@gmail.com